१६ साउन , काठमाण्डौ ।
विश्व फुटबलको सर्वोच्च निकाय फिफाले आफ्नो व्यावसायिक संरचनाको केही हिस्सा बाह्य लगानीकर्तालाई बेच्ने विवादास्पद प्रस्ताव अन्ततः फिर्ता लिएको छ। सदस्य राष्ट्रका फुटबल संघहरू, विशेषगरी युरोप र एसियाबाट तीव्र विरोध भएपछि फिफा अध्यक्ष जियानी इन्फान्टिनोले उक्त योजना अघि नबढाउने निर्णय गरेका हुन्।
फिफाले विश्वकपसहित आफ्ना प्रमुख प्रतियोगिताहरू सञ्चालन गर्ने गरी एउटा नयाँ कम्पनी स्थापना गर्ने र त्यसको करिब २० प्रतिशत हिस्सा बिक्री गरेर ४।२ अर्ब अमेरिकी डलर जुटाउने योजना अघि सारेको थियो। उक्त योजनाअनुसार नयाँ कम्पनीको समग्र मूल्यांकन करिब २० अर्ब डलर हुने अनुमान गरिएको थियो।

यस निजी लगानी योजनामा अमेरिकी लगानी कम्पनी ‘थ्राइभ क्यापिटल’का संस्थापक जोशुवा कुशनर नेतृत्वको लगानी समूह सहभागी हुने अपेक्षा गरिएको थियो। जोशुवा पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँ जारेड कुशनरका दाजु हुन्।
यद्यपि, ट्रम्पले शुक्रबार फिफाको लगानी योजनाबारे इन्फान्टिनोसँग आफ्नो कुनै छलफल नभएको स्पष्ट पारेका छन्। प्रस्ताव सार्वजनिक भएलगत्तै युरोपेली फुटबल महासंघ (यूईएफए)ले यसलाई ‘गोप्य रूपमा तयार पारिएको, गैरजिम्मेवार र अस्वीकार्य’ भन्दै कडा विरोध जनाएको थियो।
यूईएफएले फिफाले ‘फुटबलको आत्मा नै बिक्री गर्न खोजेको’ आरोप लगाउँदै फिफालाई बहिष्कार गर्नेसम्मको चेतावनी दिएको थियो। त्यसैगरी, इन्फान्टिनोका महत्त्वपूर्ण समर्थक मानिएको एसियाली फुटबल महासंघ ९एएफसी० ले पनि यो निर्णय प्रक्रियामाथि गम्भीर प्रश्न उठाएको छ।
एएफसीका अध्यक्ष शेख सलमान बिन इब्राहिम अल खलिफाले फिफाको योजना पूर्ण रूपमा अस्वीकार्य रहेको बताउँदै, यस्तो एकपक्षीय कदमले महादेशीय फुटबलको सहकार्य, पारदर्शिता र एकतालाई कमजोर बनाएको टिप्पणी गरे।
चौतर्फी दबाबपछि शुक्रबार राति एक विज्ञप्ति जारी गर्दै अध्यक्ष इन्फान्टिनोले योजना रद्द गरिएको घोषणा गरे। ूसबै पक्षको धारणा ध्यानपूर्वक सुनेपछि यो योजनाले आवश्यकताभन्दा बढी विभाजन सिर्जना गर्ने स्पष्ट भएको छ, इन्फान्टिनोले भनेका छन्, हाम्रो उद्देश्य सधैं फुटबललाई एकताबद्ध र थप सशक्त बनाउने हो। त्यसैले यो प्रस्ताव अब अघि बढाइने छैन।
तर, यस विवादास्पद प्रस्तावले फिफाभित्र ठुलो तरङ्ग ल्याइसकेको छ। प्रस्ताव फिर्ता हुनुअघि नै इन्फान्टिनोका वरिष्ठ सल्लाहकार कार्लोस कोर्डेरोले यसलाई ‘फुटबलका लागि खराब सम्झौता’ भन्दै तत्काल लागू हुनेगरी पदबाट राजीनामा दिएका छन्।
त्यस्तै, फिफाका प्रमुख सञ्चालन अधिकृत ९सीओओ० केभिन लामोरले यो योजनालाई ‘एक व्यक्तिको परियोजना’ भन्दै कर्मचारीहरूलाई समेत भ्रममा राखिएको आरोप लगाएका छन्। पछिल्लो समय इन्फान्टिनोको कार्यशैलीलाई लिएर विभिन्न विवादहरू उब्जिएका छन्।
बेलायती प्रधानमन्त्री एन्डी बर्नहमले त इन्फान्टिनो फिफाको नेतृत्वका लागि उपयुक्त व्यक्ति नै नभएको टिप्पणी गरेका छन्। यसअघि पनि अमेरिकी राष्ट्रपति ट्रम्पसँगको निकटताका कारण उनी आलोचित भएका थिए।
ट्रम्पले अमेरिकी खेलाडी फोलारिन बालोगुनलाई देखाइएको रातो कार्डबारे इन्फान्टिनोलाई फोन गरेको सार्वजनिक रूपमै बताएका थिए। त्यसलगत्तै उक्त निर्णय एक वर्षका लागि स्थगित गरिनु र बालोगुनले अर्को खेल खेल्न पाउनुले फिफाको निष्पक्षतामाथि प्रश्न उठाएको थियो।
सन् २०१६ मा सेप ब्लाटरपछि नेतृत्व सम्हालेका इन्फान्टिनो सन् २०३१ सम्मका लागि आफ्नो अन्तिम कार्यकाल सुनिश्चित गर्न आगामी मार्च १८ मा मोरक्कोमा हुने निर्वाचन लड्ने तयारीमा छन्।
यसअघि सन् २०१९ र २०२३ मा निर्विरोध निर्वाचित भएका उनी यसपटक पनि निर्विरोध हुने अनुमान गरिएको थियो। तर पछिल्लो विवादले उनको बाटो कठिन बनाएको छ।अलजजिराका अनुसार, अब उत्तरी अमेरिकी फुटबल महासंघ (कन्काकाफ) का अध्यक्ष भिक्टर मोन्टाग्लियानीलाई आगामी निर्वाचनमा इन्फान्टिनोको सम्भावित प्रतिस्पर्धीका रूपमा हेरिएको छ।
फिफा अध्यक्ष पदका इच्छुक उम्मेदवारले नोभेम्बर १८ भित्र उम्मेदवारी घोषणा गरिसक्नुपर्नेछ। निर्वाचनमा फिफाका २११ सदस्य राष्ट्रले मतदान गर्नेछन्। फिफाको विधानअनुसार एक व्यक्ति अधिकतम तीन कार्यकाल ९सामान्यतः १२ वर्ष० सम्म मात्र अध्यक्ष निर्वाचित हुन पाउँछ।




