पुटिनको ढुकुटी रित्तिँदै गएको हो ?

२३ साउन , काठमाण्डौ ।

Advertisement

चार वर्षभन्दा बढी समयदेखिको युक्रेनसँगको युद्ध जारी रहँदा यसको साइड इफेक्ट रुसको अर्थतन्त्रमा देखिन थालेको छ । एकातिर रुसले आफ्नो रक्षा बजेट बढाउनु परेको छ, अर्कातिर अर्थतन्त्र खस्किदै गएपछि आयात कटौती र भारी मात्रामा सुन बेच्नु परेको छ ।

रुसको यो अवस्थालाई विश्वभरीका अर्थशास्त्री र भू–राजनीतिक विश्लेषकहरूले नियालिरहेका छन् । सन् २०२६ को सुरुवातदेखि नै रुसले आफ्नो राष्ट्रिय भण्डारमा रहेको सुनको ठूलो हिस्सा बजारमा बेच्न थालेको हो ।

Advertisement

जतिबेला संसारका अन्य केन्द्रीय बैंकहरू आर्थिक अनिश्चितताबाट बच्न सुनको सञ्चिति बढाइरहेका छन्, ठिक यही समयमा विश्वको सबैभन्दा ठूलो सैन्य शक्तिमध्ये एक रुस भने आफ्नो सुन बेचेर नगद जुटाइरहेको छ ।

रुसी केन्द्रीय बैंकका पछिल्ला तथ्यांकअनुसार, जुलाईको सुरुसम्म रुससँग २ हजार २८२ मेट्रिक टन सुन मात्र बाँकी छ । यो भनेको यो वर्षको सुरुवातको तुलनामा करिब ४३.५ मेट्रिक टन कम हो । फेब्रुअरी २०२२ मा युक्रेनमाथि आक्रमण सुरु गरेयता रुससँग रहेको सुनको सञ्चिति इतिहासकै सबैभन्दा तल्लो विन्दुमा झरेको छ ।

Advertisement

त्यसो भए के रुसको अर्थतन्त्र साँच्चिकै धराशायी हुने अवस्थामा पुगेको हो? वा यो मस्कोको कुनै दीर्घकालीन रणनीति वा आर्थिक व्यवस्थापनको एउटा पाटो मात्र हो? आज हामी यी प्रश्नहरुको उत्तर खोज्ने प्रयास गर्दैछौ । सन् २०२६ मा विश्व बजारमा सुनको मूल्य कीर्तिमानी उचाइमा पुगेको छ ।

यसै मौकाको फाइदा उठाउँदै रुसले आफ्नो सञ्चितिमा रहेको ४३.५ मेट्रिक टन सुन बिक्री गरेर करिब ५ अर्ब अमेरिकी डलरभन्दा बढी नगद सञ्चय गरेको अनुमान गरिएको छ । अन्तर्राष्ट्रिय अर्थशास्त्री एलिना रिबाकोभाका अनुसार, सुनको यो बिक्री सामान्य व्यापारिक कारोबार मात्र होइन ।

यसले के संकेत गर्छ भने, रुससँग सजिलै नगदमा रूपान्तरण गर्न सकिने अन्य तरल सम्पत्तिहरू द्रुत गतिमा घट्दै गएका छन्। युक्रेन युद्धका कारण सरकारमाथि परेको बजेट घाटाको भारी दबाबलाई कम गर्न क्रेमलिनसँग सुन बेच्नुबाहेक अन्य सहज विकल्प बाँकी थिएन ।

युद्ध सुरु हुनुअघि रुसले आफ्नो अर्थतन्त्रलाई सुरक्षित राख्न ठूलो मात्रामा विदेशी मुद्रा र सुन सञ्चय गरेको थियो । तर, पश्चिमी देशहरूले रुसी केन्द्रीय बैंकको करिब ३०० अर्ब डलर बराबरको वैदेशिक सम्पत्ति फ्रिज गरिदिएपछि रुसका लागि सुन नै सबैभन्दा भरपर्दो र सुरक्षित वित्तीय ढाल बनेको थियो ।

