२८ वैशाख , काठमाण्डौ।
युद्ध अन्त्यका लागि अमेरिकाले पठाएको १४ बुँदे प्रस्तावमा इरानले जवाफ फर्काएको छ । तर यस पटक पनि डोनाल्ड ट्रम्पले त्यसलाई अस्वीकार गरेका छन् । अमेरिकी राष्ट्रपतिले आफ्नो शान्ति प्रस्तावमा इरानले दिएको जवाफ पूर्ण रूपमा अस्वीकार्य रहेको बताएका छन् ।
यद्यपि, ट्रम्पले इरानको जवाफमा के थियो भन्ने बताएका छैनन् । इरानी सञ्चारमाध्यमका अनुसार, इरानले जवाफमा केही मुख्य सर्तहरू राखेको छ । तीमध्ये अमेरिकाले लगाएको प्रतिबन्ध हटाउन वार्ता हुनुपर्ने, इरानी बन्दरगाहहरूमा लगाइएको नौसैनिक नाकाबन्दी अन्त्य हुनुपर्ने तथा भविष्यमा हुन सक्ने आक्रमणविरुद्ध सुरक्षाको प्रत्याभूति दिइनुपर्ने माग इरानको छ ।
इरानी अधिकारीहरूले पनि मध्यस्थकर्तामार्फत पठाइएको अमेरिकी प्रस्तावमा इरानको जवाफको विवरण आधिकारिक रूपमा सार्वजनिक गरिसकेका छैनन् । तर एक इरानी अधिकारीले तेहरानको जवाफ यथार्थपरक र सकारात्मक रहेको दाबी गरेको अल जजिराले उल्लेख गरेको छ ।
उक्त जवाफ सम्पूर्ण क्षेत्र, विशेष गरी लेबनानमा युद्ध अन्त्य गर्ने तथा अमेरिकासँग रहेका मतभेद समाधान गर्ने विषयमा केन्द्रित रहेको उनको भनाइ छ । होर्मुज जलमार्ग, आणविक कार्यक्रम तथा प्रतिबन्धहरूको पूर्ण खारेजीसम्बन्धी वार्ताहरू समावेश रहेको उनको भनाइ छ ।
इरानले सबै प्रकारका प्रतिबन्ध हटाउन स्पष्ट तथा ग्यारेन्टीसहितको संयन्त्र आवश्यक रहेको विषयमा विशेष जोड दिएको उनले जनाएको छ । अमेरिकासँग हुन सक्ने सम्झौताको कार्यान्वयनका लागि अन्तर्राष्ट्रिय ग्यारेन्टी हुनुपर्ने आवश्यकता इरानले औँल्याएको छ ।
देशको सर्वोच्च हित तथा क्षेत्रीय देशहरूसँग गरिएको परामर्शको निष्कर्षका आधारमा इरानले उक्त जवाफ पठाएको उनको भनाइ छ । इरानको सरकारी सञ्चारमाध्यम आईआरआईबीले युद्ध अन्त्यका लागि अमेरिकाले अघि सारेको प्रस्तावमा इरानले दिएको जवाफलाई ट्रम्पले अस्वीकार गरेको विषयमा कडा टिप्पणी गरेको छ ।
आफ्नो टेलिग्राम च्यानलमार्फत जारी विज्ञप्तिमा आईआरआईबीले भनेको छ, “अमेरिकी योजनाको अर्थ ट्रम्पको स्वार्थसामु इरानले आत्मसमर्पण गर्नु हो ।” इरानले आफ्नो जवाफमा राष्ट्रको मौलिक अधिकारमा जोड दिएको बताइएको छ। इरानको पछिल्लो प्रस्तावमा अमेरिकाले युद्धबाट भएको क्षतिको क्षतिपूर्ति तिर्नुपर्ने तथा होर्मुज जलमार्गमा इरानको सार्वभौमसत्ता स्वीकार्नुपर्ने उल्लेख छ ।
अमेरिका र इजरायली आक्रमणको क्षतिपूर्तिका लागि करिब २७० अर्ब डलर माग गरेको छ । त्यस्तै, प्रतिबन्ध अन्त्य गरिनुपर्ने तथा जफत गरिएको कोष र सम्पत्तिहरू फुकुवा गर्नुपर्ने माग इरानको छ । इरानी अधिकारीहरूले दीर्घकालीन सम्झौताका लागि प्रतिबन्ध हटाइनुपर्ने र विभिन्न देशमा रोक्का गरिएको करिब २० अर्ब डलर बराबरको सम्पत्ति फुकुवा गरिनुपर्ने माग गरेका छन् ।
यसले वार्ताको वातावरण तनावपूर्ण बनेको र दुवै पक्ष अडानमा अडिग रहेको संकेत गरेको छ । दुवै पक्षले आफ्नो प्रस्तावको पूर्ण पाठ सार्वजनिक गरेका छैनन् । लेबनानको हिजबुल्लाह र गाजाको हमासहरूलाई दिँदै आएको समर्थन इरानले बन्द गरोस् भन्ने अमेरिकाले चाहेको छ । साथै इरानले आफ्नो ब्यालिस्टिक मिसाइल कार्यक्रममा रोक लगाओस् भन्ने अमेरिकी चाहना छ ।
