खामेनीको मृत्युको खबर सार्वजनिक भए आश्चर्य हुनेछैन

२४ साउन , काठमाण्डौ ।

Advertisement

मध्यपूर्वमा जारी तनावका बीच इरानका सर्वोच्च नेता मोज्तबा खामेनीको स्वास्थ्य अवस्था अत्यन्त गम्भीर रहेको र उनलाई अस्पताल भर्ना गरिएको इजरायली सञ्चारमाध्यमहरुले दाबी गरेका छन् । इजरायली सञ्चारमाध्यमहरूले भित्री स्रोतलाई उद्धृत गर्दै दाबी गरेअनुसार खामेनीको अवस्था गम्भीर छ र उनी अस्पतालमा जीवनरक्षाका लागि संघर्ष गरिरहेका छन् ।

साथै, रिपोर्टहरूमा उल्लेख गरिएअनुसार उनको मृत्युको खबर छिट्टै सार्वजनिक भएमा त्यसमा कुनै आश्चर्य हुनेछैन । इजरायली समाचारमाध्यम च्यानल १४ ले इरानी स्रोतहरूलाई उद्धृत गर्दै खामेनीको स्वास्थ्य अवस्था अत्यन्तै गम्भीर रहेको जनाएको छ ।

Advertisement

२८ फेब्रुअरी २०२६ मा अमेरिका र इजरायलको संयुक्त सैन्य आक्रमणमा आफ्ना पिता आयतोल्लाह खामेनीको मृत्यु भएपछि मोज्तबा खामेनीले इरानको सर्वोच्च नेताको पद सम्हाले । पदभार ग्रहण गरेयता मोज्तबा सार्वजनिक रूपमा देखा परेका छैनन् ।

उनले लिखित विज्ञप्तिहरूमार्फत मात्रै सञ्चार गरेका छन्, जसका कारण लामो समयदेखि उनको स्वास्थ्य अवस्थाबारे व्यापक अड्कलबाजी भइरहेको छ । पछिल्लो रिपोर्टहरूका अनुसार, सुरुवाती सैन्य आक्रमणहरूमा मोज्तबा खामेनी घाइते भएका थिए ।

Advertisement

मोज्तबाको अनुहारमा गम्भीर चोट लागेर स्वरूप नै पूर्ण रूपमा बिग्रिएपछि उनी भूमिगत हुन बाध्य भए । त्यसपछि, सुरक्षाका लागि उनलाई गोप्य स्थानमा सारिएको थियो । रिपोर्टहरूमा दाबी गरिएअनुसार, उच्च अधिकारीहरूसम्म सन्देश पु¥याउन मोज्तबाले मध्यस्थकर्ताहरूको सञ्जालमा भर पर्नुपरेको थियो ।

यसैबीच, इरानी राष्ट्रपति मसुद पेजेस्कियनको एक भनाइ चर्चामा आएको छ । इरानी सरकारी सञ्चारमाध्यमसँगको हालैको अन्तर्वार्तामा पेजेस्कियनले सर्वोच्च नेता मोज्तबासँग संवाद गर्नु हाल निकै कठिन रहेको स्वीकार गरेका थिए । जुलाईमा साउदी समाचार संस्था अल–हदाथले इजरायली स्रोतलाई उद्धृत गर्दै मोजतबा खामेनी इरानमा नरहेको दाबी गरेको थियो ।

सोही समयताका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फक्स न्युजसँगको अन्तर्वार्तामा इरानको शीर्ष सैन्य नेतृत्वलाई समाप्त पारिएको बताएका थिए । उनले सैन्य कारबाहीपछि मोज्तबा ९० प्रतिशत समाप्त भइसकेको र काम गर्न नसक्ने अवस्थामा पुगेको दाबी पनि गरेका थिए ।

यद्यपि, इरानी अधिकारीहरूले यसअघि मोजताबा खामेनीलाई लागेको चोट गम्भीर थियो भन्ने कुरा स्वीकार गर्न अस्वीकार गरेका थिए । उनीहरूले मोज्तबाले नै मुलुकको रणनीतिक तथा प्रशासनिक निर्णयहरूको नेतृत्व गरिरहेको बताउँदै आएका छन् ।

इरानको स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले पनि यसअघि मोज्तबाका सुरुवाती चोटपटकहरू सामान्य प्रकृतिका रहेको बताएका थिए । हाल मोज्तबा अस्पतालमा भर्ना भएको वा उनको अवस्था गम्भीर रहेको भन्ने दाबीका सम्बन्धमा इरानले कुनै आधिकारिक भनाइ जारी गरेको छैन ।

यद्यपि, सार्वजनिक रूपमा नदेखिनु र प्रत्यक्ष रूपमा सम्बोधन नगर्नुजस्ता कारणले गर्दा मोज्तबाको स्वास्थ्य तथा नेतृत्वको स्थिरताका विषयमा क्षेत्रीय र अन्तर्राष्ट्रियस्तरमा विभिन्न अड्कलबाजीहरू अझ बढिरहेको छ ।

