२१ साउन , काठमाण्डौ ।
परराष्ट्र मन्त्रालयले नेपालको परराष्ट्र नीतिको दायरालाई अझ फराकिलो, वैज्ञानिक र प्रभावकारी बनाउने उद्देश्यले पहिलोपटक ‘मोफा नलेज फोरम’ को औपचारिक सुरुआत गरेको छ। सिंहदरबारस्थित मन्त्रालयमा आयोजित एक विशेष कार्यक्रमकाबीच परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा यस फोरमको थालनी गरिएको हो।
यस नवनिर्मित फोरमको पहिलो सत्रमा समसामयिक कूटनीति तथा विकासका विभिन्न आयामहरू समेट्दै तीनवटा महत्वपूर्ण कार्यपत्रहरू प्रस्तुत गरिएका थिए। पहिलो कार्यपत्रका रूपमा शगुनी सिंह शाक्यले ‘गिफ्ट आदानप्रदानमार्फत कूटनीतिक प्रवद्र्धन’ विषयक कार्यपत्र प्रस्तुत गरेका थिए ।

जसले अन्तर्राष्ट्रिय सम्बन्धमा उपहार तथा सांस्कृतिक आदानप्रदानले द्विपक्षीय सम्बन्ध प्रगाढ बनाउन खेल्ने भूमिकाबारे प्रकाश पारेको थियो। त्यस्तै, आवास पियाले ‘विकास सहायता’ सम्बन्धी अध्ययन तथा विश्लेषण प्रस्तुत गर्दै वैदेशिक सहायताका प्रभावकारिता र त्यसको रणनीतिक उपयोगका पक्षमा चर्चा गरेका थिए ।
यसबाहेक, डा. सन्तोष शर्मा पौडेलले ‘नेपालको कूटनीति’ को समग्र परिदृश्य, भूराजनीतिक अवस्थिति र भावी दिशानिर्देशबारे गहन कार्यपत्र प्रस्तुत गरेका थिए । प्रस्तुत गरिएका यी सबै कार्यपत्रहरूमाथि परराष्ट्रमन्त्री खनालसहित मन्त्रालयका वरिष्ठ अधिकारीहरू, सहसचिवहरू तथा अधिकृतहरूले गम्भीरतापूर्वक आफ्ना धारणा, जिज्ञासा र सुझावहरू राख्दै यसलाई थप परिष्कृत बनाउने दिशामा छलफल गरेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री शिशिर खनालले अनुसन्धानले ज्ञानको दायरा फराकिलो बनाउने र सोही ज्ञानले दिगो नीति निर्माणमा महत्वपूर्ण योगदान पु¥याउने स्पष्ट पारे । उनले मन्त्रालयको कार्यशैलीमा अबका दिनमा हुनुपर्ने रूपान्तरणबारे जोड दिँदै भने,“अब के हुनुपर्ने हो भन्ने विषय अत्यन्त महत्वपूर्ण हो। हामी आगामी पाँच वा १० वर्षमा नेपाललाई कहाँ र कसरी अघि बढाउँछौँ भन्ने दीर्घकालीन सोच हामीसँग हुनुपर्छ। यस्ता प्राज्ञिक तथा बौद्धिक छलफलहरूले हामीलाई सही दिशातर्फ अघि बढ्न मार्गनिर्देशन गर्नेछन्।”
मन्त्री खनालको यस भनाइले परराष्ट्र मन्त्रालय केवल प्रशासनिक काममा मात्र सीमित नरही अब दीर्घकालीन नीतिगत र अनुसन्धानमूलक सोचका साथ अघि बढ्न तत्पर रहेको स्पष्ट संकेत गरेको छ। ‘मोफा नलेज फोरम’ परराष्ट्रमन्त्री तथा मन्त्रालयका उच्च पदस्थ अधिकारीहरूले नेपालको परराष्ट्र नीतिको परिदृश्यलाई आकार दिन निरन्तर रूपमा भूमिका खेलिरहेका अनुसन्धानकर्ता, प्राज्ञिक व्यक्तित्व, थिङ्क ट्याङ्क तथा विषयविज्ञहरूसँग प्रत्यक्ष संवाद गर्ने एक नियमित मासिक कार्यक्रम हो।
मन्त्रालयले यस फोरममार्फत समेट्न खोजेका मुख्य उद्देश्यहरूलाई निकै व्यवस्थित ढङ्गले अगाडि बढाएको छ । बाह्य क्षेत्रमा भएका प्रमाणमा आधारित अनुसन्धान तथा अध्ययनहरूलाई मन्त्रालयको नीतिगत छलफलमा प्रत्यक्ष रूपमा समाहित गर्ने मुख्य लक्ष्य लिइएको छ।
