१५ साउन , काठमाण्डौ ।
प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले सद्भाव कायम राख्न देशबासीलाई अपिल गरेका छन्। बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्दै संयमता अपनाउँदै आपसी एकता भाइचारा कायम राख्न अनुरोध गरेका हुन्। उनले नेपाली र मैथिली भाषामा सम्बोधन गरेका थिए।
प्रधानमन्त्री बालेनले ४ मिनेट २८ सेकेन्ड सम्बोधन गरेका थिए। ‘हाम्रो इतिहास साक्षी छ, कठिनभन्दा कठिन र अप्ठ्यारो परिस्थितिमा पनि आपसी एकता, सहिष्णुता र विवेक नै हाम्रो सबैभन्दा ठूलो शक्ति बनेका छन्,’ बालेनले भने, ‘हामी सबैले जिम्मेवार नागरिकको भूमिका निर्वाह गर्दै यो सुन्दर र शान्त नेपाली आकासमा मडारिएको अशान्तिको बादल हटाउनु पर्नेछ।’

यस्तै उनले घटनाको निष्पक्ष छानबिन गर्ने र दोषीमाथि कडा कारबाही गर्ने पनि प्रतिबद्धता जनाएका छन्। सुरुमा नेपाली र अन्त्यमा मैथिली भाषामा सम्बोधन गरेका प्रधानमन्त्रीले घटनाको निष्पक्ष छानबिन गरिनेमा विश्वास दिलाएका छन् ।
उनले संवेदनशील घडीमा देश रहेको भन्दै स्थानीय तहमा विश्वासको वातावरण निर्माण गर्न सरकार गम्भीर रहेको बताएका छन् । प्रधानमन्त्रीले घटनामा संलग्न दोषीमाथि कारबाही गरिने भन्दै सरकारले नागरिक अगुवा, राजनीतिक दल र धार्मिक समुदायका व्यक्तिहरूसँग निरन्तर संवाद र छलफल जारी राखेको पनि बताएका छन् ।
उनले राष्ट्रिय सुरक्षा परिषद्को बैठक बसेर आवश्यक निर्णयहरू गरिएको पनि सम्बोधनका क्रममा बताए । उनले स्थिति सामान्य बनाउन सरकारका सम्पूर्ण संयन्त्र परिचालित भएको बताउँदै सामाजिक सञ्जालमार्फत घृणा नफैलाउन अनुरोधसमेत गरे ।
धर्म समाजलाई आपसमा जोड्ने र प्रेम बाँड्ने शक्ति हो । संसारको कुनै पनि धर्म वा संस्कृतिले हिंसा, घृणा र विभाजन सिकाउँदैन । सबै धर्मको मूल सार करुणा दया प्रेम र शान्ति नै हो ।
देशको कुनै स्थानमा भएको अनपेक्षित र दुःखद् घटनालाई लिएर कुनै सिंगो समुदायलाई आरोपित गर्नु र देशका अन्य भूभागमा समेत त्यसको प्रतिशोधको आगो फैलाउनु कुनै पनि दृष्टिकोणबाट न्यायोचित वा न्यायसंगत हुन सक्दैन,’ उनले भने ।
’हाम्रो इतिहास साक्षी छ, कठिनभन्दा कठिन र अप्ठ्यारो परिस्थितिमा पनि आपसी एकता, सहिष्णुता र विवेक नै हाम्रो सबैभन्दा ठूलो शक्ति बनेका छन् । हामी सबैले जिम्मेवार नागरिकको भूमिका निर्वाह गर्दै यो सुन्दर शान्त नेपाली आकाशमा मडारिएको अशान्तिको बादल हटाउनपर्नेछ,’ उनले भने ।
बालेनले समुदायबीच वैमनस्यता बढाउने अभिव्यक्ति प्रचारप्रसार नगर्न अपिल गरेका छन्। उनले सरकारी निकायहरूबाट जारी भएका आधिकारिक तथ्य र सूचनामा मात्र विश्वास गर्न आग्रह गरेका हुन्।
‘यस्तो संवेदनशील घडीमा सामाजिक सञ्जाल वा अन्य माध्यमबाट असत्य, अपुष्ट सूचना, अफवाह, घृणा फैलाउने सामग्री वा समुदायबीच वैमनस्य बढाउने अभिव्यक्तिको प्रचारप्रसार नगर्न÷नगराउन अनुरोध गर्दछु। साथै, सरकारी निकायहरूबाट जारी भएका आधिकारिक तथ्य र सूचनामा मात्र विश्वास गर्न विशेष आग्रह गर्दछु,’ उनले भने।
त्यस्तै उनले शान्ति–सुरक्षा भंग गर्ने, अराजकता फैलाउने, सामाजिक सद्भाव, सहिष्णुता र भाइचारा खलबल्याउने कुनै पनि क्रियाकलापप्रति सरकार पूर्ण रूपमा सचेत रहेको र यस्ता गतिविधिमाथि कडा कदम चालिने बताए। उनले संयमता अपनाउँदै आपसी एकता भाइचारा कायम राख्न अनुरोध गरे।
