३२ असार , काठमाण्डौ ।
फिफा विश्वकप २०२६ को १०४औँ तथा अन्तिम खेल अर्थात उपाधि भिडन्तमा आगामी आइतबार युरोपेली च्याम्पियन स्पेन र साविक विश्व विजेता अर्जेन्टिनाबीच ऐतिहासिक भिडन्त हुँदैछ । न्युयोर्क न्युजर्सी स्टेडियममा हुने यो फाइनल खेल नेपाली समय अनुसार सोमबार बिहान १२ः४५ बजे सुरु हुनेछ ।
लामो समयपछि विश्वकपको फाइनलमा फर्किएको स्पेन र लगातार दोस्रो पटक र समग्रमा चौथो पटक उपाधि रक्षा गर्ने दाउमा रहेको अर्जेन्टिनाबीचको यो खेल निकै रोमाञ्चक हुने अनुमान गरिएको छ । यसैबीच स्पेनका युवा स्टार लामिन यामाल र अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी अब आमनेसामने हुने भएपछि उनीहरूको १९ वर्ष पुरानो एउटा तस्वीर फेरि चर्चामा आएको छ ।
सन् २००७ मा बार्सिलोना फाउन्डेसन र स्पेनी पत्रिका डियारियो स्पोर्टले आयोजना गरेको च्यारिटी फोटोशुटका क्रममा त्यति बेलाका २० वर्षीय मेसीले पाँच महिनाका शिशु यामाललाई टबमा नुहाइदिएको तस्वीर खिचिएको थियो । त्यस कार्यक्रमबाट उठेको रकम युनिसेफसहित विभिन्न परोपकारी संस्थालाई सहयोग गरिएको थियो ।
तस्वीर खिच्ने फोटोग्राफर जोआन मोनफोर्टका अनुसार फोटोशुट सजिलो थिएन । त्यति बेला मेस्सी निकै लजालु स्वभावका थिए भने यामाल पनि अपरिचित व्यक्तिसँग सहज थिएनन् । यामालकी आमा शिला एबानाको सहयोगपछि मात्रै स्वाभाविक र सम्झन लायक तस्वीर खिच्न सफल भएको थियो ।
त्यो तस्वीर वर्षौँसम्म खासै चर्चामा आएन । तर सन् २०२४ मा युरोकपका क्रममा यामालका बुबा मुनिर नस्राउईले सामाजिक सञ्जालमा सार्वजनिक गरेपछि यो विश्वभर भाइरल बनेको थियो । अहिले फेरि मेसी र यामालले विश्वकप फाइनल खेल्ने भएपछि तस्वीर चर्चामा आएको हो ।
फोटोग्राफर मोनफोर्टले त्यति बेला पाँच महिनाको शिशु भविष्यमा स्पेनको सबैभन्दा ठूलो फुटबल स्टार बन्छ भन्ने कल्पना कसैले पनि नगरेको बताए । उनले अहिले दुवै जना विश्वकपको फाइनलमा आमनेसामने हुनुलाई “लट्री जितेजस्तै दुर्लभ संयोग’’ को संज्ञा दिएका छन् ।

यो भाइरल फोटोसुटका बेला मेस्सी स्पेनिस क्लब बार्सिलोनाका स्टार स्ट्राइकर थिए । त्यतिबेला युनिसेफको परोपकारी कार्यक्रमअन्तर्गत मेसी र स्पेनको माटारो गाउँका यी शिशु जो अहिलेका फुटबल स्टार बनिसकेका छन्, उनलाई बार्सिलोनाको ‘क्याम्प नोउ’ रङ्गशालाको ड्रेसिङ रुममा भेट गराइयो, जहाँ एउटा ५ महिनाको बच्चा आधा पानी भएको प्लास्टिकको बाटामा बसाइएको थियो ।