अब त्यही वित्तीय ढाललाई पनि रुसले युद्धको खर्च धान्न पगाल्न थालेको छ । रुसले किन आफ्नो सुन बिक्री गर्नुप¥यो? यसको सोझो र मुख्य उत्तर हो— बढ्दो रक्षा खर्च र बजेट घाटा । युक्रेन युद्ध सुरु हुनुभन्दा अघि, अर्थात् सन् २०२१ को तुलनामा आज रुसको रक्षा बजेट चार गुणाभन्दा बढी ले बढेको छ ।

सन् २०२५ मा मात्रै रुसले रक्षा र सुरक्षा क्षेत्रमा करिब १६ ट्रिलियन रुबल खर्च गरेको थियो । सन् २०२६ मा पनि यो खर्च घट्नुको साटो झनै बढ्ने देखिन्छ । एकपटक सोच्नुहोस्, जब कुनै देशले आफ्नो राष्ट्रिय उत्पादन र राजस्वको ठूलो हिस्सा हतियार निर्माण, सैनिकको तलब, पेन्सन, र युद्धका लागि आवश्यक सैन्य सामाग्रीमा खर्च गर्छ, तब अन्य सामाजिक तथा आर्थिक विकासका क्षेत्रहरू प्रभावित हुन्छन् ।

सरकारी अनुमानअनुसार, सन् २०२६ मा रुसको बजेट घाटा जीडीपीको करिब १.६ प्रतिशत अर्थात् ४० अर्ब अमेरिकी डलर सम्म पुग्ने सम्भावना छ । यो घाटा पूर्ति गर्नका लागि रुसी सरकारलाई तत्काल ठूलो परिमाणमा नगद आवश्यक परेको छ, जसको सोझो स्रोत सुन बिक्री बन्न पुगेको छ ।

तर, के सुन बिक्री गर्नुको अर्थ रुसी अर्थतन्त्र भोलि नै ध्वस्त हुँदैछ भन्ने हो? प्रख्यात वित्तीय विश्लेषक क्रिस विफरका अनुसार, सुन बिक्रीलाई तत्काल रुसी अर्थतन्त्रको पूर्ण संकट को रूपमा व्याख्या गर्नु हतारो हुनेछ । विफरका अनुसार, यो सुन रुसी केन्द्रीय बैंकले आफ्नो मुख्य वैदेशिक मुद्रा सञ्चितिबाट बेचेको होइन, बरु रुसको अर्थ मन्त्रालयले राष्ट्रिय कल्याण कोष मार्फत बिक्री गरेको हो ।

यसको पृष्ठभूमि बुझ्न अलि पछाडि फर्कनुपर्छ । सन् २०२२ मा युक्रेनमाथि आक्रमण गरेपछि पश्चिमी प्रतिबन्धका कारण रुसले अमेरिकी ट्रेजरी बन्ड वा युरोपेली सेयर जस्ता विदेशी सम्पत्तिमा लगानी गर्ने बाटो बन्द भयो । त्यसैले रुसले आफ्नो नेसनल वेल्थ फन्डको पैसा सुनमा लगानी गर्न थाल्यो ।

अहिले जब युद्धका कारण बजेटमा घाटा भयो, अर्थ मन्त्रालयले त्यही कोषमा रहेको सुन बिक्री गरेर घाटा पूर्ति गरेको हो । विफरको अनुमानअनुसार रुसको राष्ट्रिय कल्याण कोषको कुल आकार करिब १५० अर्ब डलर छ ।