इरानले आफ्नो आणविक कार्यक्रम पूर्ण रूपमा बन्द गरोस् भन्ने अमेरिकाको चाहना छ । तेहरानले भने यस्तो कुनै पनि प्रतिबन्ध निश्चित अवधिका लागि मात्र हुनुपर्ने, स्थायी हुन नहुने अडान राखेको छ । इरानसँग हाल ४०० केजी ‘हाइली–इनरिच्ड’ अर्थात् अत्यधिक सम्वर्धित युरेनियम रहेको बताइएको छ ।
उक्त भण्डार अमेरिकाको नियन्त्रणमा सुम्पिनुपर्ने माग ट्रम्प प्रशासनको छ । इरानले भने यसलाई ठाडै अस्वीकार गरेको छ । इरानले होर्मुज जलमार्गमा औपचारिक रूपमा आफ्नो नियन्त्रण राख्न चाहन्छ । त्यहाँबाट जाने जहाजहरूसँग ‘ट्रान्जिट शुल्क’ लिने योजनामा इरान रहेको बताइएको छ । साथै, इरानी बन्दरगाहहरूमा लगाइएको अमेरिकी नाकाबन्दी हटाइनुपर्ने उसको प्रमुख सर्त रहेको छ ।
ट्रम्पले भने कुनै सम्झौता नभएसम्म नाकाबन्दी यथावत रहने बताएका छन् । यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इरान युद्ध र अन्य महत्त्वपूर्ण विषयमा छलफल गर्न बुधबार साँझ बेइजिङ पुग्दैछन् । उनले त्यहाँ चिनियाँ समकक्षी सी जिनपिङसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको छ ।
ह्वाइट हाउसकी प्रमुख उप–प्रेस सचिव अन्ना केलीका अनुसार बिहीबार बिहान उद्घाटन समारोह र मुख्य बैठक हुनेछ भने ट्रम्पको यो भ्रमण शुक्रबार समापन हुनेछ। अमेरिकाले यसै वर्षको अन्त्यतिर चिनियाँ नेता सीलाई पनि आफ्नो देशमा स्वागत गर्ने योजना बनाएको छ ।
केलीले यस हप्ताको भ्रमणको ठुलो प्रतीकात्मक महत्व रहेको बताउँदै चीनसँगको सम्बन्धलाई सन्तुलनमा ल्याउने, पारस्परिकता र निष्पक्षतालाई प्राथमिकता दिने तथा अमेरिकी आर्थिक स्वतन्त्रतालाई पुनः स्थापना गर्ने कुरामा केन्द्रित हुने उल्लेख गरेकी छन्।
यसअघि वर्षको सुरुमै हुने भनिएको यो भ्रमण अमेरिका–इजरायलले इरानमाथि गरेको युद्धका कारण मार्च महिनामा स्थगित भएको थियो। हाल ट्रम्प स्वदेश र विदेशमा यो युद्धको असर कम गर्न संघर्ष गरिरहेका छन् । एक वरिष्ठ प्रशासनिक अधिकारीले नाम नखुलाउने सर्तमा आइतबार दिएको जानकारी अनुसार ट्रम्पले इरानको तेल बिक्री र सैन्य–नागरिक दुवै प्रयोजनमा आउने सामानको खरिदका विषयमा चीनमाथि दबाब दिन सक्नेछन् ।
गत हप्ता अमेरिकी ट्रेजरी सचिव स्कट बेसेन्टले फक्स न्युजसँग बोल्दै चीनले इरानलाई आर्थिक सहयोग गरिरहेको आरोप लगाएका थिए। उनले इरान आतंकवादको सबैभन्दा ठूलो प्रायोजक भएको र चीनले उसको ९० प्रतिशत ऊर्जा खरिद गरेर त्यसलाई सहयोग पु¥याइरहेको दाबी गरेका छन् ।
इरानले अमेरिका र इजरायली आक्रमणको जवाफमा विश्वव्यापी ऊर्जा ढुवानीको प्रमुख मार्ग स्ट्रेट अफ होर्मुज बन्द गरेको छ, जसका कारण विश्व अर्थतन्त्रमा असर परेको छ। विशेष गरी पश्चिम एसियाबाट हुने आयातमा निर्भर रहेका एसियाली देशहरू यसबाट नराम्ररी प्रभावित भएका छन् ।
चीनले भने युद्धको अन्त्य चाहेको बताएको छ र गत हप्ता इरानी विदेशमन्त्री अब्बास अराघ्चीलाई स्वागत समेत गरेको थियो। साथै बेइजिङले इरानको तेल क्षेत्रमा वासिङ्टनले लगाएको एकपक्षीय प्रतिबन्धलाई मान्यता दिन अस्वीकार गर्दै आएको छ । वार्ताका क्रममा ट्रम्पले रुसलाई चीनले गरिरहेको समर्थन, व्यापार र दुर्लभ खनिज पदार्थको विषय पनि उठाउन सक्नेछन्।
अमेरिकी प्रतिनिधिमण्डलसँगै बोइङ र केही कृषि कम्पनीका प्रमुख कार्यकारीहरू पनि चीन जाँदैछन् । ताइवानको विषयमा भने अमेरिकाको अडानमा कुनै परिवर्तन नहुने बताइएको छ। चीनले ताइवानलाई आफ्नो भूभाग मान्दै आए पनि अमेरिकाको त्यहाँ गहिरो सुरक्षा र आर्थिक प्रतिबद्धता रहेको छ ।



