२९ असार, काठमाण्डौ ।
सन् १९८६ को विश्वकपको उपाधि जितेपछि अर्जेन्टिनाका सर्वकालीन महान फुटबलर डिएगो आर्मान्डो म्याराडोनाले भनेका थिए –इंग्ल्याण्ड जस्तो चोरको देशलाई सय पटक ढाँटे पनि ईश्वरले माफी दिने छन् । म्याराडोनाको यो आक्रोशमा जोडिएका पक्षहरु थिए – ह्याण्ड अफ गड र फकल्याण्ड युद्धको पीडा ।
इंग्ल्याण्डसँगको यही खेलबाट विश्वमा चम्किएका म्याराडोनाको यो भनाइ पछि उनी फुटबलसँगै विश्वको कुटनीतिमा पनि कुशल खेलाडी बनेर देखिए । जसको कथा सन् १९९४ को विश्वकपमा चे गुएभराको अवतारकोरुपमा पनि उभिन पुग्यो । १९८४ को मक्सिको विश्वकपको क्वार्टरफाइनलमा इंग्ल्याण्डविरुद्धको खेलमा म्याराडोनाले हातको सहयोगमा गोल गरे ।
जुन गोललाई इंग्ल्याण्डले कहिले स्वीकार गरेन । तर त्यही गोललाई ईश्वरको हात अर्थात ह्याण्ड अफ गड मात्र भनिएन, फिफाले शताब्दीको गोलको संज्ञा दिएपछि इंग्ल्याण्ड झनै मर्माहत बन्यो । यही विवादास्पद गोलले इंग्ल्याण्डलाई हराएर अघि बढेको अर्जेन्टिनाले पश्चिम जर्मनीलाई हराएर विश्वकपको उपाधि नै जित्यो ।
उपाधि जितेपछि ह्याण्ड अफ गडको बारेका सोधिएको प्रश्नले म्याराडोनाको जवाफ थियो – इंग्ल्याण्ड जस्तो चोरको देशलाई सय पटक ढाँटे पनि ईश्वरले माफी दिनेछन् । उनले घुमाउँरो तरिकाले त्यो गोललाई आफुले हातले नै गरेको गोल हो भन्ने स्वीकार गरेका थिए ।
सन् १९८२ मा भएको इंग्ल्याण्डसँगको युद्धमा अर्जेन्टिनाले फकल्याण्ड टापु गुमाएपछि त्यो युद्धको असर फुटबलको मैदानमा पनि देखिदा मेक्सिको विश्वकप अर्जेन्टिनाका लागि बदला लिने गतिलो मैदान बनेको थियो । यहीबाट रोपिएको तुष इंग्ल्याण्ड र अर्जेन्टिनाबीच विश्वकपमा बारम्बार देखिदै आएको छ ।
विश्व फुटबलका यही दुई चीर प्रतिद्धन्द्धी इंग्ल्याण्ड र अर्जेन्टिना पुनः आमने सामने हुने भएका छन् । मैदान बाहिर पनि यी दुई मुलुकबीचको सम्बध लामो समयदेखि तनावपूर्ण रहदै आउँदा त्यस्को छायाँ यी दुईबीचको फुटबल भिडन्तमा पनि पर्दै आएको छ ।
यस अर्थमा आगामी बुधबार हुने यी दुईबीचको भिडन्तले उही पुराना इतिहास र कथाहरु दोहोर्याउने छैन, विश्व फुटबल जगत नै रोमाञ्चित बन्ने अनुमान गर्न थालिएको छ । मैदान भित्रको लडाईमा यिनीहरुसँग मात्र हतियार हुँदैन तर युद्धमा अपनाइने सबै रणनीतिहरु प्रयोग हुन्छन ।
सन् २०२६ को विश्वकपको सेमिफाइनलमा इङ्गल्याण्डको सामना साविक विजेता अर्जेन्टिनासँग हुँदा यिनै इतिहासका पानाहरु पल्टिन थालेका छन् । यिनै कारणले यी दुई चीर प्रतिद्वन्द्वीबीचको बुधबारको भिडन्त निकै प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ ।
