काठमाडौँ- काठमाडौं क्षेत्र नं। ३ का प्रतिनिधिसभा सदस्य राजुनाथ पाण्डेले गोकर्णेश्वर नगरपालिका–४ स्थित माकलबारी बस स्ट्यान्डदेखि देशे जाने सडकअन्तर्गत नेपाल ट्रस्टको स्वामित्वमा रहेको क्षेत्रको सडक विस्तारका क्रममा नेपाली सेनासँग कुनै विवाद नरहेको स्पष्ट पारेका छन्। सांसद पाण्डेले एक विज्ञप्ति जारी गर्दै सडक चौडा गर्ने उद्देश्यले पर्खाल हटाउने क्रममा सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा आएका विषयप्रति आफ्नो ध्यानाकर्षण भएको बताएका हुन् ।
उनले नेपाली सेना राष्ट्रको सार्वभौमिकता, राष्ट्रिय एकता, सुरक्षा र विपद्का अवस्थामा अग्रपङ्क्तिमा रहेर योगदान पुर्याउँदै आएको महत्वपूर्ण संस्था भएको उल्लेख गर्दै सेनाप्रति उच्च सम्मान रहेको बताए ।
सडक विस्तारका क्रममा सम्बन्धित नेपाली सेनाको टुकुडीलाई आवश्यक जानकारी पुग्न केही समय ढिलाइ हुँदा प्रारम्भिक रूपमा केही असहज अवस्था सिर्जना भएको भए पनि पछि नेपाली सेनाका प्रमुख सेनानीसँग समन्वय र छलफल गरी सेनाकै सहयोगमा काम सम्पन्न गरिएको उनले जानकारी दिएका छन् ।उक्त सडक विस्तार कार्य काठमाडौं उपत्यका विकास प्राधिकरण, अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति तथा पूर्वाधार विकास मन्त्रालयका प्रतिनिधिहरूको उपस्थितिमा सम्पन्न भएको सांसद पाण्डेको भनाइ छ।

उनले वास्तविकता नबुझी सामाजिक सञ्जाल वा सञ्चारमाध्यममार्फत भ्रम फैलाउने, राज्यका निकायबीच अनावश्यक विवाद सिर्जना गर्ने वा तथ्यभन्दा फरक निष्कर्ष प्रस्तुत गर्ने कार्य नगर्न आग्रह गरेका छन् ।
राष्ट्र निर्माण, विकास र जनसेवाको यात्रामा नेपाली सेना लगायत सबै राज्य संयन्त्रसँग सहकार्य, आपसी सम्मान र समन्वयलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता पनि सांसद पाण्डेले व्यक्त गरेका छन् ।
उक्त घटनाबारे सेना प्रमुखले समेत प्रधानमन्त्रीसँग भेट गरेको समाचार सार्वजनिक भएपछि पाण्डेले सार्वजनिक रूपमा स्पष्टीकरण दिएका हुन् ।
मंगलबार प्रधानसेनापति अशोकराज सिग्देलले प्रधानमन्त्री वालेन्द्र शाहसँग भेट गरेका थिए। शाह काठमाडौं महानगरपालिकाका प्रमुख हुँदा पाण्डे महानगर प्रहरी प्रमुखको जिम्मेवारीमा थिए। शाहले महानगर प्रमुखबाट राजीनामा दिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मार्फत संसदीय राजनीतिमा प्रवेश गर्ने घोषणा गरेसँगै पाण्डे पनि राजनीतिमा होमिएका थिए ।
पाण्डे काठमाडौं निर्वाचन क्षेत्र नं. ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् । सोही क्षेत्रमा नेपाली सेनाका एक अधिकारीसँग उनको विवाद भएको भिडियो सार्वजनिक भएपछि पाण्डेले प्रेस विज्ञप्तिमार्फत स्पष्टीकरण दिएका हुन्।





