घातक फङ्गस ‘क्यान्डिडा औरिस’ कपालको जराबाट शरीरमा पस्ने वैज्ञानिकहरूको खुलासा

२३ साउन , काठमाण्डौ ।

Advertisement

अमेरिकाका वैज्ञानिकहरूले हजारौँ मानिसको मृत्युमा जोडिएको घातक फङ्गस ‘क्यान्डिडा औरिस’ शरीरमा प्रवेश गर्ने नयाँ तरिका पहिचान गरेका छन् । अनुसन्धानअनुसार यो फङ्गस छालाका कपालका जराहरू हुँदै शरीरमा प्रवेश गर्ने र प्रतिरक्षा प्रणालीलाई कमजोर बनाउँदै संक्रमण फैलाउने गर्छ ।

वैज्ञानिकहरूले यसलाई ‘सुपरबग’ को रूपमा वर्गीकरण गरेका छन्। अनुसन्धान प्रतिवेदनअनुसार क्यान्डिडा औरिसले छालाको संरचनामा परिवर्तन ल्याएर संक्रमणका लागि अनुकूल वातावरण बनाउँछ। त्यसपछि यो रगतमा प्रवेश गरी शरीरका विभिन्न भागमा फैलिन सक्छ ।

Advertisement

अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र(सीडीसी)ले क्यान्डिडा औरिसलाई ‘अत्यन्त गम्भीर एन्टिमाइक्रोबियल प्रतिरोधी खतरा’ का रूपमा सूचीकृत गरेको छ । यसको केही प्रजाति अधिकांश एन्टिफङ्गल औषधिप्रति प्रतिरोधी देखिएका छन् । वैज्ञानिक विवरणअनुसार अमेरिकाका विभिन्न राज्यमा क्यान्डिडा औरिस संक्रमणका हजारौँ घटना रिपोर्ट भएका छन्।

यसले विशेषगरी अस्पताल, नर्सिङ होम र दीर्घकालीन उपचार केन्द्रमा रहेका कमजोर प्रतिरक्षा भएका व्यक्तिलाई बढी जोखिममा पार्ने गरेको छ । सीडीसीका अनुसार क्यान्डिडा औरिस संक्रमण भएका व्यक्तिमध्ये ठूलो हिस्सा अन्य गम्भीर स्वास्थ्य समस्याबाट समेत प्रभावित हुने भएकाले मृत्युदर उच्च देखिएको छ ।

Advertisement

अनुसन्धानकर्ताहरूले क्यान्डिडा औरिस र सामान्य फङ्गस क्यान्डिडा अल्बिकन्सबीच तुलना गरेका थिए । प्रयोगका क्रममा क्यान्डिडा अल्बिकन्सलाई शरीरको प्रतिरक्षा प्रणालीले चाँडै नियन्त्रण गरे पनि क्यान्डिडा औरिस भने लामो समयसम्म छालामा टिकिरह्यो ।

वैज्ञानिकहरूले क्यान्डिडा औरिस कपालका जराभित्र लुकेर बस्ने र त्यहीँबाट संक्रमण फैलाउने क्षमता राख्ने पत्ता लगाएका छन् । अनुसन्धानमा संलग्न अमेरिकाको क्यालिफोर्निया विश्वविद्यालय, सान फ्रान्सिस्कोकी माइक्रोबायोलोजी प्राध्यापक डा. सुजेन नोबलले क्यान्डिडा औरिसले आफ्नो बाहिरी संरचनामा परिवर्तन गरेर छालालाई बसोबासका लागि उपयुक्त स्थान बनाउने बताएकी छन् ।

क्यान्डिडा औरिस प्रायः संक्रमित व्यक्ति वा दूषित सतहको सम्पर्कबाट फैलिन्छ। यो फङ्गस अस्पतालका उपकरण, बेड, फर्निचर वा अन्य सतहमा लामो समयसम्म जीवित रहन सक्छ । छालामा फङ्गस भए पनि धेरै मानिसमा कुनै स्पष्ट लक्षण नदेखिन सक्छ । तर कमजोर प्रतिरक्षा प्रणाली भएका व्यक्तिमा यसले गम्भीर संक्रमण निम्त्याउन सक्छ ।

संक्रमण गम्भीर बनेमा ज्वरो, चिसो लाग्ने, अत्यधिक थकान, रक्तचाप घट्ने र मुटुको धड्कन तीव्र हुने जस्ता लक्षण देखिन सक्छन् । हालसम्म क्यान्डिडा औरिस हटाउने एउटै प्रभावकारी उपचार विधि उपलब्ध छैन । चिकित्सकहरूले अवस्था हेरेर विभिन्न एन्टिफङ्गल औषधिको संयोजन प्रयोग गर्ने गरेका छन् ।

यसैबीच अमेरिकामा लेट्युस (सलादमा प्रयोग हुने हरियो साग)का कारण आन्द्राको संक्रमण ‘साइक्लोस्पोरायासिस’का घटनामा वृद्धि भएको पाइएको छ । यसबारे अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडीए), रोग नियन्त्रण तथा रोकथाम केन्द्र र विभिन्न राज्यका स्वास्थ्य निकायहरूले संयुक्त अनुसन्धान सुरु गरेका छन् ।

