१३ साउन , काठमाण्डौ ।
सुनसरीको देवानगञ्ज–कप्तानगञ्ज क्षेत्रमा भएको हिंसात्मक घटनापछि अवस्था अझै सामान्य बन्न सकेको छैन् । प्रधानमन्त्री बालेन्द्र शाहले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै दोषीमाथि कानुनबमोजिम कारबाही, पीडितलाई न्याय र सामाजिक सद्भाव कायम राख्ने प्रतिबद्धता जनाएका छन्।
उता जिल्ला प्रशासन कार्यालयले इटहरी, इनरुवा, दुहबीसहित जिल्लाका विभिन्न संवेदनशील क्षेत्रमा अनिश्चितकालीन कफ्र्यु जारी गरेको छ भने सुरक्षा निकायको व्यापक परिचालन गरिएको छ। यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले घटनापछि उत्पन्न परिस्थितिबारे साझा धारणा बनाउन सर्वदलीय बैठक बोलाएको छ।

गृह मन्त्रालयको छानबिन समिति घटनास्थलमा पुगेको छ भने प्रमुख जिल्ला अधिकारीले मृतक ओमप्रकाश मेहताको परिवारसँग भेट गरी स्थानीयको माग र गुनासो सुनेका छन्। सुनसरीमा विकसित पछिल्लो घटनाक्रम र साम्प्रदायिक तनावप्रति गम्भीर दुःख व्यक्त गर्दै प्रधानमन्त्री बालेन्द्र शाहले सबैलाई संयमित हुन र सामाजिक सद्भाव नबिथोल्न आग्रह गरेका छन् ।
उनले सुनसरी घटनाको सुरुआतदेखि नै सरकारले आफ्नो उपस्थिति देखाएको जनाएका छन् । तर, त्यो पुग्दो भने नरहेको उनको स्वीकारोक्ति छ । “घटनाको सुरुआतदेखि नै सरकारले आफ्नो उपस्थिति देखाएको छ तर ती पुग्दो भएनन्,“ बालेनले मंगलबार राति फेसबुकमा लेखेका छन्, “सुरक्षाकर्मीको गोलीले नागरिकको ज्यान गुम्यो, घाइते भए । सुरक्षाकर्मीको तर्फबाट यस्तो क्षति हुनु कुनै पनि हालतमा सामान्य कुरा होइन ।“
उनले उक्त घटनाक्रमबाट प्रधानमन्त्रीका रूपमा मात्र नभएर नागरिकका रूपमा पनि आफू दुःखी भएको जनाएका छन् । “यो घटनाबाट गुमाएका परिवारहरूको दुःख मैले महसुस गरेको छु । सरकारले सक्दो चाँडो न्याय र क्षतिपूर्ति उपलब्ध गराउनेछ । फेरि त्यस्तो नहोस् भन्नका लागि यसका कसुरदारहरूलाई कानुन बमोजिम कारबाही गरिने विश्वास दिलाउन चाहन्छु,“ उनले भनेका छन् ।
यो घटनाबाट हामीले पाठ सिकेर फेरि यस्ता घटना हुन नदिन सरकारले तत्काल आवश्यक निर्णय गरिरहेको उनले बताएका छन् । “यसबारेमा अनुसन्धान सुरू भइसकेको र कानुनबमोजिम कारबाही हुने कुरा म जानकारी गराउँछु,“ उनले भनेका छन्, “सरकार छ र दोषीमाथि कारबाही हुनेछ भन्ने विश्वास यो सरकारले दिलाउनेछ ।“
सम्पूर्ण घटनाका बारेमा सरकारले गम्भीर भएर समीक्षा गरेको उनले बताएका छन् । “तपाईंहरूले फेरि यस्ता घटना हुन नदिन सरकारले चाल्ने कदमका बारेमा गम्भीर र जिम्मेवार कदमको महसुस गर्नु हुनेछ,“ उनले प्रतिबद्धता जनाएका छन् ।
मृतकका परिवार, घाइते तथा घाइतेका परिवारहरूलाई न्यायको अनुभूति गराउन सरकारले आफ्नो पूरा शक्ति लगाउने उनको भनाइ छ । “त्यति बेलासम्मका लागि आफ्नो उत्तेजना, आक्रोश, बदलाको भावनालाई सबैले रोक्नुहोला । हामीलाई धर्मले सिकाउने पनि त्यही हो,“ उनले भनेका छन् ।