यसले गर्दा कूटनीतिक निर्णयहरू अनुमानका भरमा नभई तथ्य र प्रमाणमा आधारित हुनपुग्छन्। यो फोरम केवल प्रकाशित सामग्रीहरूमा मात्र सीमित रहने छैन। यसले सम्बन्धित अध्ययन तथा प्रतिवेदन तयार पार्ने विज्ञहरूसँग मन्त्री र वरिष्ठ अधिकारीहरूको प्रत्यक्ष अन्तरक्रिया गराउने वातावरण सिर्जना गर्दछ, जसले गर्दा विचार र अनुभवको आदानप्रदान सहज रूपमा हुन सक्छ।
विभिन्न विषय तथा साझेदारहरूसँग सम्बन्धित नीतिगत कार्यमा आगामी दिनमा उपयोग गर्न सकिने गरी विज्ञहरूसँगको सहकार्यको भरपर्दो र व्यवस्थित अभिलेख तयार पार्ने उद्देश्य पनि यसमा समेटिएको छ। यसले भविष्यमा मन्त्रालयलाई नीतिगत निरन्तरता दिन र संस्थागत स्मृति कायम राख्न ठूलो मद्दत पुर्याउनेछ।
मन्त्रालयको नीति, योजना तथा अनुसन्धान महाशाखाका प्रमुख सहसचिव कौशल किशोर रायले यो फोरम अबदेखि नियमित रूपमा महिनामा एकपटक सञ्चालन हुने जानकारी दिएका छन। यस किसिमको अभ्यासले नेपालको कूटनीतिक क्षमता अभिवृद्धि गर्न, बाह्य सम्बन्धलाई राष्ट्रिय हितअनुकूल बनाउन र समसामयिक वैश्विक परिवर्तनहरूसँग नेपालको परराष्ट्र नीतिलाई समयसापेक्ष रूपमा अगाडि बढाउन दूरगामी प्रभाव पार्ने विश्वास गरिएको छ।
यद्यपि ‘मोफा नलेज फोरम’ नेपालका पूर्वपरराष्ट्र सचिव, पूर्वराजदूत, कूटनीतिज्ञ, परराष्ट्र मामिलाका विज्ञ तथा अनुसन्धानकर्ताहरूको एक बौद्धिक छलफल मञ्च हो। यो कुनै सरकारी निर्णय गर्ने निकाय होइन, बरु नेपालको परराष्ट्र नीतिसम्बन्धी विषयमा अध्ययन, अनुसन्धान, नीति सुझाव र बहस गर्ने स्वतन्त्र फोरमका रूपमा परिचित छ।
यसले अन्तर्राष्ट्रिय सम्बन्ध, क्षेत्रीय राजनीति, आर्थिक कूटनीति, सुरक्षा, जलवायु परिवर्तन तथा छिमेकी मुलुकसँगको सम्बन्धजस्ता विषयमा विचार–विमर्श गर्दै सरकारलाई सुझाव दिने काम गर्छ। नेपालको परराष्ट्र नीति भने संविधान, सरकार र परराष्ट्र मन्त्रालय मार्फत सञ्चालन हुन्छ।
सरकारको नेतृत्वमा मन्त्रिपरिषद्ले नीति तय गर्छ भने परराष्ट्र मन्त्रालयले त्यसको कार्यान्वयन गर्छ। त्यसैले ‘मोफा नलेज फोरम’ ले प्रत्यक्ष रूपमा नेपालको परराष्ट्र नीति सञ्चालन गर्दैन। यसको भूमिका सल्लाहकार र बौद्धिक मञ्चको मात्र हो।
फोरममा भएका छलफल, अध्ययन र सुझावले सरकारलाई नीति निर्माणमा सहयोग गर्न सक्छन्। विशेष गरी बदलिँदो अन्तर्राष्ट्रिय परिवेश, नेपाल–भारत–चीन सम्बन्ध, बहुपक्षीय कूटनीति, व्यापार, लगानी, ऊर्जा तथा सुरक्षा जस्ता विषयमा यसले नीति–निर्मातालाई वैकल्पिक दृष्टिकोण उपलब्ध गराउने प्रयास गर्छ।
यस्ता सुझाव स्वीकार गर्ने वा नगर्ने निर्णय भने पूर्ण रूपमा सरकारकै अधिकारभित्र पर्छ। यसको प्रभाव प्रत्यक्षभन्दा अप्रत्यक्ष हुन्छ। सरकार, कूटनीतिज्ञ, अनुसन्धानकर्ता र शैक्षिक क्षेत्रबीच संवाद बढाउन, नीतिगत बहसलाई तथ्यमा आधारित बनाउन तथा दीर्घकालीन परराष्ट्र रणनीतिबारे सार्वजनिक विमर्श विस्तार गर्न यसले योगदान पु¥याउन सक्छ। तर फोरमले दिएका सबै सुझाव सरकारी नीतिमा समावेश हुन्छन् भन्ने होइन।




