३२ असार , काठमाण्डौ ।
सबै दुर्घटना पीडादायी हुन्छन्, तर केही दुर्घटनाले समय बिते पनि आफ्नो पीडा मेटाउन सक्दैनन् । सन् २०२५ को जुन १२ मा भारतको अहमदाबादबाट लन्डनका लागि उडेको एयर इन्डियाको बोइङ–७८७ ड्रीमलाइनर उडान भरेको केही सेकेन्डमै दुर्घटनाग्रस्त हुँदा २६० जनाको जीवन एकैक्षणमा समाप्त भयो ।
कसैले छोरा गुमाए, कसैले जीवनसाथी । कसैले आफ्ना अभिभावक गुमाए भने कसैले भविष्यका सबै सपना । अहमदाबादमा भएको एयर इन्डिया विमान दुर्घटनाले २६० परिवारलाई कहिल्यै नमेटिने पीडा दियो । सयौं परिवारका सपना चकनाचुर भए, आफ्ना प्रियजन गुमाएकाहरूको पीडा आज पनि उस्तै छ ।
यो भयावह दुर्घटनामा एक यात्रु भने जिवितै रहेका थिए । जसलाई चमत्कारका रुपमा लिने गरिन्छ । दुर्घटनाको एक वर्ष बितिसक्दा पनि एउटा प्रश्न अझै अनुत्तरित छ—आखिर त्यो विमान कसरी दुर्घटनामा पर्याे ? प्रारम्भिक अनुसन्धान प्रतिवेदनले केही संकेतहरू दिएको थियो, तर त्यसले नयाँ प्रश्न र विवाद पनि जन्मायो ।
अहमदाबादमा एक वर्षअघि अर्थात १२ जुन २०२५ मा अहमदाबादबाट बेलायतको लन्डनका लागि उडेको एयर इन्डियाको बोइङ–७८७ ड्रीमलाइनर विमान उडान भरेको केही सेकेन्डमै दुर्घटनाग्रस्त भएको थियो । विमान विमानस्थलबाट करिब ६ किलोमिटर टाढा रहेको एक मेडिकल कलेजका चिकित्सकहरूको आवासीय भवनमा खसेपछि भीषण विस्फोट भएको थियो ।
दुर्घटनामा विमानमा रहेका २४१ यात्रु तथा चालक दलका सदस्य र जमिनमा रहेका १९ जना गरी कुल २६० जनाको ज्यान गएको थियो । विमानमा सवारमध्ये विश्वासकुमार रमेश मात्र जीवित उद्धार भएका थिए । यो दुर्घटनालाई पछिल्ला वर्षहरूमा भारतको सबैभन्दा भीषण हवाई दुर्घटनामध्ये एक मानिएको छ ।
एक वर्षअघि भएको एयर इन्डिया फ्लाइट–१७१ विमान दुर्घटनाको अनुसन्धान अहिले अन्तिम चरणमा पुगेको छ । भारतको विमान दुर्घटना अनुसन्धान गर्ने निकाय एयरक्राफ्ट एक्सिडेन्ट इन्भेस्टिगेसन ब्युरो (एएआइवि)ले सर्वोच्च अदालतमा बुझाएको शपथपत्रमार्फत अनुसन्धानको विश्लेषण चरण जारी रहेको र आगामी करिब छ साताभित्र यो चरण पूरा हुने जानकारी दिएको छ ।
निकायका अनुसार प्रारम्भिक अन्तिम अनुसन्धान प्रतिवेदन अक्टोबर महिनासम्म तयार हुन सक्ने अपेक्षा गरिएको छ । यद्यपि, उक्त प्रतिवेदन कहिले सार्वजनिक गरिने भन्ने विषयमा कुनै जानकारी दिइएको छैन, साथै दुर्घटनाको वास्तविक कारणबारे पनि अहिलेसम्म कुनै आधिकारिक निष्कर्ष सार्वजनिक गरिएको छैन ।
दुर्घटनालगत्तै अनुसन्धान सुरु गरेको (एएआइवि) ले अहिलेसम्म गम्भीर विमान दुर्घटनाको अनुसन्धानका लागि आवश्यक ६६ मध्ये ४९ वटा अनिवार्य प्रक्रिया पूरा गरिसकेको जनाएको छ । ती प्रक्रियाअन्तर्गत दुर्घटनास्थलको विस्तृत निरीक्षण, विमानका भग्नावशेषको वैज्ञानिक परीक्षण, फ्लाइट डेटा रेकर्डर र ककपिट भ्वाइस रेकर्डरबाट प्राप्त तथ्यहरूको विश्लेषण, चालक दलका सदस्यहरूको स्वास्थ्य अवस्था, तालिम, उडान अनुभव तथा अन्य प्राविधिक अभिलेखहरूको समीक्षा गरिएको छ ।
अनुसन्धान केवल प्राविधिक पक्षमा सीमित नरही संगठनात्मक सुरक्षा संस्कृति, मानव व्यवहार तथा सुरक्षा अभ्यासको समेत अध्ययन गरिएको (एएआइवि)ले जनाएको छ । त्यसका साथै, चालक दलसँग सम्बन्धित मनोवैज्ञानिक मूल्याङ्कन पनि गरिएको छ र त्यसको अन्तिम प्रतिवेदन अनुसन्धान टोलीले प्राप्त गरिसकेको शपथपत्रमा उल्लेख छ ।
यस्ता मूल्याङ्कनले दुर्घटनाअघि चालक दलको मानसिक अवस्था, निर्णय प्रक्रिया तथा कार्यशैलीबारे अनुसन्धान गर्न सहयोग पु¥याउने उद्देश्य राख्छ ।(एएआइवि)ले ककपिट भ्वाइस रेकर्डरको पूर्ण प्रतिलिपि तयार भइसकेको जानकारी दिएको भए पनि त्यसमा रहेका संवाद वा अन्य विवरण भने सार्वजनिक गरेको छैन ।