उनले आक्रोश र उत्तेजना हटाउन पनि आग्रह गरेका छन् । “मनमा छन् भने पनि तुष, रिस, डर, आक्रोशलाई हटाउनुहोला । उत्तेजित हुने वा गराउने कुनै पनि काममा सरिक नभइदिनुहोला,“ उनले भनेका छन्, “सुरक्षित र संयमित भएर बसौँ । एकअर्कालाई प्रेम र सम्मान गरौँ । सामाजिक सदभाव कायम राखौँ ।“
यता सुनसरी जिल्लाका विभिन्न क्षेत्रमा सुरक्षा अवस्था संवेदनशील बनेपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले मंगलबार राति ९ बजेदेखि लागू हुने गरेको अनिश्चितकालीन कफ्र्यु आदेश जारी छ ।
प्रमुख जिल्ला अधिकारी इश्वरीप्रसाद अर्यालद्वारा जारी आदेशअनुसार जिल्ला सुरक्षा समितिको साउन १२ गते बसेको बैठकको निर्णयका आधारमा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (१) बमोजिम कफ्र्यु लागू गरिएको हो ।
प्रशासनका अनुसार कफ्र्यु अवधिभर तोकिएका क्षेत्रमा कुनै पनि व्यक्तिलाई आवतजावत गर्न, भेला हुन, जुलुस निकाल्न, प्रदर्शन गर्न, सभा–बैठक गर्न तथा अन्य सार्वजनिक गतिविधि सञ्चालन गर्न निषेध गरिएको छ ।
आदेश उल्लङ्घन गर्ने व्यक्तिमाथि प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनी पनि प्रशासनले दिएको छ । कफ्र्यु इटहरी उपमहानगरपालिका–१६ र १७ अन्तर्गत महेन्द्र राजमार्गको दायाँ–बायाँ २०० मिटर क्षेत्र, रामधुनी नगरपालिका–१ र ५ अन्तर्गत महेन्द्र राजमार्गको दायाँ–बायाँ २०० मिटर क्षेत्र, इनरुवा र दुहबी नगरपालिकाको सम्पूर्ण क्षेत्र तथा भोक्राहा नरसिंह, कोशी, गढी, देवानगञ्ज, हरिनगर र बर्जु गाउँपालिकाको सम्पूर्ण क्षेत्रमा लागू हुनेछ ।
प्रशासनले आदेश तत्काल प्रभावबाट कार्यान्वयनमा ल्याइएको जनाएको छ । कफ्र्यु प्रभावकारी रूपमा कार्यान्वयन गर्न सुरक्षा निकायलाई आवश्यक निर्देशन दिइएको छ । स्थानीय बासिन्दालाई अत्यावश्यक अवस्था बाहेक घरबाहिर ननिस्कन, सुरक्षा निकायका निर्देशन पालना गर्न तथा अफवाह र भ्रामक सूचनाको पछि नलाग्न प्रशासनले आग्रह गरेको छ ।
देवानगञ्ज–कप्तानगञ्ज क्षेत्रमा हालै भएको घटनापछि जिल्लाको शान्ति–सुरक्षा अवस्था संवेदनशील बनेको भन्दै सम्भावित अप्रिय घटना रोक्न, सार्वजनिक सुरक्षा कायम राख्न र सामाजिक सद्भाव संरक्षण गर्न कफ्र्यु आदेश जारी गरिएको प्रशासनले जनाएको छ ।
प्रशासनका अनुसार जिल्लाको अवस्थाको निरन्तर समीक्षा भइरहेको छ । सुरक्षा अवस्था सामान्य भएपछि आवश्यक निर्णय सार्वजनिक गरिने पनि जनाएको छ । देवानगञ्ज गाउँपालिका–३ स्थित देवानगञ्ज बजारमा मंगलबार साँझ भएको हिंसात्मक झडप राति सुरक्षा निकायको सक्रिय परिचालनपछि नियन्त्रणमा आएको छ।
करिब अढाई घण्टासम्म तनावग्रस्त बनेको क्षेत्र राति ९ः३० बजेदेखि क्रमशः सामान्य बनेको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) सुवास हमालका अनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा अन्य सुरक्षा निकायको थप परिचालन गरी क्षेत्रको सुरक्षा व्यवस्था सुदृढ बनाइएको छ।