त्यो ५ महिनाको बच्चालाई मेसीले नुहाइदिए अनि काखमा राखेर खेलाएका थिए । आज त्यही बच्चा तिनै मेसीका विरुद्धमा विश्वकप फाइनलमा स्पेनको टोलीबाट मैदानमा उत्रिँदै छन । ५ महिनाको हुँदा मेसीले बाटामा राखेर नुहाइदिएका ती बच्चा संयोगले उनै मेसीलाई फाइनलमा चुनौती दिँदै छन ।
१९ वर्षअघि लिइएको सो तस्बिर आज संसारभर भाइरल बनेको छ । धेरै फुटबलप्रेमीलाई यो फोटोले भावुक पनि बनाइदिएको छ । १९ वर्षअघि मेसीले नुहाइदिएका ती बच्चा आज विश्वकपको फाइनलमा उनकै प्रतिस्पर्धी बनेर उभिएका हुन् । यो बहुप्रतिक्षित फाइनलमा एकातिर जारी विश्वकपमै ८ गोल गरेर सर्वकालिक कीर्तिमान बनाएका मेसी छन् भने अर्कोतिर पूरै प्रतियोगितामा जम्मा १ गोल खाएको स्पेनका युवा यामाल छन् ।
फुटबल इतिहासकै यो सबैभन्दा दुर्लभ संयोगले फाइनललाई झनै रोमाञ्चक बनाएको छ । मेसी र युवा स्टार लामिनबिचको रोचक संयोगले सबैलाई चकित पारेको छ । यामालका बुबा मुनिर नासराउई जो ३४ वर्षका छन् । जबकी मेसी ३९ वर्षका हुन् । अर्थात यामालका पिता नै मेस्सीभन्दा ५ वर्षले कान्छा छन् । यस्तै मेस्सी र यामालबिच धेरै समानता पनि छन् ।
दुवै बायाँ खुट्टाले खेल्ने राइट विङ्गर हुन् । उनीहरु दुवै ला मासिया एकेडेमीबाटै उदाएका हुन् । दुवैले १९ नम्बर जर्सीमा रियल म्याड्रिडविरुद्ध पहिलो व्यावसायिक गोल गरेका थिए । यामाल अहिले बार्सिलोनामा मेसीले लामो समय लगाएको प्रतिष्ठित नम्बर १० जर्सी लगाएर खेलिरहेका छन् ।
विश्व फुटबलमा मेसीका सम्भावित उत्तराधिकारीका रूपमा हेरिएका उनै यामालसंग अब मेसीले देशका लागि चौथो पटक उपाधि रक्षा गर्नु पर्ने भएको हो । यता लुइस डे ला फुएन्टेको नेतृत्वमा रहेको स्पेन टोलीले सेमिफाइनलमा बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई पूर्ण रूपमा दबाबमा राख्दै फाइनलको यात्रा तय गरेको हो ।
समूह चरणमा केप भर्डसँग गोलरहित बराबरीमा रोकिए पनि साउदी अरब र उरुग्वेलाई हराउँदै स्पेन नकआउट चरणमा पुगेको थियो । राउन्ड अफ ३२ मा अस्ट्रियालाई ३–० ले पन्छाएको स्पेनले त्यसपछिका खेलहरूमा भने कडा संघर्ष गर्नुप¥यो। पोर्चुगल र बेल्जियमविरुद्धको खेलमा मिकेल मेरिनोले अन्तिम समयमा गरेका निर्णायक गोलहरूको मद्दतले स्पेन अगाडि बढेको थियो ।
सन् २०१० मा पहिलो पटक विश्वकप जितेयता स्पेन पहिलो पटक फाइनलमा पुग्न सफल भएको हो । अर्कातिर, लियोनेल स्कालोनीको अर्जेन्टिनाले फाइनलसम्म आइपुग्न निकै उतारचढावपूर्ण र रोमाञ्चक यात्रा तय गरेको छ । कप्तान लियोनेल मेस्सी यस प्रतियोगितामा उत्कृष्ट फर्ममा छन् ।
