मध्यपूर्व तनाव:  अमेरिका–इरान रणनीतिक गतिरोधमा

१६ साउन , काठमाण्डौ ।

Advertisement

मध्यपूर्वमा जारी सैन्य द्वन्द्व र बढ्दो भूराजनीतिक तनावका बिच अमेरिका र इरान रणनीतिक रूपमा गतिरोधको अवस्थामा पुगेका छन्।

अर्कोतर्फ यमनको हुथी समूह, साउदी अरब र बेलायतले यस क्षेत्रको सुरक्षा, व्यापारिक मार्गको आवागमन र गाजा युद्धका विषयमा आ(आफ्ना नयाँ अडानहरू सार्वजनिक गर्दै कूटनीतिक कसरतलाई तीव्र बनाएका छन्।

Advertisement

सुफान सेन्टरका फेलो तथा अमेरिकी कंग्रेसका पूर्व विश्लेषक केनेथ काट्जम्यानका अनुसार, इरानसँगको जारी द्वन्द्वमा अमेरिका हाल एक गम्भीर रणनीतिक गतिरोधमा फसेको छ।

उनका अनुसार वासिङ्टनसामु अब दुईवटा मात्र विकल्पहरू बाँकी देखिएका छन्। अमेरिकाले कि त इरानविरुद्धको आफ्नो सैन्य अभियानलाई थप तीव्र र आक्रामक बनाउनुपर्नेछ, कि त विश्वकै सबैभन्दा महत्त्वपूर्ण व्यापारिक मार्गमध्येको एक स्ट्रेट अफ होर्मुजुमाथि इरानको बढ्दो नियन्त्रणलाई रोक्न नसकिने यथार्थलाई स्वीकार गर्नुपर्नेछ।

Advertisement

यसैबिच, लाल सागरमा व्यापारिक जहाजहरूमाथि आक्रमण गर्दै आएको यमनको हुथी समूहले पानीजहाजसँग शुल्क असुल्ने विषयलाई भने अस्वीकार गरेको छ।

हुथी समूहको नियन्त्रणमा रहेको मानवीय सञ्चालन समन्वय केन्द्रले बाब अल(मन्देब जलडमरूमध्य हुँदै जाने व्यावसायिक पानीजहाजहरूसँग कुनै पनि प्रकारको शुल्क लिने योजना नरहेको र पारवहन पूर्ण रूपमा निःशुल्क रहेको स्पष्ट पारेको छ।

समूहले आफ्नो तर्फबाट घोषित प्रतिबन्धको दायराबाहिर रहेका (अमेरिका, बेलायत र इजरायलसँग नजोडिएका) सबै अन्तर्राष्ट्रिय व्यावसायिक जहाजहरू यस मार्गबाट सुरक्षित रूपमा आवतजावत गर्न सक्ने जनाएको छ।

उता साउदी अरबले गाजामा जारी इजरायली सैन्य कारबाही र युद्धलाई पूर्ण रूपमा अन्त्य गर्ने उद्देश्यसहित तयार पारिएको शान्ति सम्झौताको मस्यौदालाई स्वागत गरेको छ।

यस क्षेत्रमा दीर्घकालीन शान्ति स्थापनाका लागि साउदीले गाजा क्षेत्रबाट इजरायली सेना पूर्ण रूपमा फिर्ता हुनुपर्ने, शान्ति कायम गर्न अन्तर्राष्ट्रिय स्थिरीकरण बल परिचालन गर्नुपर्ने, नागरिकलाई मानवीय सहायताको निरन्तर आपूर्ति हुनुपर्ने र युद्धग्रस्त क्षेत्रको पुनर्निर्माणमा अन्तर्राष्ट्रिय सहयोग हुनुपर्ने कुरामा जोड दिएको छ।

यस क्षेत्रको तनावमा इरान र बेलायतबिचको कूटनीतिक टकराव पनि थपिएको छ। इरानी विदेशमन्त्री अब्बास अराघ्चीले बेलायती विदेशमन्त्री एड मिलिब्यान्डसँगको टेलिफोन वार्तामा बेलायतले इरानको ‘इस्लामिक रिभोलुसनरी गार्ड्स कर्प्स’ (आईआरजीसी) लाई राज्यका लागि खतरा घोषणा गरेको निर्णयको कडा आलोचना गरेका छन्।

मध्यपूर्वमा देखिएको क्षेत्रीय अस्थिरताको मुख्य कारण इरानमाथि अमेरिका र इजरायलले गरिरहेको आक्रमण रहेको दाबी गर्दै विदेशमन्त्री अराघ्चीले इरानले विगतका सम्झौताहरूमा इमानदारीपूर्वक कूटनीतिक पहल गरिरहेको जिकिर गरे।

स्ट्रेट अफ होर्मुजमा पानीजहाजको सुरक्षित आवागमन व्यवस्थापन गर्न छिमेकी राष्ट्र ओमानसँग मिलेर एउटा नयाँ संयन्त्र निर्माण गर्ने तयारीमा इरान रहेको अराघ्चीले जानकारी दिएका छन्।

साथै, उनले इरानविरुद्ध आक्रमण गर्नका लागि कुनै पनि देशले आफ्नो भूभाग वा स्रोतसाधन प्रयोग गर्न दिएमा त्यसलाई अन्तर्राष्ट्रिय कानुनअनुसार इरानमाथिको प्रत्यक्ष आक्रमण मानिने र त्यस अवस्थामा इरानलाई आफ्नो आत्मरक्षाको पूर्ण अधिकार हुने कडा चेतावनीसमेत दिएका छन्।

इरानी विदेशमन्त्रीको उक्त चेतावनीको जवाफमा बेलायती विदेशमन्त्री मिलिब्यान्डले बेलायत इरानविरुद्धको कुनै पनि युद्ध वा सैन्य कारबाहीमा सहभागी नरहेको स्पष्ट पारेका छन्।

क्षेत्रीय तनावलाई घटाउन कूटनीतिक प्रयासहरूप्रति बेलायत पूर्ण रूपमा प्रतिबद्ध रहेको भन्दै उनले संवादमार्फत नै समस्याको समाधान खोज्नुपर्नेमा जोड दिएका छन्।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top