हसिनाको कन्फ्रेन्समा बसेपछि पूर्व कप्तानको घरमा पेट्रोल बम

२१ साउन , काठमाण्डौ ।

Advertisement

भारतमा २ वर्षदेखि निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधामन्त्री शेख हसिनाले मौनता तोड्दै बुधबार पहिलोपटक सार्वजनिक रूपमा भर्चुअल सम्बोधन गरेकी छन् । सम्बोधनका क्रममा उनले आफू आगामी डिसेम्बरमा स्वदेश फर्कने घोषणा गरेकी छन् ।

सन् २०२४ अगस्टमा बंगलादेश छाडेर भारतमा शरण लिन पुगेकी हसिनाले आफूलाई जेल हालिने वा मारिने डर नभएको दाबी गर्दै डिसेम्बरमा बंगलादेश फर्कने बताएकी हुन् । २५ मिनेट लामो भर्चुअल सम्बोधनका क्रममा सुरक्षा र कूटनीतिक संवेदनशीलताका कारण उनको क्यामेरा भने बन्द गरिएको थियो ।

Advertisement

सम्बोधनका क्रममा उनले भनिन्, ’मलाई थाहा छ उनीहरूले मलाई जेल हाल्न सक्छन् वा मार्न पनि सक्छन्, तर म डिसेम्बरमा बंगलादेश अवश्य फर्कनेछु । मलाई मृत्युदण्ड, झुटा मुद्दा र देखावटी सुनुवाइले डराउन सक्दैन । मविरुद्ध भइरहेका कानुनी कारबाही गैरकानुनी, असंवैधानिक र राजनीतिक रूपमा प्रेरित छन् ।’

हसिनाले आफूले स्वेच्छाले देश नछाडेको दाबीसमेत गरिन् । प्रदर्शनकारीहरू प्रधानमन्त्री निवासतर्फ अघि बढेपछि आफूसँग बाहिर निस्कनका लागि केवल ३० देखि ४० मिनेटको समय उपलब्ध भएको र सुरुमा आफू पैतृक गाउँ तुंगीपाडा जान चाहेको तर परिस्थितिका कारण देशै छाड्नुपर्ने अवस्था सिर्जना भएको उनले बताइन् ।

Advertisement

सम्बोधनका क्रममा हसिनाले वर्तमान सरकारमाथि गम्भीर आरोपहरू समेत लगाइन् । उनले आफ्नो दल अवामी लिगका नेता तथा कार्यकर्ताहरूको हत्या भइरहेको र उनीहरूलाई बेपत्ता पारिएको दाबी गरिन् । उनका अनुसार हालसम्म कम्तीमा १० हजार मानिस मारिएका वा बेपत्ता भएका छन् भने १० लाखभन्दा बढी मानिसमाथि अज्ञात अभियुक्त बनाएर मुद्दा दर्ता गरिएको छ ।

भर्चुअल कार्यक्रममा बंगलादेशका पूर्वस्टार क्रिकेटर शकिब अल हसनको पनि उपस्थिति रहेको थियो । हसिनाको यो सक्रियतालाई राजनीतिक वृत्तमा महत्त्वका साथ हेरिएको छ । विशेष गरी बंगलादेशको विशेष ट्रिब्युनलले उनलाई मानवता विरुद्धको अपराधमा अनुपस्थितिमा मृत्युदण्डको सजाय सुनाइसकेको र बंगलादेश सरकारले भारतसँग उनको सुपुर्दगी मागिरहेको सन्दर्भमा हसिनाको यो घोषणा आएको हो।

हसिनाले क्यामेरा बन्द राख्नुको मुख्य कारण उनको सुरक्षा व्यवस्था र लुकेको स्थान (सिक्रेट लोकेशन) गोप्य राख्नु रहेको बताइएको छ । साथै, भारत र बंगलादेशबिचको सम्बन्धमा पर्न सक्ने असरलाई ध्यानमा राख्दै उनले अडियो सम्बोधनलाई मात्र प्राथमिकता दिएको बुझिएको छ ।

भारत सरकारले यसअघि नै हसिनाको राजनीतिक गतिविधिलाई लिएर बंगलादेशको चासोलाई सम्बोधन गर्दै आएको छ । हसिनाले बंगलादेशी जनताको समर्थन आफ्नो लागि सबैभन्दा महत्त्वपूर्ण रहेको समेत उल्लेख गरिन् ।

शेख हसिनाको यस पत्रकार सम्मेलनप्रति बंगलादेश सरकारले आपत्ति जनाउँदै त्यसलाई रोक्न माग गरेको थियो। तर, भारतले यो निजी पत्रकार सम्मेलन भएको र यसमा भारतीय सरकारको कुनै भूमिका नरहेको स्पष्ट पारेको छ।  शेख हसिना विगत दुई वर्षदेखि भारतमा बस्दै आएकी छन्।

यस्तो अवस्थामा उनी बंगलादेशबाट भारत कसरी पुगिन् र त्यसबेला ढाकामा के भएको थियो भन्ने विषय फेरि चर्चामा आएको छ। विद्यार्थी आन्दोलनका कारण शेख हसिनाले सत्ता छाड्नुपरेको थियो र उनी देश छाडेर भारत पुगेकी थिइन्। पछि भने उक्त आन्दोलनको पछाडि अन्य शक्तिहरू पनि सक्रिय रहेको पुष्टि भएको बताइएको थियो।