’थ्री लायन्स’ ९इङ्गल्याण्ड० अतिरिक्त समयमा नर्वेलाई २–१ ले पराजित गर्दै विश्वकप सेमिफाइनलमा स्थान बनाउँदा अर्जेन्टिनाले पनि लगातार दोस्रो पटक विश्व उपाधि जित्ने आफ्नो यात्रालाई निरन्तरता दिने क्रममा १० खेलाडीमा सीमित स्विट्जरल्याण्डलाई ३–१ ले हराउन अतिरिक्त ३० मिनेटको समय लिनुपरेको थियो ।
विश्वकपमा इङ्ल्यान्ड र अर्जेन्टिनाबीच यसअघि पाँचपटक प्रतिस्पर्धा भइसकेको छस जसमा सन् १९६२, १९६६ र २००२ मा जित हासिल गर्दै इङ्ल्यान्डले ’हेड–टु–हेड’ ९आपसी भिडन्त० को नतिजामा अग्रता कायम राखेको छ ।
तर यी दुई प्रतिद्धन्द्धीबीच सन् १९८६ को मेक्सिको विश्वकपमा भएको भिडन्त भने इतिहास नै अविष्मरणीय खेलको रुपमा संरक्षित हुन पुगेको छ ।
इंग्ल्याण्डमाथि खेल जित्ने क्रममा अर्जेन्टिनाले ’एस्ताडियो एज्टेका’ रंगशालमामा विवादास्पद गोलको सहयोग लिएको थियो । विगत ४० वर्षदेखि, इङ्गल्याण्डले डिएगो म्याराडोनाको ह्यान्डबल गोलका घटनाहरूसँग अझै विवाद गर्दै आएको छ । र, त्यो घटनालाई इंग्ल्याण्ड कहिल्यै पनि विर्सन चाहदैन ।
दोस्रो हाफको सुरुमा खेल गोलरहित बराबरमा रहेको अवस्थामा म्याराडोना खुकुलो बलको सामना गर्न उफ्रिए । त्यसपछि आफ्नो बायाँ हात उठाएर बललाई इङ्गल्याण्डका गोलकिपर पिटर शिल्टनलाई छेउबाट प्रहार गरे । जुन बल खाली जालीमा चुम्न पुग्यो ।
रेफ्रीले त्यो गैरकानुनी कार्य देखेनन् र गोलको मान्यता दिए । अर्जेन्टिनाले उक्त खेल २–१ ले जित्यो र अन्ततः फाइनलमा पश्चिम जर्मनीलाई पराजित गर्दै विश्वकपको उपाधि उचाल्यो। म्याराडोना खेलमा विवादास्पद वा अनैतिक चालहरू अपनाउन जति माहिर थिए, त्यति नै रोमाञ्चक र विस्मयकारी क्षण सिर्जना गर्न पनि उनी उत्तिकै सक्षम थिए ।
’ह्यान्ड अफ गड’ गोलपछि म्याराडोनाले विश्वकप इतिहासकै उत्कृष्ट व्यक्तिगत प्रयासमध्येको एक गोल गरेर आफ्नो क्षमता प्रमाणित गरे। १–० ले पछि परेको र म्याराडोनाको पहिलो गोललाई मान्यता दिइएकोमा अझै स्तब्ध रहेको अवस्थामा, इङ्गल्याण्डको रक्षापंक्ति म्याराडोनाको खेल देखेर अवाक भयो ।
उनले आफै बल अघि बढाउँदै ११ सेकेन्डमा ११ पटक बल छोएर गोल गरे, जसलाई पछि फिफाले ’शताब्दीकै उत्कृष्ट गोल’ अर्थात गोल अफ द सेन्च्युरीको संज्ञा दियो । जसबाट इंग्ल्याण्ड झनै बढी मर्माहत बनेको थियो । छलछामको स्पष्ट घटनालगत्तै देखिएको त्यो जादुमयी क्षणसहितको सन् १९८६ मा इङ्गल्याण्डविरुद्धको अर्जेन्टिनाको जितले म्याराडोनाको ’विचित्र प्रतिभा’लाई उजागर ग¥यो ।
