१८ साउन , काठमाण्डौ ।
यतिबेला युरोपदेखि अमेरिकासम्म नै डढेलोले सर्वसाधारणका साथै सरकारहरुको पनि टाउको दुखाईदिएको छ । विभिन्न देशमा हप्तौदेखि जारी डढेलो अझै नियन्त्रणमा आउन नसक्दा र थप क्षेत्रमा विस्तार हुँदा हजारौं मानिसहरुलाई स्थानान्तरण गर्नुपर्ने भएको छ ।
यसैबीच ग्रीसमा डढेलोकै प्रकोपकाबीच दुई हेलिकप्टरसमेत दुर्घटनामा परेका छन् । डढेलो नियन्त्रण गर्ने क्रममा दुईवटा अग्निनियन्त्रण हेलिकप्टर आकाशमै आपसमा ठोक्किँदा दुई जनाको मृत्युसमेत भएको छ ।

दुर्घटनामा डेनमार्कका एक पाइलट र ग्रीसका अग्नि सेवा समन्वय अधिकारीको ज्यान गएको हो । अर्को हेलिकप्टरमा रहेका एक बेलायती पाइलट र एक ग्रीक समन्वय अधिकारी भने सामान्य घाइते भई सकुशल बाँच्न सफल भएका छन् ।
राजधानी एथेन्सबाट करिब ६५ किलोमिटर पश्चिममा पर्ने अटिका–बोयोटिया सीमामा लागेको ठूलो डढेलो निभाउने क्रममा आइतबार उक्त दुर्घटना भएको हो । अस्ट्रेलियाको म्याकडर्मोट एभिएसन कम्पनीबाट भाडामा लिइएका दुईवटा बेल हेलिकप्टर आपसमा ठोक्किएका थिए ।
दुर्घटनाको भिडियोमा एउटा बेल हेलिकप्टर अर्को हेलिकप्टरको रोटरमा ठोक्किएको देखिन्छ। त्यसपछि एउटा हेलिकप्टरमा आगलागी भई खोंचमा खसेको थियो भने अर्को हेलिकप्टरले आपतकालीन अवतरण गरेको थियो ।
जीवित बचेका दुई जनाले तुरुन्तै दुर्घटनाबारे जानकारी दिएका कारण उद्धार टोलीलाई दुर्घटनास्थल पत्ता लगाउन सहज भएको थियो। एउटा हेलिकप्टरका चालकदलका सदस्यहरूलाई जीवित उद्धार गरियो भने अर्कामा रहेका दुई सदस्यलाई अचेत अवस्थामा फेला पारी पछि मृत घोषणा गरियो ।
ग्रीसमा यस सातादेखि भीषण डढेलो फैलिएको छ । जसका कारण हजारौँ मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । लामो समयदेखि जारी अत्यधिक गर्मीका कारण युरोपका अन्य देशहरूमा पनि विनाशकारी डढेलो फैलिएको छ ।
ग्रीसका प्रधानमन्त्रीले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकका परिवारप्रति समवेदना प्रकट गरेका छन् । दुर्घटनापछि सुरक्षाका लागि देशभर सञ्चालनमा रहेका सबै बेल हेलिकप्टरहरूलाई अस्थायी रूपमा ग्राउन्ड गरिएको छ ।
एथेन्सबाट करिब ६० किलोमिटर उत्तरपश्चिम रहेको पोर्टो जर्मेनो क्षेत्रमा फैलिएको डढेलोले हालसम्म १०० भन्दा बढी घर ध्वस्त पारिसकेको छ । शक्तिशाली हावाका कारण आगो पहाड पार गर्दै भेनिजा बस्ती र सैन्य अभ्यास क्षेत्रमा पुगेपछि त्यहाँ रहेका विस्फोट नभएका गोला–बारुदमा समेत आगलागी भएको अधिकारीहरूले बताएका छन् ।
