२५ वैशाख , काठमाण्डौ ।
अमेरिका र इरानबीच स्थायी शान्तिका लागि सम्झौताको अीनतम तयारी भइरहेको दाबी भइरहेका बेला होर्मुज जलमार्गमध्य क्षेत्रमा पुनः सैन्य भिडन्त भएको छ। दुवै पक्षले एकअर्कामाथि आक्रमण गरेको आरोप लगाएका छन्। अमेरिकी सेनाको सेन्ट्रल कमाण्ड (सेन्टकम) का अनुसार हर्मुज जलमार्ग हुँदै ओमानको खाडी तर्फ गइरहेका अमेरिकी नौसेनाका तीनवटा गाइडेड–मिसाइल विनाशक जहाजमाथि इरानले मिसाइल, ड्रोन र साना डुंगामार्फत आक्रमण गरेको थियो।
सेन्टकमले सबै आक्रमणलाई बीचमै निष्क्रिय पारिएको र कुनै अमेरिकी जहाजमा क्षति नभएको जनाएको छ। सेन्टकमले त्यसपछि आत्मरक्षाका लागि इरानका मिसाइल तथा ड्रोन प्रक्षेपणस्थल, कमाण्ड सेन्टर र निगरानी केन्द्रहरूमा आक्रमण गरिएको जनाएको छ। ’हामी तनाव बढाउन चाहँदैनौं, तर अमेरिकी फौजको सुरक्षाका लागि तयार छौं,’ सेन्टकमले विज्ञप्तिमा भनेको छ।
इरानले भने अमेरिकाले नै युद्धविराम उल्लंघन गर्दै आफ्नो भूमिमा आक्रमण गरेको दाबी गरेको छ। इस्लामिक रिभोलुसनरी गार्ड कोर्स (आइआरजिसी)ले अमेरिकी सेनाले हर्मुज प्रवेश गरिरहेका एउटा तेल ट्यांकर र अर्को जहाजलाई निशाना बनाएको आरोप लगाएको छ। साथै केश्म टापु तथा दक्षिणी तटीय शहर बन्दर खामिर र सिरिकमा अमेरिकी हवाई आक्रमण भएको इरानको दाबी छ।
इरानी सरकारी सञ्चारमाध्यमका अनुसार पर्सियन खाडीस्थित केश्म टापु र बन्दर अब्बास क्षेत्रमा विस्फोट सुनिएको थियो। रिभोलुसनरी गाड्र्ससँग निकट फार्स न्युजले केश्म टापुको बहमन बन्दरगाह क्षेत्रमा ’शत्रु फौज’ सँग भिडन्त भएको जनाएको छ। इरानका दुई वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै केही अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले संयुक्त अरब इमिरेट्समाथि पनि घटनामा संलग्न रहेको आरोप लगाएका छन्।
उनीहरूका अनुसार केश्मस्थित जहाज निर्माण केन्द्र, बहमन बन्दरगाह र बन्दर अब्बासस्थित हवाई अड्डा क्षेत्र लक्षित हमला भएको थियो। यद्यपि यूएईले यसबारे सार्वजनिक प्रतिक्रिया दिएको छैन। इरानको राजधानी तेहरानमा पनि बिहीबार राति ठूलो विस्फोट सुनिएको इरानी सरकारी समाचार संस्था इरनाले जनाएको छ।
पश्चिमी तेहरान क्षेत्रमा हवाई प्रतिरक्षा प्रणाली सक्रिय पारिएको र स्थानीय बासिन्दामा त्रास फैलिएको बताइएको छ। यता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घटनालाई सामान्य बनाउने प्रयास गरेका छन्। उनले एबीसी न्युजसँग युद्धविराम कायम रहेको दाबी गरेका छन्। पछि ट्रुथ सोसलमा पोस्ट लेखेर उनले इरानी साना डुंगा समुद्रमा डुबाइएको र अमेरिकी विनाशक जहाजतर्फ प्रहार गरिएका मिसाइल तथा ड्रोन नष्ट गरिएको लेखेका छन्।
ट्रम्पले इरानलाई वार्तामार्फत सम्झौता स्वीकार गर्न चेतावनी पनि दिएका छन्। ’यदि उनीहरूले चाँडै सम्झौता गरेनन् भने भविष्यमा अझ कडा र हिंसात्मक जवाफ दिनेछौं,’ उनले लेखेका छन्। इरानको खातम अल–अम्बिया केन्द्रीय कमाण्डले भने अमेरिकी कारबाहीलाई युद्धविराम उल्लंघन भन्दै बलियो प्रतिकार गर्ने चेतावनी दिएको छ।
इरानी टेलिभिजन प्रेस टिभीले केही घण्टाको तनावपछि हर्मुज आसपासको अवस्था सामान्यतर्फ फर्किएको जनाएको छ। गत अप्रिल ७ देखि लागू युद्धविरामपछि दुवै पक्षबीच कहिलेकाहीँ सानो स्तरमा गोली हानाहान हुँदै आएको थियो। सोमबार पनि अमेरिकी सेनाले हर्मुज क्षेत्रमा इरानी ड्रोन, क्रुज मिसाइल र साना डुंगा नष्ट गरेको जनाएको थियो।