बालेनले केही दिनअघि सुनसरीको देवानगन्ज, सिरहा लगायत स्थानमा भएका दुःखद घटना र त्यसपछि केही जिल्लाहरूमा उत्पन्न अशान्त वातावरणलाई लिएर नेपाल सरकार पूर्ण रूपमा गम्भीर र संवेदनशील रहेको भन्दै यस दुःखद घटनामा परी निधन भएका जयप्रकाश मेहता, ओमप्रकाश मेहता र गणेश यादवप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् ।
साथै, शोकसन्तप्त परिवारजनहरूमा नेपाल सरकारका तर्फबाट गहिरो समवेदना व्यक्त गरेका छन् । उनले घटनामा परी घाइते हुनुभएका सम्पूर्ण नागरिकहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै घाइतेहरूको उपचारमा कुनै पनि प्रकारको कमी वा ढिलाइ हुन नदिन सम्बन्धित स्वास्थ्य निकायहरूलाई स्पष्ट निर्देशन दिइसकिएको समेत बताएका छन् ।
घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कडा कानुनी कारबाही गर्न गृह मन्त्रालयले छानबिन समिति गठन गरिसकेको जानकारी दिँदै छानबिन पूर्ण रूपमा निष्पक्ष र पारदर्शी हुने र घटनामा संलग्न दोषी जो–कोही भए पनि कानुनी दायरामा ल्याउन सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
यस्तै प्रधानमन्त्री भएको चार महिनापछि राष्ट्रप्रमुखको रूपमा बिहीबार राति शीतल निवास पुगेर बालेनले राष्ट्रपतिसँग १५ मिनेट संवाद गरे । यसअघि शीतल निवासमा हुने शपथ लगायतका औपचारिक कार्यक्रममा मात्र पुग्ने गरेका थिए ।
सुनसरी घटनापछि पनि लामिछानेले दुई दिन अघि राष्ट्रपतिलाई भेटेका थिए । बिहीबार शीतल निवास गएर अहिले भइरहेको स्थितिबारे प्रधानमन्त्रीले ब्रिफिङ गरेका छन् । उनले बिहीबार नै उपराष्ट्रपति रामसहायप्रसाद यादवलाई पनि टेलिफोन गरी अहिलेको परिस्थितिबारे जानकारी गराएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
शीतल निवासको भेटमा राष्ट्रपतिले प्रधानमन्त्रीलाई सबैलाई साथमा लिएर स्थिति साम्य पार्न अनुरोध गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक दललगायत सबै पक्षलाई साथमा लिएर संयमतापूर्वक स्थितिलाई साम्य पार्न एवं सद्भाव कायम गर्न प्रधानमन्त्री बालेन्द्र शाहसँग आग्रह गरेका थिए ।
राष्ट्रपति पौडेललाई प्रधानमन्त्री शाहले शान्ति सुव्यवस्था कÞायम गर्न सरकारबाट भइरहेको प्रयासबारे जानकारी गराएका थिए । राष्ट्रपति सेनाको परमाधिपति समेत हुन्। ‘प्रधानमन्त्रीले सुनसरी, सिरहा लगायत जिल्लामा भइरहेको तनाव र समस्या समाधानका लागि सरकारले गरिरहेको प्रयासबारे ब्रिफिङ गर्नुभयो’ स्रोतले भन्यो, ‘राष्ट्रपतिलाई तराई–मधेसमा सुरक्षा निकायको परिचालन र अवस्थाबारे जानकारी गराउनुभयो।’
देशका विभिन्न भागमा हिंसात्मक घटना बढ्दै गएपछि राष्ट्रपति पौडेलले प्र्धानमन्त्री शाहलाई बिहीबार शीतलनिवास बोलाएर अवस्थाबारे चिन्ता र चासो व्यक्त गरेका राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए।
राष्ट्रपति पौडेलले अहिले उत्पन्न विषम परिस्थितिलाई यथाशीघ्र सामान्य बनाउन, शान्ति सुव्यवस्थालाई पूर्ववत् अवस्थामा ल्याई नागरिकको शान्तिपूर्ण जीवनयापन गर्ने वातावरण कायम गर्न प्रधानमन्त्रीलाई आग्रह गरेका थिए।
यता नेपाली कांग्रेसका सभापति गगन थापाले सामाजिक सद्भाव र भाइचारा कायम राख्न अपिल गरेका छन्। सामाजिक सञ्जाल फेसबुकबाट गएराति भिडिओ सन्देश जारी गर्दै थापाले मधेसका विभिन्न जिल्लामा घटेका साम्प्रदायिक सद्भाव विरोधी गतिविधिले चिन्तित बनाएको बताएका छन्।
उनले अनाहकमा सुनसरी र सिराहामा तीनजना नेपाली नागरिकको ज्यान गएको र कयौँ घाइते भएको भन्दै यस्तो बेलामा सरकार र गृहप्रशासनको भूमिका ठिक नभएको पनि आरोप लगाएका छन्। घटनाको विश्वसनीय न्यायी छानविन गठन गर्नुपर्नेमा उनले जोड दिएका छन्।