उद्धारकर्मीहरूले करिब ३० हजार जनसंख्या रहेको तटीय सहर मेगारातर्फ आगो फैलिन नदिन सबै प्रयास केन्द्रित गरेका छन्। पश्चिमी एटिकाका मेगारा नजिकका औद्योगिक क्षेत्रसहित धेरै बस्तीका बासिन्दालाई सुरक्षित स्थानमा जान आपत्कालीन सूचना जारी गरिएको छ ।
ग्रीसका प्रधानमन्त्रीले आइतबार सम्बोधन गर्दै प्रकृतिको शक्ति र मौसमको तीव्रताले कहिलेकाहीँ मानवीय योजना र सबै परिचालन क्षमतालाई नै चुनौती दिने भन्दै अहिलेको अवस्था अत्यन्त कठिन रहेको बताएका छन् ।
प्रारम्भिक अनुसन्धानले बोयोटिया क्षेत्रमा सुरु भएको आगो निजी विद्युत् प्रसारण लाइन सर्ट हुँदा लागेको हुन सक्ने देखाएको छ। उक्त लाइनले हावाबाट उत्पादन भएको बिजुली राष्ट्रिय ग्रिडमा पठाउने काम गर्दै आएको थियो ।
उता स्पेनको मध्य क्षेत्रमा गत सातादेखि फैलिएका भीषण डढेलो अधिकांश स्थानमा नियन्त्रणमा आइसके पनि केही क्षेत्रमा पुनः आगो बलिरहेको छ । पश्चिमी कासेरेस प्रान्तमा शनिबार लागेको जंगलको आगोका कारण करिब ८०० जनालाई सुरक्षित स्थानमा सारिएको थियो। आइतबार उनीहरूलाई घर फर्कन अनुमति दिइए पनि आगो पूर्ण रूपमा नियन्त्रणमा नआएकाले घरभित्रै बस्न निर्देशन दिइएको छ ।
डढेलोसँगै युरोपका धेरै देश अहिले खडेरीको संकटसँग पनि जुधिरहेका छन् । राइन र ड्यान्युबजस्ता प्रमुख नदीहरूको जलस्तर ऐतिहासिक रूपमा घटेको छ ।
हंगेरीमा ड्यान्युब नदीको पानी चार दशकयताकै सबैभन्दा कम भएपछि देशको एकमात्र आणविक विद्युत् केन्द्र पहिलो पटक बन्द गर्नुपरेको प्रधानमन्त्री पिटर माज्यारले बताएका छन्। उनका अनुसार आगामी पाँच दिन हंगेरीका लागि अत्यन्त चुनौतीपूर्ण हुनेछन् ।
कम वर्षाका कारण ड्यान्युब नदीको जलस्तर घट्दा हंगेरीमा जलयातायात र पर्यटन प्रभावित भएको छ भने १०० भन्दा बढी सहर तथा गाउँमा पानी प्रयोगमा प्रतिबन्ध लगाइएको छ।
सर्बियामा पनि ड्यान्युब नदी सन् १९८५ यताकै सबैभन्दा कम स्तरमा झरेपछि देशको सबैभन्दा ठूलो जलविद्युत् केन्द्रको दैनिक उत्पादन २० प्रतिशतमा सीमित भएको त्यहाँका ऊर्जा मन्त्रीले बताएका छन् ।
उता अमेरिकाको वासिङ्टन राज्यमा तीव्र गतिमा फैलिएको भीषण डढेलोले ठूलो विनाश मच्चाएको छ । स्पोकान काउन्टीमा मात्रै तीन ठूला डढेलोका कारण सयौँ संरचना ध्वस्त भएका छन् भने कम्तीमा ६० हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ ।
प्रारम्भिक विवरणअनुसार अहिलेसम्म आगलागीका कारण मृत्यु वा कोही गम्भीर घाइते भएको पुष्टि भएको छैन, तर क्षतिको पूर्ण मूल्यांकन हुन अझै समय लाग्ने अधिकारीहरूले बताएका छन् ।
राज्यभर भने १५ वटा ठूला डढेलोका कारण २ लाख ५० हजार एकडभन्दा बढी क्षेत्र जलेको छ। समाचार संस्था रोयटर्सका अनुसार यस गर्मीयाममा वासिङ्टनमा हालसम्म करिब ४ लाख ५० हजार एकड भूभाग डढेलोबाट प्रभावित भइसकेको छ।
