बन्यो ८ दलको मोर्चा, के काम गर्छ ?

२३ साउन ८३, शनिबार

२३ साउन , काठमाण्डौ ।

Advertisement

मधेश केन्द्रितलगायत आठ राजनीतिक दलले अग्रगामी मोर्चाको घोषणा गरेका छन् । आज काठमाडौँमा आयोजित कार्यक्रममा अग्रगामी मोर्चा घोषणा गरिएको हो । मोर्चामा जनता समाजवादी पार्टी नेपाल, नागरिक उन्मुक्ति पार्टी नेपाल, जनमत पार्टी, नेपाल संघीय समाजवादी पार्टी, आम जनता पार्टी, प्रजातान्त्रिक लोकतान्त्रिक पार्टी र बहुजन एकता पार्टी नेपाल सहभागी भएका छन् ।

यस मोर्चामा नेताहरू महन्थ ठाकुर, उपेन्द्र यादव, डा. सीके राउत, जनार्दन शर्मा, रेशम चौधरी, प्रभु साह, सन्तोष परियार, रिजवान अन्सारीलगायत नेताहरू सहभागी भए । यी सात राजनीतिक दलले संविधान संशोधन, सङ्घीयता सुदृढीकरण, सामाजिक न्याय, र समावेशी लोकतन्त्रलाई मुख्य एजेन्डा बनाउँदै ‘अग्रगामी मोर्चा’ गठन गरेका हुन् ।

Advertisement

मोर्चाको प्रस्तावनामा सार्वभौमसत्ता, राष्ट्रिय स्वाधीनता, र भौगोलिक अखण्डताको संरक्षणप्रति प्रतिबद्ध लोकतान्त्रिक र प्रगतिशील शक्तिहरूलाई एकताबद्ध गर्ने लक्ष्य राखिएको छ। राजकीय सत्ताको केन्द्रीकरण र अधिनायकवादी प्रवृत्ति अन्त्य गर्दै स्वतन्त्रता, समानता, लोकतान्त्रिक गणतन्त्र, र सङ्घीयतामा आधारित न्यायपूर्ण समाज निर्माण गर्ने मोर्चाको प्रतिबद्धता छ ।

अवधारणा–पत्रमा भनिएको छ, ’हामी नेपाली समाजको बहुजातीय, बहुभाषिक र बहुसाँस्कृतिक विशेषतालाई सम्मान गर्छौं।’ पछाडि परेका वर्ग र समुदायको उत्थानलाई प्राथमिकतामा राख्दै सबै प्रकारका असमानता र विभेद अन्त्य गर्ने मोर्चाको उद्देश्य रहेको छ ।

Advertisement

मोर्चाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्दै मधेसी, आदिवासी जनजाति, थारू, दलित, महिला, मुस्लिम, पिछडावर्ग, लगायतका सीमान्तकृत समुदायको राज्यका सबै तहमा समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्न निरन्तर सङ्घर्ष गर्ने जनाएको छ ।

पारदर्शी, जबाफदेही, र भ्रष्टाचारमुक्त शासन प्रणालीका साथै गुणस्तरीय शिक्षा, स्वास्थ्य, र सम्मानजनक रोजगारीलाई राष्ट्रिय प्राथमिकतामा राख्ने अवधारणा–पत्रमा उल्लेख छ । मोर्चाका मुख्य उद्देश्यहरूमध्ये नेपालको विविधतालाई राष्ट्रिय शक्तिको रूपमा लिँदै ’एकताभित्र विविधता’ को सूत्रमा बाँध्ने र सीमान्तकृत समुदायमाथि भएका अन्याय र विभेद अन्त्य गर्दै उनीहरूको राष्ट्रिय र जातीय पहिचानलाई मान्यता दिने कुराहरू समेटिएका छन् ।

जात, जाति, वर्ग, लिङ्ग, र धर्मका आधारमा हुने सबै प्रकारका विभेदको अन्त्य गर्दै सामाजिक न्यायको प्रत्याभूति गर्ने मोर्चाको लक्ष्य छ । सङ्घीयता कार्यान्वयनलाई प्रभावकारी बनाउन स्थानीय तहलाई प्रादेशिक क्षेत्राधिकारभित्र राखी आवश्यक अधिकार र स्रोत प्रदान गर्ने र प्रदेशमा स्वायत्त शासन र सङ्घमा ’साझा शासन’ को सिद्धान्त अवलम्बन गर्ने मोर्चाले जनाएको छ।