तीमध्ये सबैभन्दा प्रभावशाली शक्ति शेख हसिनाका कट्टर राजनीतिक प्रतिद्वन्द्वी जमात–ए–इस्लामी बंगलादेश रहेको दाबी गरिएको छ, जसले धर्मका आधारमा देशभर जनतालाई उक्साएको आरोप लागेको थियो। यद्यपि, शेख हसिनाले देश छाड्ने निर्णय अचानक गरेकी भने थिइनन्।

उनी देश छाड्नुभन्दा केही दिनअघि नै बंगलादेशको राजनीतिक अवस्था तीव्र रूपमा परिवर्तन हुन थालेको थियो। सुरक्षा निकायको बदलिएको धारणा, सत्तारुढ अवामी लिग भित्रको असन्तुष्टि तथा सैन्य नेतृत्वको अन्तिम मूल्याङ्कनले त्यसमा महत्वपूर्ण भूमिका खेलेको बताइएको छ।

३ अगस्ट २०२४ मा सेना प्रमुख जनरल वाकर–उज–जमानले सेना मुख्यालयमा वरिष्ठ सैनिक अधिकारीहरूसँग बैठक गरेका थिए। उक्त बैठकमा कथित विद्यार्थी आन्दोलनबारे बंगलादेशी सेनाले आफ्नो रणनीति तय गरेको बताइएको छ। त्यसपछि ४ अगस्ट को रात अबेरसम्म प्रधानमन्त्रीको सरकारी निवास ‘गणभवन’ मा लगातार बैठकहरू बसेका थिए।

ती बैठकमा राजीनामा दिने, आपतकाल लागू गर्ने वा आन्दोलनलाई बल प्रयोग गरेर नियन्त्रण गर्ने विभिन्न विकल्पमाथि छलफल भएको थियो। तर समय बित्दै जाँदा सडकको अवस्था सरकारको नियन्त्रणभन्दा बाहिर जान थाल्यो।

अन्ततः ५ अगस्टको बिहान, सेनाबाट प्राप्त सन्देश, कानुन कार्यान्वयन गर्ने निकायहरूको वास्तविक क्षमताको मूल्याङ्कन तथा ढाकातर्फ बढिरहेको प्रदर्शनकारीहरूको भीडलाई ध्यानमा राख्दै शेख हसिनाले देश छाड्ने निर्णय गरेकी थिइन्।

विद्यार्थी आन्दोलन १ जुलाई २०२४ देखि शान्तिपूर्ण रूपमा सुरु भएको थियो। तर, आन्दोलन नियन्त्रण गर्न सरकारले बल प्रयोग गरेको, अन्धाधुन्ध गोली चलाएको तथा प्रदर्शनकारीको मृत्यु भएपछि अवस्था थप तनावपूर्ण बनेको थियो। त्यसपछि ठूलो सङ्ख्यामा सर्वसाधारण पनि आन्दोलनमा सहभागी हुन थालेका थिए।

यही पृष्ठभूमिमा सेना प्रमुख जनरल वाकर–उज–जमानले ३ अगस्ट मा वरिष्ठ सैनिक अधिकारीहरूको बैठक बोलाएका थिए। सो बैठकपछि नै शेख हसिनाको सत्तामाथिको पकड कमजोर हुन थालेको थियो। त्यसपछिका दुई दिनका घटनाक्रमले अन्ततः उनको सत्ता त्याग र देश छाड्ने अवस्थाको मार्ग तय गरेको बताइएको छ।

यता बंगलादेश राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा मगुरा–१ निर्वाचन क्षेत्रका पूर्वसांसद शाकिब अल हसनको ढाकास्थित घरमा पेट्रोल बम प्रहार गरी आगजनी गरिएको छ। उक्त घटना बुधबार राति करिब ८ः४५ बजे मगुरा सहरको केशवमोर क्षेत्रमा रहेको उनको पुख्र्यौली घरमा भएको हो।

घटनाका क्रममा घरमा तोडफोडसमेत गरिएको प्रहरीले जनाएको छ। शाकिबले सोही साँझ भारतको नयाँ दिल्लीस्थित फरेन करेस्पोन्डेन्ट्स क्लबमा आयोजित पूर्वप्रधानमन्त्री शेख हसिनाको पत्रकार सम्मेलनमा श्रीलंकाबाट भर्चुअल रूपमा सहभागिता जनाएका थिए।

मगुरा सदर प्रहरी कार्यालयका प्रमुख (ओसी) मोहम्मद अब्दुल्ला अल मामुनका अनुसार केही अज्ञात व्यक्तिले शाकिबको घरमा ढुंगा तथा इँटाका टुक्रा प्रहार गरी झ्यालहरू फुटाएका थिए। उनीहरूले घरमा आगो लगाएका थिए ।

ओसी मामुनले द डेली स्टारसँग कुरा गर्दै भने, “केही उपद्रवीले घरमा इँटा प्रहार गरी झ्याल फुटाए र आगो लगाउने प्रयास गरे। घटनाबारे अनुसन्धान भइरहेको छ। यो पेट्रोल बम नै थियो वा होइन भन्ने कुरा अनुसन्धानपछि मात्रै पुष्टि हुनेछ।”

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top