राज्यका सार्वजनिक भूमि आयुक्त डेभ अप्टेग्रोभका अनुसार हजारौँ अग्निनियन्त्रक विभिन्न क्षेत्रमा आगो नियन्त्रणका लागि खटिएका छन्। डढेलो प्रभावित केही बासिन्दा सुरक्षित क्षेत्रबाट घर फर्किन थालेका छन्। तर, उनीहरूमध्ये कतिपयले आफूले वर्षौँ बिताएको घरको ठाउँमा जलेका भग्नावशेष र खरानी मात्रै भेटेका छन्।
स्पोकानको बाल्बोआ क्षेत्रमा ‘ओल्ड ट्रेल्स’ डढेलो तीव्र हावाको सहयोगमा स्पोकान नदी पार गर्दै बस्तीमा प्रवेश गरेपछि घरहरूको लामो पंक्ति ध्वस्त भएको छ। केही स्थानीय बासिन्दा जलेका संरचनाबाट काम लाग्न सक्ने वा बचेका सामान खोज्दै अझै तातो भग्नावशेषबीच पुगेका छन् ।
कतिपय परिवार भने आफ्ना घर सुरक्षित छन् कि छैनन् भन्ने जानकारीका लागि अझै प्रतीक्षामा छन्। अधिकारीहरूले प्रभावित क्षेत्र अझै असुरक्षित रहेकाले सबै बासिन्दालाई तत्काल घर फर्कन अनुमति दिन नसकिने बताएका छन् ।
ओल्ड ट्रेल्स डढेलोले स्पोकानका बस्तीलाई ठूलो जोखिममा पारेको छ। शनिबारसम्म यो आगो करिब ३ हजार एकड क्षेत्रमा फैलिएको र करिब ४ हजार संरचनालाई जोखिममा पारेको अधिकारीहरूले बताएका थिए।
यसकै कारण अस्पताल, पानी प्रशोधन केन्द्र र अन्य महत्त्वपूर्ण पूर्वाधारसमेत खाली गराउनुपरेको थियो । शनिबारको मौसम डढेलो तीव्र रूपमा फैलिन विशेष अनुकूल बनेको थियो।
अत्यन्त सुक्खा हावा र चिसो वायुको शक्तिशाली प्रभाव (कोल्ड फ्रन्ट) का कारण २० देखि ३० माइल प्रतिघण्टाको निरन्तर हावा तथा ४० माइल प्रतिघण्टाभन्दा बढीको झोक्का चलेको थियो ।
आइतबार हावाको गति केही कम भए पनि आगो फैलिने जोखिम कायम नै रह्यो। सोमबार भने मौसम केही अनुकूल हुने अनुमान गरिएको छ। तापक्रम करिब ८० डिग्री फरेनहाइट रहने र हावा हल्का हुने भएकाले अग्निनियन्त्रकलाई डढेलो नियन्त्रणको घेरा बलियो बनाउन केही सहज हुने अपेक्षा गरिएको छ ।
तर, यो राहत लामो समय टिक्ने छैन। मंगलबारदेखि तापक्रम फेरि बढ्ने र बुधबार तथा बिहीबार स्पोकानमा ९० डिग्री फरेनहाइटभन्दा माथि पुग्ने अनुमान छ। शुक्रबार फेरि हावा बढेमा तातो र अत्यन्त सुक्खा अवस्थासँग मिलेर डढेलो अझ फैलिन सक्ने चेतावनी दिइएको छ ।
डढेलोको धुवाँले स्पोकानको वायुको गुणस्तर अत्यन्त खराब बनाएको छ। आइतबार सहरको एयर क्वालिटी इन्डेक्स (एक्युआई) २०७ पुगेको थियो, जुन ‘अत्यन्त अस्वस्थकर’ तह हो।
डढेलोको धुवाँसँगै पश्चिमी प्रशान्त क्षेत्रमा बनेको तातो हावाको विशाल क्षेत्र अर्थात् ‘हिट डोम’ ले उच्च तापक्रम, स्थिर हावा र जमिननजिक ओजोन जम्मा हुने अवस्था सिर्जना गरेको छ ।