यस्तै पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सामाजिक सद्भाव कायम राख्दै सहकार्य, एकता र शान्तिको आदर्शलाई अनुसरण गर्न अनुरोध गरेका छन्। विदेशमा रहेका कांग्रेसका पूर्व सभापति देउवाले तराई मधेसमा उत्पन्न गतिविधिपछि यस्तो अनुरोध गरेका हुन्।
‘केही दिनदेखि तराईका विभिन्न क्षेत्रमा देखिएको तनावग्रस्त गतिविधिप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ। हामी नेपालीहरूको विशेषता भनेको एकअर्काको सहअस्तित्वलाई स्वीकार गर्दै आपसी सद्भाव, एकता र सहकार्यलाई कायम राख्नु हो,’ उनले आफ्नो फेसबुकमा लेखेका छन्, ‘म सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूमा सामाजिक सद्भाव कायम राख्दै सहकार्य, एकता र शान्तिको आदर्शलाई अनुसरण गर्न हार्दिक अनुरोध गर्दछु।’
देउवाले सुनसरी र सिरहामा प्रहरीको गोली प्रहारबाट मुत्यु भएकाहरूप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन्। उनले उक्त घटनामा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।
साथै, हिंसा थप भड्किन नदिन सरकारलाई सबै राजनीतिक दलहरूसँग सहकार्य गर्दै तत्काल आवश्यक पहल तथा प्रभावकारी कदम चाल्न देउवाको अनुरोध छ। यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले तराई–मधेशमा देखिएको समस्याबारे सरकारलाई निर्देशन दिने बताएका छन् ।
मधेशकेन्द्रित दलहरूसँगको छलफलमा सभापति लामिछानेले यस्तो बताएका हुन् । ‘सभापतिलाई भेटेर ध्यानाकर्षण गराएका छौँ । सरकार संवेदनहीन भएर काम गरिरहेको छ । गैरजिम्मेवार ढंगले काम गरेको छ । मधेश जल्दा पनि प्रधानमन्त्रीलाई बोल्ने फुर्सद भएन ।
गृहमन्त्रीलाई हेर्ने फुर्सद भएन भन्ने हाम्रो कुरा रह्यो,’ नेता राजेन्द्र महतोले भने, ‘सभापति लामिछानेले सरकारलाई आवश्यक निर्देशन दिन्छु भन्नुभएको छ । यो देशमा सरकारले न्याय दिन्छ र साम्प्रदायिक सद्भाव कायम गराउन आवश्यक निर्देशन दिन्छु भन्नुभएको छ ।’
छलफलपछि जनमत पार्टीका नेता सिके राउतले पनि द्वन्द्व चर्किन नदिन आफूहरूले सरकारलाई आवश्यक सुझाव दिएको जानकारी दिए । मधेशमा देखिएको द्वन्द्व थप चर्किएर नजाओस् भनेर सुझाव दिएका छौँ । उहाँले सकारात्मक पहल गर्दै छलफल गर्नुभयो ।
के–कस्ता कदम चाल्ने भन्नेबारे सुझाव पनि लिनुभयो । सरकारले समयमा काम नगर्दा पाँच दिनसम्म लास उठेन । जबकि यी काम समयमै हुनुपर्ने थियो,’ राउतले भने । सभापति लामिछानेले स्थानीय सामाजिक अवस्थालाई बुझेर सद्भाव कायम गर्न सहयोग गर्न आग्रह गरेको राउतले जानकारी दिए ।
उनले थपे, ‘सभापतिले तराई–मधेशमा विभिन्न दल सक्रिय छन्, तपाईंहरूको पनि राम्रो पकड छ । तपाईंहरूले सक्ने भूमिका खेल्नुस् भन्नुभएको छ । त्यहाँको सामाजिक आयाम (डाइमेन्सन) बुझेर आवश्यक सद्भाव कायम गर्ने काम गर्नुस् भन्नुभएको छ । सरकारका तर्फबाट गर्नुपर्ने काम हामी गर्छौँ भन्नुभएको छ ।’
लामिछानेलाई मधेशकेन्द्रित दलहरूले समयमा प्रधानमन्त्रीले अग्रसरता नलिएको र गृहमन्त्रीको शंकास्पद गतिविधिले स्थिति थप तनावग्रस्त बनेको भन्दै संयुक्त विज्ञप्ति बुझाएका थिए ।
सुनसरी घटनाको असर मधेस प्रदेशका सिरहा, सप्तरी, जनकपुर र वीरगन्जमा देखिएको छ । सुनसरीसहित सिरहा, सप्तरी, जनकपुरमा कफ्र्यु आदेश जारी छ भने वीरगन्जमा निषेधाज्ञा लगाइएको छ ।