अनुसन्धान सम्पन्न नभएसम्म संवेदनशील प्रमाण सार्वजनिक नगर्ने अन्तर्राष्ट्रिय अभ्यासअनुसार नै यस्तो गरिएको मानिएको छ । यसअघि, दुर्घटनापछि सार्वजनिक गरिएको प्रारम्भिक प्रतिवेदनले भने व्यापक चर्चा र विवाद उत्पन्न गरेको थियो ।
उक्त प्रतिवेदनमा उडान भरेको केही सेकेन्डमै विमानका दुवै इन्जिनका फ्युल कन्ट्रोल स्विच अचानक ‘कट–अफ’ अवस्थामा पुगेका कारण इन्जिनमा इन्धन आपूर्ति बन्द भएको र त्यसपछि विमानले शक्ति गुमाएको उल्लेख गरिएको थियो साथै, ककपिटमा भएको अडियो संवादमा एक पाइलटले अर्को पाइलटलाई “किन यस्तो गरियो?” भनेर प्रश्न गरेको र अर्को पाइलटले “मैले गरेको होइन” भन्ने जवाफ दिएको विवरण पनि प्रतिवेदनमा समावेश गरिएको थियो ।
तर, उक्त संवाद कुन पाइलटले बोलेका थिए भन्ने विवरण भने जानाजानी खुलाइएको थिएन । यही अस्पष्टताका कारण विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा दुर्घटनाको जिम्मेवारी वरिष्ठ पाइलट क्याप्टेन सुमित सभरवाल तर्फ केन्द्रित हुन थालेको भन्दै समाचार प्रकाशित भएका थिए ।
ती समाचारपछि क्याप्टेन सभरवालका परिवार, भारतका विभिन्न पाइलट सङ्घ तथा विमान दुर्घटना अनुसन्धान निकाय (एएआइवि) ले ती अड्कलबाजीपूर्ण समाचारको आलोचना गरेका थिए । उनीहरूले आधिकारिक निष्कर्ष नआउँदै कुनै व्यक्ति वा समूहलाई दोषी ठहर गर्ने प्रयासले अनुसन्धानलाई नै प्रभावित पार्न सक्ने बताएका थिए ।
यसै विषयमा क्याप्टेन सभरवालका पिताले दुर्घटनाको स्वतन्त्र अनुसन्धानको माग गर्दै सर्वोच्च अदालतमा दायर गरेको रिटको जवाफस्वरूप (एएआइवि)ले आफ्नो पछिल्लो शपथपत्र बुझाएको हो । शपथपत्रमा अनुसन्धान जारी रहेकै अवस्थामा सञ्चारमाध्यममा पाइलटलाई दोषी देखाउने किसिमका समाचार प्रकाशित हुँदा केही साक्षीहरू खुलेर बयान दिन हिच्किचाएको उल्लेख गरिएको छ ।
अनुसन्धानमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा संलग्न व्यक्तिहरूमा यस्तो वातावरणले असर पारेको भन्दै (एएआइविले अनुसन्धान सम्पन्न नहुँदासम्म अनुमानका आधारमा निष्कर्ष निकाल्न नहुने स्पष्ट पारेको छ । (एएआइवि)ले अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन –आईसिएओका मापदण्डअनुसार अनुसन्धानलाई निष्पक्ष, वैज्ञानिक र प्रमाणमा आधारित बनाउने प्रयास भइरहेको जनाएको छ ।
अन्तिम प्रतिवेदन सार्वजनिक भएपछि मात्र दुर्घटनाको वास्तविक कारण, त्यसका लागि जिम्मेवार कारकहरू तथा भविष्यमा यस्ता दुर्घटना रोक्न आवश्यक सुरक्षा सिफारिसहरू औपचारिक रूपमा सार्वजनिक हुने अपेक्षा गरिएको छ । अहिलेसम्म उपलब्ध आधिकारिक जानकारीअनुसार अनुसन्धान अझै जारी छ र दुर्घटनाको कारणबारे कुनै अन्तिम निष्कर्ष निकालिएको छैन ।
त्यसैले अनुसन्धान प्रतिवेदन सार्वजनिक नभएसम्म विभिन्न अनुमान वा अपुष्ट दाबीलाई आधिकारिक सत्यका रूपमा लिन नहुने विज्ञहरूको सुझाव छ । एउटा विमान दुर्घटनाले केवल एउटा उडान रोकिन्न, त्यससँगै सयौं परिवारका सपना, आशा र भविष्य पनि चकनाचुर हुन्छन् । अहमदाबादको यो दुर्घटनाले पनि विश्वभर हवाई सुरक्षाबारे गम्भीर प्रश्न उठाएको छ ।
अनुसन्धान अन्तिम चरणमा पुगे पनि दुर्घटनाको वास्तविक कारणबारे आधिकारिक निष्कर्ष आउन अझै केही समय कुर्नुपर्नेछ । अब सबैको ध्यान अक्टोबरमा अपेक्षित अन्तिम प्रतिवेदनतर्फ छ, जसले २६० जनाको ज्यान लिएको यो भीषण दुर्घटनाको वास्तविक कारण मात्रै होइन, भविष्यमा यस्ता दुर्घटना दोहोरिन नदिन अपनाउनुपर्ने सुरक्षा उपायबारे पनि स्पष्ट मार्गदर्शन गर्ने अपेक्षा गरिएको छ ।।