समान जनसङ्ख्याको आधारमा संसद् र प्रदेश सभामा प्रतिनिधित्व सुनिश्चित गर्ने र महिला र दलित समुदायका लागि छुट्टै आरक्षित निर्वाचन क्षेत्रको व्यवस्था गर्ने मोर्चाको माग छ । वर्तमान संविधानमा रहेका संरचनात्मक त्रुटि र अस्पष्टताका कारण सङ्घीयता कार्यान्वयनमा देखिएका चुनौतीहरूलाई सम्बोधन गर्न संविधान संशोधन र परिमार्जन वा पुनर्लेखन गर्नुपर्ने मोर्चाको निष्कर्ष छ।

राजनीतिक स्थिरता, प्रतिनिधित्वको समानता, प्रदेशहरूको पुनर्संरचना, र न्याय प्रणालीमा सुधार गर्न संविधान संशोधन आवश्यक रहेको अवधारणा–पत्रमा उल्लेख छ । कृषि आधुनिकीकरण, जलविद्युत, पर्यटन, र औद्योगिकीकरणलाई अघि बढाउँदै दिगो र उच्च आर्थिक वृद्धि हासिल गर्ने मोर्चाको आर्थिक रणनीति छ।

युवा बेरोजगारी समस्या समाधान गर्न राष्ट्रिय युवा रोजगारी कार्यक्रम, सीप विकास, र स्वदेशमै सम्मानजनक रोजगारीका अवसरहरू सिर्जना गर्नेतर्फ जोड दिइएको छ। प्राकृतिक स्रोतको संरक्षण र जलवायु परिवर्तन अनुकूलनलाई पनि प्राथमिकतामा राखिएको छ।

सुकुमबासी र जग्गाविहीनको समस्या समाधान गर्न वैज्ञानिक र मानवीय दृष्टिकोण अपनाउने र वास्तविक सुकुमबासी पहिचान गरी समस्याको दीर्घकालीन समाधान गर्ने मोर्चाले जनाएको छ। परराष्ट्र नीतिका सन्दर्भमा नेपालको सार्वभौमसत्ता र राष्ट्रिय हितलाई सर्वोपरि राखी छिमेकी र अन्य मुलुकहरूसँग समानता र पारस्परिक सम्मानमा आधारित सम्बन्ध विस्तार गर्ने नीति लिइने उल्लेख छ ।

मोर्चाको नेतृत्व सहमतिको आधारमा चयन गरिने वा आवश्यक परे आलोपालो प्रणाली अपनाइने व्यवस्था गरिएको छ। निर्णय प्रक्रियामा सकेसम्म सर्वसम्मति खोजिने र सर्वसम्मति नभएमा लोकतान्त्रिक विधि अनुसार निर्णय लिइनेछ। मोर्चामा आबद्ध दलहरूले साझा न्यूनतम कार्यक्रम र मोर्चाका निर्णयहरूको पालना गर्नुपर्ने अनुशासनको व्यवस्था पनि अवधारणा–पत्रमा गरिएको छ।

यो घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै आम जनता पार्टीका अध्यक्ष प्रभु साहले देश सङ्कटको यात्रामा रहेकाले दीर्घकालीन सोचका साथ अग्रगामी मोर्चा गठन गरिएको बताएका छन् । उनले देशमा विभिन्न आन्दोलन भए पनि जनताको अवस्था जस्ताको त्यस्तै रहेको उल्लेख गरेका हुन् ।

अहिलेको राजनीतिक अवस्थाका कारण देश निरन्तर सङ्कटतर्फ धकेलिइरहेको बताउँदै साहले जनता निराश बनेको र त्यसको निकासका लागि मोर्चा बनाइएको स्पष्ट पारे। नयाँ नेपाल निर्माणका लागि आफूहरू अघि बढेको बताउँदै उनले भने, ‘हामी आठ दल फरक सोचका साथ यहाँसम्म आइपुगेका छौँ।’

मोर्चाले दीर्घकालीन सोच लिएकाले आफ्नो लक्ष्य प्राप्त भएपछि मात्र यसको अन्त्य हुने साहले दाबी गरे। वर्तमान सरकारले जनतासामु गरेका कुनै पनि वाचा तथा प्रतिबद्धता पूरा गर्न नसकेको आरोप लगाउँदै उनले निराश जनतामा नयाँ आशा जगाउन मोर्चा प्रतिबद्ध रहने बताए।