खेलको इतिहासमै सर्वकालीन महान् खेलाडीहरूमध्ये एकका रूपमा उनको विरासतलाई स्थापित समेत गर्यो । तर म्याराडोनाको यही आभा अमेरिकामा गएर टुंगियो । अर्जेन्टिनामा जन्मेका माक्र्सवादी क्रान्तिकारी, चे गुएवारालाई आदर्श मान्ने म्याराडोनाले आफ्नो पाखुरामा पनि उनैका ट्याटु खोपेर सन् १९९४ को अमेरिकी विश्वकपमा उत्रिएका थिए ।
जुन अमेरिकालाई पाच्य हुने कुरै थिएन । त्यसमाथि उनी अमेरिका पुग्नु अघि अमेरिकाको अर्का महान सत्रु क्युबाली नेता फिडेल क्यास्ट्रोलाई भेट्न पुगेका थिए । यी सबै गतिविधि अमेरिकी नजरबाट टाढा थिएन । जसको कारण अमेरिकी विश्वकपमा पनि तहल्का मच्चाउँदै अघि बढेका माराडोना अन्तत प्रतिबन्धित लागू औषध इफेड्रिन प्रयोग गरेको पाइयो ।
जसको कारण उसलाई विश्वकपबाट निस्कासित गरियो । संसारभर म्याराडोनाका समर्थकहरुले यसमा अमेरिकी षडयन्त्रको गन्ध देखे भने विश्वका धेरै मुलुकमा कम्युनिष्ट युवाहरुले अमेरिकाविरुद्ध प्रदर्शन समेत गरे । यस पछि यी दुई टोलीबीच भएका अन्य अन्य भेट पनि उत्तिकै रोमाञ्चक छन् ।
आफ्नै घरेलु मैदानमा भएको युरोपेली च्याम्पियनसिपको सेमिफाइनलसम्म पुगेको उच्च मनोबलका साथ, इङ्ल्यान्ड सन् १९९८ को विश्वकपमा ठूलो सफलता हात पार्ने कुरामा ढुक्क थियो । यद्यपि, सन् १९९८ मा पनि अर्जेन्टिनासँगको इंग्ल्याण्डको भेट विर्सन लायक रहयो ।
पोस्टर ब्वाई डेभिड बेकह्यामले मैदानमा अर्जेन्टिनाका मिडफिल्डर डिएगो सिमियोनलाई घृणित रूपमा लात हानेको कारण रेडकार्ड दिएर मैदानबाट निकालियो। थ्री लायन्सले खेललाई पेनाल्टीमा पु¥याउन निकै प्रयास गर्यो तर अर्जेन्टिनाले फेरि एक पटक आफ्ना कटु प्रतिद्वन्द्वीहरूलाई हृदयविदारक शैलीमा हराउँदै विश्वकपबाट अलग गरायो ।
दोस्रो हाफको सुरुमै बेकह्याम मैदानबाट बाहिरिनुअघि इङ्ल्यान्ड र अर्जेन्टिनाबीच खासै अन्तर देखिएको थिएन र मध्यान्तरसम्म खेल २–२ को बराबरीमा थियो। इंग्ल्याण्डका त्यसबेलाका चर्चित किशोर खेलाडी माइकल ओवेनको प्रेरणामा, इङ्गल्याण्डले १ गोलले पछि परेको अवस्था उल्ट्याउँदै १७ मिनेट भित्र अर्जेन्टिनामाथि २–१ को अग्रता लिएको थियो ।
त्यो खेलमा ओवेनको गतिले अर्जेन्टिनाको रक्षापंक्तिलाई कमजोर बनाएको थियो भने एलन शियररले बराबरी गरेको पेनाल्टी गोलपछि लिभरपुलका फरवार्ड ओवेनले उत्कृष्ट एकल गोल गर्दै इङ्गल्याण्डलाई अग्रता दिलाएका थिए । तर हाफ टाइमको स्ट्रोकमा जेभियर जेनेट्टीले प्रहार गरे खेल बराबरीमा उभ्याए ।
