काठमाडौं — स्पार्क हाइड्रोइलेक्ट्रिक कम्पनी लिमिटेडद्वारा संचालन गरेकाे १२८ मेगावाट क्षमताको तमोर–मेवा जलविद्युत् आयोजनाले निर्माणको महत्वपूर्ण उपलब्धि हासिल गरेको छ। आयोजनाको सुरुङ ब्लास्टिङ सम्पन्न भएसँगै मुख्य सुरुङ उत्खनन् कार्य औपचारिक रूपमा सुरु भएको छ भने आयोजना पूर्ण निर्माण चरणमा प्रवेश गरेको छ।
ताप्लेजुङको फुङ्लिङमा आयोजित विशेष समारोहबीच सुरुङ ब्लास्टिङ सम्पन्न गरिएको हो। कार्यक्रममा कम्पनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक सुदीपकुमार चौधरी, सञ्चालक समितिका सदस्य, फुङ्लिङ नगरपालिकाका उपप्रमुख, सम्बन्धित वडाका अध्यक्ष, स्थानीय जनप्रतिनिधि तथा आयोजनासँग सम्बन्धित विभिन्न निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
सुरुङ ब्लास्टिङसँगै आयोजनाका निर्माण गतिविधि थप तीव्र पारिएको कम्पनीले जनाएको छ। हाल मुख्य सुरुङ उत्खनन, पहुँचमार्ग स्तरोन्नति, निर्माणस्थलका पूर्वाधार, सिभिल संरचना निर्माण तथा अन्य प्राविधिक कार्यहरू एकसाथ सञ्चालन भइरहेका छन्। कम्पनीका अनुसार आयोजना निर्धारित कार्यतालिकाअनुसार अघि बढिरहेको छ र विभिन्न मोर्चामा निर्माण कार्य तीव्र गतिमा भइरहेको छ।


कार्यक्रमलाई सम्बोधन गर्दै कम्पनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक सुदीपकुमार चौधरीले सुरुङ ब्लास्टिङ आयोजनाको निर्माण यात्रामा महत्वपूर्ण उपलब्धि भएको उल्लेख गर्दै गुणस्तरीय निर्माण, सुरक्षा मापदण्डको पालना तथा वातावरणीय संरक्षणलाई प्राथमिकतामा राखेर आयोजना निर्धारित समयमै सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरे ।
आयोजनाको वित्तीय व्यवस्थापन सिद्धार्थ बैंक लिमिटेडको नेतृत्वमा रहेको बैंकिङ कन्सोर्टियममार्फत गरिएको छ भने माछापुच्छ्रे बैंक लिमिटेड सह–नेतृत्वकर्ता बैंकका रूपमा सहभागी रहेको छ। दुवै बैंकको वित्तीय सहकार्यले आयोजनाको निर्माण कार्यलाई गति दिन महत्वपूर्ण भूमिका खेलेको कम्पनीले जनाएको छ।
१२८ मेगावाट क्षमताको यो आयोजना सम्पन्न भएपछि राष्ट्रिय प्रसारण प्रणालीमा उल्लेखनीय मात्रामा स्वच्छ विद्युत् थपिने अपेक्षा गरिएको छ। यसबाट नेपालको ऊर्जा सुरक्षामा टेवा पुग्नुका साथै औद्योगिक विकास, आर्थिक गतिविधिको विस्तार तथा स्थानीय स्तरमा रोजगारी सिर्जना र पूर्वाधार विकासमा समेत सकारात्मक प्रभाव पर्ने विश्वास गरिएको छ।
स्पार्क हाइड्रोइलेक्ट्रिक कम्पनी लिमिटेडले आयोजनाका सम्पूर्ण निर्माण कार्य राष्ट्रिय कानुन, सुरक्षा मापदण्ड तथा वातावरणीय व्यवस्थापन प्रणालीअनुसार सञ्चालन भइरहेको जनाएको छ। साथै, स्थानीय समुदायसँगको सहकार्यलाई प्राथमिकतामा राख्दै आयोजना निर्धारित समयभित्र सम्पन्न गर्ने लक्ष्यका साथ निर्माण कार्यलाई थप तीव्रता दिइएको कम्पनीले जनाएको छ।