यस्तै प्रगतिशील लोकतान्त्रिक पार्टीका अध्यक्ष सन्तोष परियारले जनताको सपना साकार पार्नका लागि अग्रगामी मोर्चा गठन भएको बताएका छन्। उनले मधेस विद्रोह र माओवादीको सशस्त्र आन्दोलनलगायत विभिन्न आन्दोलनको योगदानबाट देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको उल्लेख गरेका हुन्। देश आर्थिक रूपमा टाट पल्टिएको अवस्थामा रहेको औँल्याउँदै परियारले वर्तमान सरकार जनताको सेवक बन्न नसकेको आरोप लगाए। आफूहरू जनताको सत्तामा रहेको स्पष्ट पार्दै उनले जेनजी आन्दोलनबाट बनेको सरकारलाई जनताको पक्षमा उभिन आग्रह गरे । नेपालको सभ्यतामा मधेसलाई अवमूल्यन गरे कसैको पनि कल्याण नहुने चेतावनी उनले दिए। ‘जुन दिन गरिब जनता बोल्न पाउनेछन्, त्यो दिन सबैले न्याय पाउनेछन्,’ परियारले भने। संविधानमा दायाँबायाँ भएमा जनता सडकमा उत्रिएर आफ्ना अधिकार खोसेर लिने दाबी उनले गरे।
===========
यस्तै प्रलोपाका अर्का नेता जनार्दन शर्माले देश इतिहासकै सङ्कटपूर्ण अवस्थामा पुगेकाले साझा अभियानका रूपमा अग्रगामी मोर्चा गठन गरिएको बताएका छन् । शर्माले लोकतान्त्रिक समाजलाई आत्मसात् गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न मोर्चा बनाइएको प्रस्ट पारेका हुन् ।

विगतका त्रुटिहरूलाई सुधारेर जनताप्रति उत्तरदायी बन्ने प्रतिबद्धता जनाउँदै शर्माले सामाजिक, सांस्कृतिक र आर्थिक विकासका लागि यो मोर्चा गतिशील रहने उल्लेख गरे । यस्तै जनता समाजवादी पार्टी नेपालका संरक्षक महन्थ ठाकुरले राजनीतिमा जोगी बन्न नआएको बताएका छन् ।

ठाकुरले राजनीतिमा आएपछि सत्ताको राजनीति गर्नुपर्ने बताए । छोटो मन्तव्य राखेर उनी मोर्चा घोषणा कार्यक्रमबाट बाहिरिएका थिए । यता नेपाल सङ्घीय समाजवादी पार्टीका अध्यक्ष रिजवान अन्सारीले संविधानलाई पूर्णता दिनका लागि अग्रगामी मोर्चा गठन गरिएको बताएका छन्।

अग्रगामी मोर्चाको घोषणा कार्यक्रममा सम्बोधन गर्दै उनले उत्पीडित समुदायको हक–अधिकार रक्षाका लागि यो मोर्चा बनेको स्पष्ट पारेका हुन् । विगतमा भएका गल्ती र कमीकमजोरीहरूलाई सच्याएर अगाडि बढ्ने प्रतिबद्धता अन्सारीले जनाए। नयाँ शक्तिहरूतर्फ लक्षित गर्दै उनले भने, ‘पुरानो दलले केही गरेको छैन भनेर जसले भनिरहेका छन्, तिनलाई म भन्न चाहन्छु कि आज जनताको छोरा राष्ट्रपति बन्नुभएको छ, त्यो पुरानै दलका कारणले भएको हो।’

देशमा आएको राजनीतिक परिवर्तन र उपलब्धिहरू पुरानै दलहरूको सङ्घर्षको परिणाम भएको दाबी उनले गरे । यस्तै जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले जेनजी आन्दोलनका कारण देशको स्वाधीनता खतरामा परेको बताए ।

यादवले देशको स्वाधीनता खतरामा परेका कारण अग्रगामी मोर्चा गठन गरिएको बताए । देशमा धेरै राजनीति परिवर्तन भएको तर उत्पीडित समुदायले न्याय नपाएको बताउँदै उनीहरूलाई न्याय दिलाउन अग्रगामी मोर्चा अगाडि बढेको उनले बताए ।

देशमा सर्वसत्तावाद आएको र यसले अधिनायकवाद जन्माउने बताउँदै उनले जनताले प्राप्त गरेको उपलब्धिमाथि प्रहार भएको उनको भनाइ छ । प्राप्त उपलब्धिको रक्षाका लागि मोर्चा अघि बढेको बताउँदै यादवले संविधान समावेशी बनाउनका लागि मोर्चाले सङ्घर्ष गर्ने बताए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top