उनले यस विश्वकपमा मात्रै ८ गोल गरिसकेका छन् भने उनको समग्र विश्वकप गोल संख्या २१ पुगेको छ। उनी गोल्डेन बुटको पहिलो दाबेदार हुन् । समूह चरणमा अल्जेरिया, अस्ट्रिया र जोर्डनमाथि सहज जित निकालेको अर्जेन्टिनाले नकआउट चरणमा भने निकै सास्ती खेप्नुप¥यो ।
केप भर्ड र इजिप्टविरुद्ध ३–२ को रोमाञ्चक जित निकाल्ने क्रममा इजिप्टविरुद्ध ७९औँ मिनेटसम्म २–० ले पछि परेको अवस्थालाई उल्टाउँदै अर्जेन्टिनाले ऐतिहासिक पुनरागमन गरेको थियो । क्वार्टरफाइनलमा स्विट्जरल्याण्डलाई अतिरिक्त समयमा पराजित गरेको अर्जेन्टिनाले सेमिफाइनलमा इंग्ल्याण्डको सुरुवाती अग्रतालाई उल्ट्याउँदै एन्जो फर्नान्डेज र लाउटारो मार्टिनेजको गोलको मद्दतले फाइनलमा स्थान सुरक्षित गरेको हो ।
जुन गोलका लागि मेस्सीले नै असिस्ट गरेका थिए । विश्वकपको इतिहासमा यी दुई टोलीबीच यसअघि सन् १९६६ मा मात्र एक पटक भेट भएको थियो, जहाँ अर्जेन्टिना २–१ ले विजयी भएको थियो । त्यसयता यी दुई टोलीले १३ वटा मैत्रीपूर्ण खेल खेलेका छन्, जसमा स्पेनले ६ र अर्जेन्टिनाले ५ खेल जितेका छन् भने २ खेल बराबरीमा सकिएको छ ।
सन् २०१८ मा भएको पछिल्लो मैत्रीपूर्ण खेलमा स्पेनले अर्जेन्टिनालाई ६–१ को भारी अन्तरले पराजित गरेको थियो । यस्तै आइतबार मध्यराति फाइनल खेल मात्र नभएर यस पटक फिफाले विश्वकप इतिहासमै पहिलो पटक मनोरञ्जनको कार्यक्रम पनि राखेको छ ।
खेल अगाडि विश्व प्रसिद्ध कलाकारहरू पोस्ट मलोन, रोबी विलियम्स, र आईशोस्पीडले आफ्नो प्रस्तुति दिनेछन् । खेल सुरु हुनुअघि प्रख्यात गायिका जेनिफर हडसनले संयुक्त राज्य अमेरिकाको राष्ट्रिय गीत गाउनेछिन् । अमेरिकी सुपरबाउलको शैलीमा पहिलो पटक विश्वकपमा हाफ–टाइम शो आयोजना गरिँदैछ।
जसमा जस्टिन बिबर, मडोना, शकिरा, र दक्षिण कोरियाली ब्यान्ड बीटीएसले संयुक्त रूपमा स्टेज तताउनेछन् । यस फाइनल खेलका लागि फिफाले विशेष रूपमा डिजाइन गरिएको ’ट्रिओन्डा फाइनल’ नामक बल प्रयोग गर्नेछ। सुनौलो, कालो र सेतो रङको यो बलले विश्वकप आयोजना गरिएका १६ वटा आयोजक सहरहरूको यात्रालाई प्रतिनिधित्व गर्दछ ।
खेलको समाप्तिपछि, विश्वकपको ट्रफी विजेता टोलीका कप्तानलाई संयुक्त रूपमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र फिफा अध्यक्ष जियानी इन्फान्टिनो ले हस्तान्तरण गर्ने कार्यक्रम तय गरिएको छ । अब त्यो ट्रफी अर्जेन्टिना जाने छ कि स्पेन भन्ने हेर्न विश्व फुटबल जगत प्रतिक्षारत छ ।




