१ असार २०८३ ,विराटनगर।
विराटनगरस्थित नोबेल अस्पतालले छालासम्बन्धी सम्पूर्ण रोगको उपचार र सौन्दर्य अभिवृद्धिका लागि अत्याधुनिक प्रविधिसहितको विशिष्टीकृत सेवा सञ्चालन गरिरहेको छ।
छालामा देखिने दुबी, कोठी, गाँठागुँठी, चाउरीपना, चायाँ–पोतो र कुष्ठरोगलगायतका जटिल समस्याहरूको प्रभावकारी उपचारदेखि मानिसको बाह्य सौन्दर्य निखार्नेसम्मका सम्पूर्ण सुविधाहरू अस्पतालले एउटै छानामुनि उपलब्ध गराएको हो।

विशेषज्ञ चिकित्सक र अत्याधुनिक उपकरणको संयोजनमार्फत अस्पतालले नचाहिएको टाटु हटाउने, अनावश्यक रौँ हटाउनेदेखि लिएर तालु खुइलिएको ठाउँमा कपाल उमार्नेसम्मका अन्तर्राष्ट्रिय स्तरका सेवाहरू प्रदान गर्दै आएको छ।
नोबेल अस्पतालका वरिष्ठ छाला, कुष्ठ तथा सौन्दर्य रोग विशेषज्ञ डा मनीष प्रधानका अनुसार अस्पतालले छालाको उपचारलाई मुख्य रूपमा कन्भेन्सनल डर्माटोलोजी र कस्मेटिक डर्माटोलोजी गरी दुई आयाममा वर्गीकरण गरी सेवा प्रवाह गरिरहेको छ।
कन्भेन्सनल डर्माटोलोजी पूर्णतया छालासम्बन्धी रोगहरूको निदान र उपचारमा केन्द्रित छ। यसअन्तर्गत विभिन्न प्रकारका एलर्जी, छालामा आउने र्यास, डन्डीफोर, लुतो, पिलो, पुराना घाउ, सोरायसिस, एक्जिमा र छालाका गम्भीर संक्रमणहरूको विशेषज्ञ उपचार गरिन्छ।
साथै, कपाल झर्ने समस्या र नङसम्बन्धी रोगहरूको उपचारका सँगै छालाको क्यान्सर तथा कुष्ठरोग पहिचानका लागि बायोप्सी सेवा र दुबी अर्थात् सेतो दागको उपचारका लागि औषधिसँगै आधुनिक फोटोथेरापी विधि पनि अस्पतालमा उपलब्ध छ।
त्यसैगरी, छालाको आकर्षण बढाउन र युवापन कायम राख्न चाहनेहरूका लागि कस्मेटिक डर्माटोलोजी सेवा सञ्चालनमा छ, जसमा विश्वकै पछिल्लो प्रविधिहरूको प्रयोग गरिन्छ। अनुहारको चाउरीपना हटाउन र छालालाई कसिलो बनाउन बोटोक्स तथा फिलरको प्रयोग गरिन्छ भने छालाको चमक बढाउन अत्याधुनिक कार्बन पिलिङ र हाइड्राफेसियल प्रविधि अपनाइएको छ।
डन्डीफोरले बिगारेको वा खाल्डो परेको अनुहारको उपचारमा माइक्रो लेजरको प्रयोग हुँदै आएको छ। यसका अलावा कोठी, पोतो तथा मुसाको प्रकृति हेरी पिको लेजर, कार्बन डाइअक्साइड लेजर वा शल्यक्रियामार्फत सफल उपचार गरिन्छ भने टाटु हटाउन विशेष पिको लेजर प्रविधिको प्रयोग हुने गरेको छ।
पछिल्लो समय मानिसहरूमा आफ्नो बाह्य सौन्दर्य र प्रस्तुतिप्रति निकै चासो बढेको डा प्रधान बताउँछन्। फलस्वरूप, रोगको उपचारका लागि मात्र नभई छालाको चमक बढाउन र आकर्षक देखिन अस्पताल आउने सेवाग्राहीको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ।
विशेषगरी महिलाहरू अनुहारमा आउने अनावश्यक रौँको समस्या लिएर ठूलो सङ्ख्यामा आउने गरेका छन्। यस्तो समस्या हर्मोनको गडबडी वा अन्य कुनै आन्तरिक रोगका कारण पनि हुनसक्ने भएकाले नोबेल अस्पतालले रोगको जरो पत्ता लगाएर मात्र लेजर प्रविधिमार्फत रौँको वृद्धि घटाउने वैज्ञानिक उपचार गर्दै आएको छ।
त्यसैगरी, कपाल झर्ने तथा नउम्रिने समस्याबाट पीडितहरूका लागि अस्पतालले बिरामीकै आफ्नै रगत प्रयोग गरेर कपाल पुनः उमार्ने अत्याधुनिक उपचार ९पीआरपी० समेत सफलतापूर्वक गरिरहेको छ।
नोबेल अस्पतालले छाला रोग तथा सौन्दर्य उपचारको क्षेत्रमा अनवरत सेवा प्रदान गरेको करिब दुई दशक पूरा भइसकेको छ। यस लामो अवधिमा अस्पतालले हजारौँ बिरामीलाई सफल उपचार प्रदान गरेको छ।
उपचारपछि सन्तुष्ट भएका बिरामीहरूले आफ्ना आफन्त र साथीभाइलाई समेत सिफारिस गरेर ल्याउने गरेको अनुभव अस्पताल प्रशासनसँग छ।
आधुनिक प्रविधि, दक्ष विशेषज्ञ र विश्वसनीय सेवाको माध्यमबाट नोबेल अस्पतालले बिरामीको रोग मात्र निको पारेको छैन, उनीहरूको हराएको सौन्दर्य र आत्मविश्वाससमेत सफलतापूर्वक फर्काइरहेको छ।