यसमध्ये करिब ५० अर्ब डलर मात्र ’तरल’ अर्थात् सजिलै नगदमा बदल्न सकिने सम्पत्तिका रूपमा रहेको छ । क्रेमलिनले आफ्नो नगद सञ्चिति धेरै घटेको सन्देश विश्वबजार र आफ्नै नागरिकमाझ जान दिन चाहँदैन । किनकि यसले रुसी रुबलको मूल्यमा ह्रास ल्याउन सक्छ र देशभित्र आर्थिक त्रास फैलाउन सक्छ ।

रुससँग एउटा यस्तो शक्ति छ, जुन विश्वका धेरै देशहरूसँग छैन । रुस विश्वको दोस्रो सबैभन्दा ठूलो सुन उत्पादक देश हो । रुसका साइबेरिया र सुदूरपूर्वी क्षेत्रहरूमा विशाल सुन खानीहरू छन् । रुसले वार्षिक करिब ३०० देखि ३३० मेट्रिक टन सुन उत्खनन गर्दछ ।

यसको अर्थ के हो भने, रुसले आज अन्तर्राष्ट्रिय बजार वा देशभित्रै सुन बेचेर नगद जुटाए पनि, भोलि परिस्थिति अनुकूल भएपछि आफ्नै देशका खानीबाट निस्कने सुन किनेर आफ्नो केन्द्रीय बैंकको सञ्चिति पुनः बढाउन सक्छ ।

पश्चिमा प्रतिबन्धका कारण रुसी सुन उत्पादक कम्पनीहरूलाई बाहिरी बजारमा सुन बेच्न कठिन छ । त्यसैले रुसी केन्द्रीय बैंक र सरकारले आफ्नै स्वदेशी उत्पादकहरूबाट छुट मूल्यमा सुन खरिद गर्ने क्षमता राख्छन्। विश्लेषकहरू भन्छन्– “रुसले आज बजेट घाटा टार्न सुन बेचिरहेको छ, तर उसँग जुनसुकै बेला पुनः भण्डार बढाउने आन्तरिक क्षमता कायम छ।”

अब सबैभन्दा ठूलो प्रश्न उठ्छ के रुसले युद्धको यो भारी खर्च अझै धान्न सक्ला? रुसी अर्थतन्त्रको वास्तविक मेरुदण्ड भनेको उसको ऊर्जा क्षेत्र—अर्थात् तेल र ग्यासको निर्यात हो । प्रतिबन्धका बाबजुद रुसले भारत, चीन, टर्की र अन्य एसियाली देशहरूमा ठूलो मात्रामा कच्चा तेल बिक्री गरिरहेको छ ।

विश्लेषकहरूका अनुसार, रुसको भावी आर्थिक स्थायित्व अब पूर्ण रूपमा अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य कति रहन्छ भन्ने कुरामा निर्भर छ । यदि तेलको मूल्य उच्च रह्यो भने रुसले ऊर्जा बिक्रीबाट प्राप्त हुने आम्दानी र सुनको सीमित बिक्रीबाट आगामी केही वर्षसम्म युद्धको खर्च सहजै धान्न सक्नेछ ।

यदि तेलको मूल्यमा भारी गिरावट आयो भने रुसी अर्थतन्त्रमा बजेट घाटाको संकट चुलिनेछ र रुस गम्भीर आर्थिक दबाबमा पर्नेछ । विज्ञहरूको आकलनअनुसार, रुससँग गैर–रक्षा क्षेत्र (जस्तै शिक्षा, स्वास्थ्य, र पूर्वाधार विकासको बजेट काटेर आगामी १२ देखि २४ महिनासम्म युद्धलाई निरन्तरता दिने आर्थिक क्षमता अझै सुरक्षित छ ।

तत्कालै रुसी अर्थतन्त्र टाट पल्टिन जोखिम नदेखिए पनि दीर्घकालमा भने यसका भयावह असरहरू देखिन थालेका छन् । युद्ध अर्थतन्त्रमा रूपान्तरण भएको रुसमा अहिले उत्पादन क्षेत्र मुख्यत्व सैन्य सामाग्री बनाउनमा व्यस्त छ । यसले गर्दा अन्य उपभोग्य वस्तुको उत्पादन घटेको छ र मुद्रास्फीति बढेको छ ।