यसैबीच, युद्धविरामलाई स्थायी बनाउने अमेरिकी प्रस्तावमाथि वासिङ्टन र तेहरानबीच वार्ता जारी छ। प्रस्तावमा इरानको आणविक कार्यक्रम र हर्मुज जलमार्गमध्य पुनः खोल्ने जस्ता विवादास्पद विषय भने अझै टुंगो लागेका छैन। पछिल्लो तनावपछि अन्तर्राष्ट्रिय तेल बजार पनि प्रभावित भएको छ।
एसियाली बजारमा शुक्रबार अमेरिकी कच्चा तेलको मूल्य ३ प्रतिशतसम्म बढेको रोयटर्सले जनाएको छ। हर्मुज जलमार्गमध्यबाट विश्वको करिब २० प्रतिशत तेल तथा ग्यास आपूर्ति हुने भएकाले त्यहाँको अस्थिरताले विश्व बजारमा प्रभाव पार्ने विश्लेषण गरिएको छ। अमेरिका र इरान जारी युद्ध अन्त्य गर्न अस्थायी तथा सीमित सम्झौतामा पुग्ने प्रयास अन्तिम चरणमा पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
स्रोतहरूका अनुसार दुवै पक्षबीच पूर्ण शान्ति सम्झौता नभएर तत्काल युद्ध रोक्ने उद्देश्यसहित छोटो अवधिको समझदारीपत्रमा तयारी भइरहेको छ । यो सम्भावित सहमतिले युद्ध रोक्ने, स्ट्रेट अफ होर्मुजको संकट समाधान गर्ने र दीर्घकालीन वार्ताका लागि वातावरण बनाउने लक्ष्य राखेको बताइएको छ ।
तर इरानको आणविक कार्यक्रम, उच्च संवर्धित युरेनियमको भण्डारण तथा आणविक गतिविधि रोक्ने अवधि जस्ता संवेदनशील विषयमा अझै गम्भीर मतभेद कायम रहेको जनाइएको छ । प्रस्तावित योजना तीन चरणमा अघि बढ्नेछ । पहिलो चरणमा युद्ध औपचारिक रूपमा अन्त्य गर्ने, दोस्रो चरणमा स्ट्रेट अफ होर्मुजको संकट समाधान गर्ने र तेस्रो चरणमा ३० दिनको वार्ता अवधिमार्फत व्यापक सम्झौताबारे छलफल गर्ने तयारी छ ।
यस वार्तामा पाकिस्तानले मध्यस्थकर्ताको भूमिका खेलेको बताइएको छ । मध्यस्थतामा संलग्न एक वरिष्ठ पाकिस्तानी अधिकारीले रोयटर्ससँग भनेका छन्, “हाम्रो प्राथमिकता स्थायी रूपमा युद्ध अन्त्य भएको घोषणा गराउनु हो । त्यसपछि बाँकी विषय प्रत्यक्ष वार्तामार्फत समाधान गर्न सकिन्छ ।” अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि सम्झौताको सम्भावनाप्रति आशावादी प्रतिक्रिया दिएका छन् ।
उनले ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै भने, “उनीहरू सम्झौता गर्न चाहन्छन् । यो सम्भव छ ।” पछि उनले युद्ध “छिट्टै अन्त्य हुन सक्ने” पनि बताए । तर इरानी पक्ष भने अझै सशंकित देखिएको छ । इरानको विदेश मन्त्रालयले प्रस्तावबारे उचित समयमा प्रतिक्रिया दिने जनाएको छ भने इरानी सांसद इब्राहिम रेजाइले प्रस्तावलाई अमेरिकी इच्छा सूची जस्तो भनेका छन् ।
त्यस्तै इरानका संसद् सभामुख मोहम्मद बाघेर गालिबाफले सामाजिक सञ्जालमार्फत अमेरिका वार्ताको सफलताको भ्रम फैलाइरहेको आरोप लगाएका छन् । उनले “अपरेशन ट्रष्ट मि ब्रो फेल्ड” लेख्दै अमेरिकाले स्टे«ट अफ होर्मुज पुनः खोल्न नसकेपछि वार्तालाई प्रचारका रूपमा प्रयोग गरिरहेको संकेत गरेका छन् ।
यसैबीच अमेरिकी सञ्चारमाध्यम एनबीसी न्यूजले जनाए अनुसार ट्रम्पले स्टे«ट अफ होर्मुज पुनः खोल्न सुरु गरिएको अमेरिकी नौसैनिक अभियान रोक्नुमा साउदी अरेबियाको भूमिका पनि रहेको छ । रिपोर्टअनुसार साउदी अरेबियाले अमेरिकी सेनालाई आफ्नो हवाई क्षेत्र र सैन्य अड्डा प्रयोग गर्न अनुमति नदिएपछि ट्रम्पले अभियान स्थगित गर्ने निर्णय गरेका थिए ।
रिपोर्टमा उल्लेख भएअनुसार साउदी अधिकारीहरू अमेरिकी योजनाबाट असन्तुष्ट थिए र उनीहरूले वासिङ्टनलाई अमेरिकी सैन्य विमानहरूलाई साउदी हवाई क्षेत्र प्रयोग गर्न नदिने जानकारी दिएका थिए ।



