२३ साउन , काठमाण्डौ ।
एकातिर मलको हाहाकार छ, अर्कोतिर ग्यासको लाइन उस्तै लामो छ । पासपोर्ट बनाउने ठाउँमा पुग्यो, त्यहाँ देश छोड्न चाहने युवाहरूको उस्तै कहालीलाग्दो भीड छ । ुपुरानाले काम गरेनन्, अब नयाँले केही गर्छन् किु भनेर जनताले नयाँ अनुहारहरूलाई सत्तामा पुर्याएको पनि धेरै भएको छैन ।
तर, विडम्बना १ जनताका दुःख र सास्ती ज्यूँका त्यूँ छन् । नेता फेरिए, तर जनताको भाग्य फेरिएन । आशा गरे अनुसारका कामहरू पटक्कै हुन सकेका छैनन् । देशको यही अस्तव्यस्तता र राज्यको बेवास्ताको सबैभन्दा दर्दनाक सिकार बनेका छन्— सर्लाही, बलरा–५ का दुई दाजुभाइ सुरेशप्रसाद सिंह र नागेन्द्रप्रसाद सिंह ।

असारको महिना थियो । आकाशबाट पानी परेपछि खेतमा धान रोप्न हिलो तयार पारिएको थियो । मानो खाएर मुरी उब्जाउने यो चटारोमा किसानको हातमा मल थिएन । देशका गोदामहरू रित्ता थिए । नेताहरू सत्ताको गणितमा व्यस्त हुँदा खेतमा हिलो सुक्न थालिसकेको थियो ।
आफ्नै माटोमा उब्जनी बढाउने रहर कुन चाहिँ किसानलाई हुँदैन र रु खेत बाँझो राख्न मनले मानेन । त्यसैले, राज्यले मल दिन नसकेपछि उनीहरू बाध्यताले सीमा पारि भारतको सीतामढी जिल्लास्थित सोनबर्षा बजार पुगे— केही बोरा डिएपी र युरिया मल ल्याउन ।
तर, उनीहरूले किनेको त्यो मल खेतसम्म कहिल्यै पुगेन । असार १७ गते मल लिएर फर्किंदै गर्दा भारतीय सीमा सुरक्षा बल ९एसएसबी० ले उनीहरूलाई पक्राउ गर्यो । भोलिपल्ट, असार १८ गते उनीहरूलाई जेल चलान गरियो । एउटा किसान, जसको अपराधु केवल आफ्नो खेतमा हाल्ने मल खोज्नु थियो, उसलाई विदेशी भूमिमा अपराधीलाई झैं जेलको अँध्यारो छिँडीमा पुर्याइयो ।
यता खेतमा हिलो सुक्दै गयो, उता परिवारको आँसु सुकेन । मल किन्न छिमेकी देश गएका ती दुई किसान ३८ दिनसम्म अर्काको देशमा जेलको जन्जिरभित्र कैद भए । लामो र कष्टकर पर्खाइपछि बल्लतल्ल सीतामढी जिल्लाको डुम्रा व्यवहार अदालतका सह–विशेष न्यायाधीश अखलेशकुमार झाको एकल इजलासले बुधबार उनीहरूलाई धरौटीमा छाड्ने आदेश दियो ।
किसानहरूको तर्फबाट वकिलहरू सञ्जयकुमार झा र किरण चौधरीले कानुनी लडाइँ लडेका थिए । अन्ततः, अदालतको आदेशअनुसार शुक्रबार साँझ सवा ७ बजेतिर भारतीय प्रहरीले उनीहरूलाई थुनामुक्त गर्यो ।
आमा र भाइ, बुबा र ठूलो बुबालाई लिन डुमरवा जानुभएको छ, ३८ दिनपछि बुबा जेलमुक्त भएको खबर पाउँदा सुरेशप्रसादका छोरा अविनाश सिंहले भावुक हुँदै भने । आज उनीहरू घर त फर्किंदैछन्, तर ३८ दिनको त्यो कहालीलाग्दो भोगाइले उनीहरूको मनमा कस्तो गहिरो चोट छाडेको होला रु मल किन्न सीमा पारि जानु उनीहरूको रहर थिएन, राज्यले सिर्जना गरिदिएको निर्मम बाध्यता थियो ।
नयाँ र पुराना सत्ताको खेलमा रुमल्लिएको देशले यी निमुखा किसानको आँसु कहिले देख्ने रु आज सुरेश र नागेन्द्र त जेलमुक्त भएर आफ्नो आँगनमा टेक्दैछन्, तर राज्य संयन्त्रतर्फ फर्केर एउटा गम्भीर प्रश्न भने ज्यूँको त्यूँ उभिएको छ— के आफ्नै खेतमा मल हाल्न खोज्नु यो देशमा यति ठूलो अपराध हो रु