रुसी केन्द्रीय बैंकले महँगी नियन्त्रण गर्न ब्याजदर उच्च राख्नुपरेको छ, जसले गर्दा निजी क्षेत्रको लगानी सुकेको छ । युद्ध लम्बिँदै जाँदा आर्थिक वृद्धि दर सुस्त हुनेछ। विकास निर्माणका योजनाहरू ठप्प हुनेछन्। र, सर्वसाधारणको जीवनस्तरमा गिरावट आउनेछ।

अहिले मस्को र क्रेमलिनभित्रै पनि एउटा नयाँ बहस सुरु भएको छ । रुसी सरकार र अर्थशास्त्रीहरू बीच युद्ध सकिएपछि वा दीर्घकालमा अर्थतन्त्रलाई कसरी सामान्य अवस्थामा फर्काउने भन्ने विषयमा गम्भीर मतभेद देखिन थालेको छ । रक्षा क्षेत्रमा अत्यधिक निर्भर अर्थतन्त्रलाई पुनः सामान्य व्यापारिक अर्थतन्त्रमा ढाल्नु रुसका लागि ठूलो चुनौती हुनेछ ।

समग्रमा हेर्दा, सन् २०२६ मा रुसले ४३.५ टन सुन बिक्री गर्नु केवल एउटा व्यापारिक समाचार मात्र होइन। यो युक्रेन युद्धले रुसी अर्थतन्त्रमा पारिरहेको गम्भीर आर्थिक दबाबको प्रत्यक्ष प्रमाण हो । क्रेमलिनले तत्कालका लागि सुन बेचेर र तेलको आम्दानीबाट युद्धको खर्च चलाइरहेको भए पनि, आफ्ना दीर्घकालीन वित्तीय सञ्चितिहरू र गैर–रक्षा क्षेत्रको बजेट प्रयोग गरेर युद्ध लड्नुपर्ने बाध्यताले रुसी अर्थतन्त्रको आन्तरिक असन्तुलनलाई उजागर गरेको छ ।

रुससँग अझै १–२ वर्ष युद्ध धान्न सक्ने क्षमता छ र उसले आफ्नै खानीबाट सुन उत्पादन गरेर सञ्चिति बढाउन पनि सक्छ । तर, युद्ध जति लम्बिँदै जान्छ, रुसी अर्थतन्त्रको भविष्य उति नै जोखिमपूर्ण बन्दै जाने निश्चित छ । निष्कर्षमा भन्नुपर्दा, रुसले सुन बेच्नु भनेको तत्कालै अर्थतन्त्र ढल्नु होइन, तर यो एउटा गम्भीर दबाबको संकेत पक्कै हो ।

पुटिनले आफ्नो ‘सुनको कवच’ प्रयोग गरेर युद्धलाई अगाडि बढाइरहेका छन् । यो एउटा यस्तो दाउ हो, जहाँ हार र जितको फैसला केवल युद्धको मैदानले मात्र होइन, ग्लोबल मार्केटको सुन र तेलको भाउले पनि गर्नेछ ।

इतिहास साक्षी छ, कुनै पनि शक्तिशाली साम्राज्य युद्धको मैदानमा भन्दा आर्थिक रूपमा खोक्रो भएपछि ढलेको छ । सोभियत संघको पतन पनि यसरी नै भएको थियो । आज पुटिनले त्यही बाटो रोजेका छन् वा उनले इतिहासबाट केही सिकेका छन्?

सुनका बिस्कुटहरू त फेरि खानीबाट निकालिएलान्, तर गुमेको आर्थिक साख र मानवीय क्षति कसरी पूर्ति होला? यो युद्ध अब केवल सिमानाको लडाइँ रहेन, यो अब गोल्ड भर्सेस डलर को लडाइँ बनेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top