यस अघि अर्जेन्टिनाका लागि गेब्रिएल बाटिस्टुटाले १ गोल गरेका थिए । बराबरी पछि पेनाल्टीमा पुगेको खेल अर्जेन्टिनाले ४–३ ले आफ्नो पक्षमा पार्दै इंग्ल्याण्डलाई घर फर्काएको थियो । इंग्ल्याण्डको लागि यो खेलको उपलब्धि भने ओवेन विश्वसामु चिनिनु रहयो । यही खेलको तीन वर्षपछि ओवेनले फुटबल खेलाडीलाई दिइने सबैभन्दा प्रतिष्ठित ’बालोन डी’ओर’ पनि जिते ।
सन् १९९८ मा बेकह्यामले पाएको ’रेड कार्ड’ को परिणाम निकै नाटकीय र कतिपय अवस्थामा त अपमानजनक समेत थियो । म्यानचेस्टर युनाइटेडका यी मिडफिल्डरविरुद्ध त्यतिखेर इङ्ल्यान्डका समर्थक र सञ्चारमाध्यमहरू खनिएका थिए। इङ्ल्यान्ड फर्कंदा बेकह्यामले चर्को आलोचना र दुव्र्यवहारको सामना गर्नुपरेको थियो, तर सन् २००२ को विश्वकप आउँदासम्म उनी पुनः सबैको प्रिय बनिसकेका थिए ।
सन् २००१ मा स्भेन–गोरान एरिक्सनद्वारा कप्तानको जिम्मेवारी पाएका बेकह्यामले नै खेलको अन्तिम क्षणमा प्रहार गरेको ’फ्री–किक’ मार्फत जापान र दक्षिण कोरियामा आयोजित सन् २००२ को विश्वकपमा इङ्ल्यान्डको स्थान पक्का गरेका थिए ।
इङ्ल्यान्डले सबैभन्दा बढी भरोसा गर्ने खेलाडी बेकह्याम नै थिएस त्यसैले पेनाल्टी प्रहार गरेर गोल गर्ने र त्यसका माध्यमबाट आफ्नो व्यक्तिगत प्रतिष्ठा पुनस्र्थापना गर्नुका साथै सन् १९६६ यता अर्जेन्टिनामाथि पहिलो जित सुनिश्चित गर्ने जिम्मेवारी उनैले सम्हाल्नुमा कुनै शंका थिएन ।
सन् २००२ को फिफा विश्वकपको समूह चरणको खेलमा इङ्ल्यान्डले अर्जेन्टिनालाई १–० ले पराजित गरेर १९९८ को बदला लिएर छाड्यो । यो बदला लिने नायक बने उनै बेकह्याम । जापानको सापोरोमा प्राप्त यस ऐतिहासिक जितमा खेलको एकमात्र गोल पहिलो हाफको अन्त्यतिर सम्भव भएको थियोस ’बक्स’ भित्र माइकल ओवेनमाथि फाउल भएपछि कप्तान डेभिड बेकह्यामले पेनाल्टी किक मार्फत उक्त गोल गरेका थिए ।
यद्धपि सन् १९९८ को पीडाले अहिले पनि बेकह्यामलाई समय समयमा भावुक बनाउँदै आएको छ । अर्जेन्टिनासँगको खेलमा चुक्ने इंंग्ल्याण्डको कुनै पनि खेलाडीले कुन हदसम्मको हविगत भोग्नु पर्छ भन्ने उदाहरण हुन् बेकह्याम । यही कारण पनि अजेन्टिनासँगको खेलमा हरेक इंग्लिस खेलाडी अति सचेत बनेर खेल्दै आएका छन् ।
यिनीहरू नै बुधबार एटलान्टामा फेरि भिडदैछन् । विश्वकपको फाइनलमा स्थान हासिल गर्न दुबैको प्रयास नजिकिदैछ । तर फकल्याण्ड युद्धदेखि हराएको यी दुई मुलुकबीचको सौहाद्र्धता अझै फर्कन सकेको छैन । जसको कारण दुई देशका फुटबल समर्थकहरूबीच हराएको प्रेम पुनः झ्यांगिन सकेको छैन ।
यी दुईबीच हुने अति कडा प्रतिद्वन्द्विताले वर्षौंदेखि केही शानदार गोल र उच्च नाटक उत्पादन भने गर्दै आएको छ । जुन बुधबार एटलान्टामा पुनः देख्न पाइने अनुमान सबैले गरेका छन् ।