सबैभन्दा बढी प्रभावित मिशिगन राज्यमा हालसम्म दुईजनाको मृत्यु भएको छ । ११ हजारभन्दा बढी मानिस बिरामी परेको जानकारी सार्वजनिक भएको छ । सुरुमा यो संक्रमण लेट्युस साग खाएकाहरूमा देखिए पनि अधिकारीहरूले अहिले संक्रमणको वास्तविक स्रोत पत्ता लगाउने प्रयास गरिरहेका बताइएको छ ।

साइक्लोस्पोरायासिस आन्द्रामा हुने परजीवीजन्य संक्रमण हो । यो साइक्लोस्पोरा नामक परजीवी भएको दूषित पानी पिउँदा वा राम्रोसँग नधोइएको काँचो फलफूल तथा सागसब्जी खाँदा सर्न सक्छ । यसका लक्षण सामान्यदेखि गम्भीरसम्म हुन सक्ने बताइएको छ ।

विशेषगरी बालबालिका, वृद्धवृद्धा र कमजोर रोग प्रतिरोधात्मक क्षमता भएका व्यक्तिमा यो संक्रमण बढी जोखिमपूर्ण मानिन्छ । मिशिगन स्वास्थ्य विभागका अनुसार, मृत्यु भएका दुवै व्यक्तिमा पहिलेदेखि नै गम्भीर स्वास्थ्य समस्या रहेको बताइएको छ ।

संक्रमणका कारण भएको शरीरमा पानीको कमीले उनीहरूको अवस्था झन् गम्भीर बनाएको थियो । सामान्यतया यो रोग ज्यान लिने खालको हुँदैन । तर, समयमै उपचार नगरे संक्रमण धेरै हप्तासम्म रहन सक्ने र बिरामीलाई अस्पताल भर्ना गर्नुपर्ने अवस्था आउन सक्ने बताइएको छ ।

एफडीएको अनुसन्धानअनुसार धेरैजसो बिरामी नौ राज्यका टाको बेल रेस्टुरेन्टमा प्रयोग गरिएको काटिएको आइसबर्ग लेट्युस सागसँग सम्बन्धित देखिएका छन् । जुलाई १८ मा एफडीएले टेलर फाम्र्सले आपूर्ति गरेको लेट्युसको नमुनामा परजीवी भेटिएको जनाएको थियो ।

तर, पुनः परीक्षणमा त्यो नतिजा पुष्टि हुन सकेन । यद्यपि, अनुसन्धान अझै पनि टेलर फाम्र्सको आपूर्ति शृंखलामै केन्द्रित रहेको बताइएको छ । कम्पनीले सेन्ट्रल मेक्सिकोबाट ल्याइएको केही लेट्युस साग फिर्ता मगाएको, प्रशोधन केन्द्र अस्थायी रूपमा बन्द गरेको र उक्त क्षेत्रबाट अब लेट्युस नकिन्ने जनाएको छ ।

अनुसन्धानका क्रममा वालमार्टसहित केही खुद्रा पसलबाट पनि सम्भावित जोखिम भएका उत्पादनहरू फिर्ता मगाइएको छ । सीडीसीका अनुसार, मेदेखि अगस्टसम्म अमेरिकामा यो संक्रमण बढी देखिने गर्छ । यस वर्ष ४५ राज्यमा ६ हजार ७०७ पुष्टि भएका बिरामी भेटिएका छन् ।

तीमध्ये ४२३ जनालाई अस्पताल भर्ना गर्नुपरेको छ । संक्रमण भएको पुष्टि हुन करिब ६ हप्ता लाग्न सक्ने भएकाले वास्तविक संक्रमितको संख्या अझ बढ्न सक्ने अधिकारीहरूको अनुमान छ । यसअघि सन् २०२० मा प्याक गरिएको सलादका कारण १३ राज्यमा करिब ७०० जना संक्रमित भएका थिए ।

एफडीएले फलफूल र सागसब्जी राम्रोसँग पखालेर मात्र खान तथा सम्भव भएसम्म राम्ररी पकाएर खान सल्लाह दिएको छ। पातदार तरकारीको बाहिरी पात हटाउनु पनि सुरक्षित मानिन्छ । यो संक्रमण मुख्यतः दूषित खाना वा पानीबाट फैलिने भएकाले सामान्य छुवाछूतबाट भने सर्दैन ।

संक्रमण पुष्टि भएका बिरामीलाई चिकित्सकको सल्लाहअनुसार ट्राइमेथोप्रिम–सल्फामेथोक्साजोल नामक एन्टिबायोटिक ७ देखि १० दिनसम्म सेवन गर्न सिफारिस गरिएको छ । कमजोर रोग प्रतिरोधात्मक क्षमता भएका बिरामीलाई भने लामो समयसम्म उपचार आवश्यक पर्न सक्छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top