सोमबार हावाको दिशा परिवर्तन हुने भएकाले धुवाँ पूर्वी क्षेत्रबाट सियाटल र पोर्टल्यान्डतर्फ समेत पुग्न सक्ने मौसमविद्हरूले बताएका छन्। त्यसले संवेदनशील समूहका मानिसका लागि वायु गुणस्तर अस्वस्थकर बनाउन सक्छ ।
तापक्रम र धुवाँ दुवै बढेपछि एयर कन्डिसनर (एसी) वा वातानुकूलन सुविधा नभएका घरमा बस्ने मानिसका लागि अर्को समस्या देखिएको छ– गर्मीबाट बच्न झ्याल खोल्ने कि धुवाँ घरभित्र नछिरोस् भनेर बन्द गर्ने? यस्तो दोधारमा स्थानीय परेका छन्।
डढेलोका कारण विद्युत् आपूर्तिमा पनि ठूलो असर परेको छ। प्रारम्भमा ३० हजारभन्दा बढी मानिस विद्युत्विहीन भएका थिए भने आइतबारसम्म पनि १० हजारभन्दा बढी ग्राहकको विद्युत् आपूर्ति पुनःस्थापित हुन सकेको थिएन ।
आगोबाट विद्युत् संरचना तथा अन्य पूर्वाधारमा परेको क्षतिको मूल्यांकनसँगै मर्मत तथा पुनःस्थापनाको काम अघि बढाइएको छ । आगो नियन्त्रण र विस्थापितको व्यवस्थापनका लागि १०० भन्दा बढी नेसनल गार्डका सदस्य परिचालन गरिएको छ।
वासिङ्टनबाहेक एक दर्जनभन्दा बढी अमेरिकी राज्य तथा अस्ट्रेलियाबाट समेत अग्निनियन्त्रण टोली सहयोगका लागि पुगेका छन् । राज्यका गभर्नर बब फर्गुसनले आपत्कालीन अवस्था घोषणा गर्दै राज्यव्यापी आगो नियन्त्रणसम्बन्धी प्रतिबन्धसमेत जारी गरेका छन्।
संघीय आपत्कालीन व्यवस्थापन एजेन्सीबाट तत्काल राहत स्वीकृत हुने अपेक्षा गरिएको छ भने दीर्घकालीन पुनर्निर्माण सहयोगका लागि पनि राज्य सरकारले पहल गरिरहेको जनाएको छ ।
वासिङ्टनको यस वर्षको डढेलो संकटलाई केवल आकस्मिक प्राकृतिक विपत्तिका रूपमा मात्र हेरिएको छैन। राज्यका दीर्घकालीन वन व्यवस्थापनसम्बन्धी अध्ययनहरूले तातो हुँदै गएको जलवायु, लामो सुक्खा मौसम, वन क्षेत्रमा जम्मा भएको जल्न सक्ने पदार्थ र डढेलो जोखिम भएका क्षेत्रमा बढ्दो मानवीय बसोबासले जोखिम बढाइरहेको औँल्याएका छन्।
वासिङ्टनमा पछिल्ला वर्षहरूमा डढेलोको मौसम थप चुनौतीपूर्ण बनेको तथ्य सरकारी वन व्यवस्थापनसम्बन्धी प्रतिवेदनहरूले पनि देखाउँछन्। २०२५ को डढेलो मौसममा राज्यले अत्यधिक सुक्खा अवस्था, रेकर्ड गर्मी र ढिलो भएको चट्याङजन्य आगलागीका कारण व्यापक जोखिम सामना गरेको थियो ।
यस वर्ष भने संकट अझ ठूलो देखिएको छ। राज्यभर २ लाख ५० हजार एकडभन्दा बढी भूभागमा डढेलो फैलिनु, स्पोकानजस्ता घना बस्तीमा आगो पस्नु र हजारौँ मानिस विस्थापित हुनु पश्चिमी अमेरिकामा बढ्दो डढेलो संकटको गम्भीर संकेत बनेको छ।
रोयटर्सका अनुसार राज्यका अधिकारीहरूले वर्तमान अवस्था सामान्य नभएको बताएका छन् ।