सम्भावित अप्रिय गतिविधि रोक्न संवेदनशील स्थानमा निगरानीसमेत बढाइएको उनले बताए। घटनाका क्रममा बजार क्षेत्रका घर तथा व्यवसायिक प्रतिष्ठानमा आगजनी र तोडफोड भएको प्रहरीले जनाएको छ।
मंगलबार दिउँसोदेखि नै देवानगञ्ज र घुस्की क्षेत्रमा तनाव देखिएको थियो। केही स्थानमा आगजनी भएको तथा सुरक्षाकर्मीमाथि समेत आक्रमण भएपछि सुरक्षा सतर्कता बढाइएको थियो। त्यसक्रममा देवानगञ्ज र हरिनगर क्षेत्रको अवस्थाको निगरानी गर्न नेपाली सेनाले हेलिकोप्टरमार्फत हवाई गस्ती गरेको थियो।
सुरक्षा अधिकारीहरूले स्थानीय जनप्रतिनिधि, समुदायका अगुवा तथा सरोकारवालासँग छलफल गर्दै संयमता अपनाउन, अफवाहमा विश्वास नगर्न र शान्ति कायम राख्न आग्रह गरेका थिए। तर साँझ पुनः झडप चर्किएपछि बजार क्षेत्र केही समय तनावग्रस्त बनेको थियो।
प्रहरीका अनुसार घटनामा केही व्यक्ति घाइते भएको अनुमान गरिए पनि घाइतेको संख्या, अवस्था तथा मानवीय क्षतिको आधिकारिक विवरण सार्वजनिक गरिएको छैन। सुरक्षा निकायले हाल क्षेत्रको अवस्था नियन्त्रणमा रहेको जनाएको छ।
स्थानीयलाई अफवाह र अपुष्ट सूचनाबाट सचेत रहन, सामाजिक सद्भाव कायम राख्न तथा सुरक्षा निकायलाई आवश्यक सहयोग गर्न आग्रह गरिएको छ। उता सुनसरीमा भएको घटनापछि विकसित परिस्थितिबारे साझा धारणा बनाउन सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सर्वदलीय बैठक बोलाएको छ ।
रास्वपा सभापति रवि लामिछानेको आह्वानमा अहिले बिहान ८ बजे सिंहदरबारस्थित लेखा समितिको बैठक कक्षमा छलफल हुने पार्टीका महामन्त्री विपिन आचार्यले जानकारी दिए। बैठकमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दललाई आमन्त्रण गरिएको छ ।
साथै उपेन्द्र यादव, महन्थ ठाकुर र सीके राउत नेतृत्वका दललाई पनि छलफलमा सहभागी हुन निमन्त्रणा पठाइएको र नेताहरूसँग टेलिफोनमार्फत समेत समन्वय गरिएको रास्वपाले जनाएको छ ।
रास्वपाका अनुसार सुनसरी घटनापछि सामाजिक सद्भाव, शान्ति सुरक्षा र सार्वजनिक विश्वास कायम गर्ने विषयमा साझा राजनीतिक प्रतिबद्धता आवश्यक देखिएकाले सर्वदलीय छलफल आयोजना गरिएको हो ।
प्रशासनले शान्ति सुरक्षा कायम गर्न आवश्यक कदम चालिरहेका बेला सामाजिक रूपमा फैलन सक्ने द्वेष र तनाव न्यूनीकरणका लागि राजनीतिक दलहरूबाट संयुक्त सन्देश र अपिल जारी गर्ने उद्देश्यले बैठक बोलाइएको आचार्यले बताए ।
सोमबार मात्रै सरुवा भई आएका सुनसरीका प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्याल मंगलबार मृतक देवानगञ्ज–४ का २५ वर्षीय ओमप्रकाश मेहताको घर पुगेर परिवारलाई भेटेका छन् ।
देवानगञ्ज गाउँपालिका अध्यक्ष बेचन यादवका अनुसार प्रजिअसहितको टोलीलाई स्थानीयले देवानगञ्जको अवस्थाबारे जानकारी गराएका छन् । उनले भने, “संलग्नलाई कारबाही गर्नुपर्ने र मृतकलाई सहिद घोषणा गर्नुपर्ने भन्ने जोडदार माग उठेको छ ।“
गृह मन्त्रालयले गठन गरेको छानबिन समितिका पदाधिकारी पनि सुनसरी पुगिसकेका छन् । यसअघि उनीहरूले विराटनगरमा घटनाका घाइतेहरूलाई भेटेका थिए ।