अर्काेतर्फ इरानका राष्ट्रपति मसूद पेजेस्कियानले संयुक्त राज्य अमेरिका र इजरायलले पर्सियाली खाडीका राष्ट्रहरूलाई तेहरानविरुद्ध प्रयोग गर्न खोजेको गम्भीर आरोप लगाएका छन्। पश्चिम एसियामा जारी जटिल द्वन्द्व र इरानभित्र रहेका आन्तरिक चुनौतीहरूको फाइदा उठाउँदै ती बाह्य शक्तिहरूले खाडी क्षेत्रमा ठूलो अस्थिरता सिर्जना गर्न खोजेको उनको दाबी छ।

इरानी राज्य टेलिभिजनसँगको एक विस्तृत तथा विशेष अन्तर्वार्तामा राष्ट्रपति पेजेस्कियानले भने, “इजरायल र संयुक्त राज्य अमेरिका पर्सियाली खाडी राष्ट्रहरूलाई हाम्रो विरुद्ध लगाउन खोजिरहेका छन्। हामी यसलाई रोक्ने हरसम्भव प्रयास गरिरहेका छौँ।

हामीसँग केही आन्तरिक चुनौतीहरू पनि छन्, किनकि नागरिक र विभिन्न निकायबीच दृष्टिकोणहरू फरक छन्, र स्वाभाविक रूपमा अमेरिका र इजरायल यस स्थितिको अनुचित फाइदा उठाइरहेका छन्।”छिमेकी खाडी राष्ट्रहरूप्रति गहिरो सद्भाव प्रकट गर्दै इरानी नेताले वर्तमान भूराजनीतिक संकटबीच इस्लामिक एकतामा जोड दिएका छन्।

उनले शिया र सुन्नी सबै मुस्लिमहरू दाजुभाइ हुन् भन्दै यो कुनै देखावटी कुरा नभई अल्लाहका रसूलले सिकाएको र पवित्र ग्रन्थमा उल्लेख भएको सत्य भएको बताए। वर्तमान कूटनीतिक तथा आर्थिक सम्बन्धको उदाहरण दिँदै उनले चीन र अमेरिकाबीचको सम्बन्धलाई इरानको लागि पाठको रूपमा प्रस्तुत गरे।

अमेरिका चीनको सबैभन्दा ठूलो रणनीतिक प्रतिद्वन्द्वी भए पनि उनीहरू खुला युद्धमा छैनन् भन्दै उनले चीन आफ्नो आर्थिक तथा आन्तरिक विकासमा ध्यान दिएर बलियो बन्दै गएको तर्क गरे। “अस्तित्व जोगाउन हामीले कहिले लड्ने, कहिले शान्ति गर्ने र कहिले आफ्नो काममा पूर्ण ध्यान दिनुपर्छ भन्ने बुझ्न जरुरी छ।

युद्धले कसैको पनि भलो गर्दैन,” उनले थपे।अमेरिका र इरानबीचको सैन्य द्वन्द्वमा रणनीतिक रूपमा अत्यंत संवेदनशील मानिने ‘स्ट्रेट अफ होर्मुज’ जलमार्ग हुँदै हुने व्यावसायिक समुद्री यातायात पुनः सञ्चालनमा आउनु मुख्य विवादको विषय बनेको छ।

यस समुद्री मार्गमा भइरहेका गतिविधिबारे स्पष्ट पार्दै राष्ट्रपति पेजेस्कियानले जलसन्धिमा गरिएका सैन्य कारबाहीहरू नियम उल्लङ्घन गर्ने जहाजहरूविरुद्ध मात्र लक्षित रहेको दाबी गरे। उनले इजरायलले निरन्तर क्षेत्रमा युद्ध चाहेको आरोप लगाउँदै इरान आफ्ना वैध अधिकार र राष्ट्रिय हितको रक्षा गर्न पूर्ण रूपमा तयार रहेको बताए।

यदि कसैले इरानलाई झुकाउन खोजेको खण्डमा पछि नहट्ने तर अधिकार सुरक्षित भएमा अनावश्यक द्वन्द्व जारी नराख्ने उनले स्पष्ट पारे। साथै, नागरिक प्रशासन र इरानको शक्तिशाली इस्लामिक क्रान्तिकारी गार्ड कोर (आईआरजीसी) बीच कुनै पनि किसिमको आन्तरिक मतभेद वा दरार रहेको अफवाहलाई खारेज गर्दै तेहरान पूर्ण रूपमा एकजुट र समन्वित रहेको दाबी गरे।

यसैबीच, पश्चिम एसियामा तनाव कम गर्ने उद्देश्यले इरान र ओमानबीच भइरहेको कूटनीतिक वार्ताबारे सकारात्मक प्रगति भएको छ। यस वार्ता पश्चात् रणनीतिक रूपमा अति महत्वपूर्ण मानिएको ‘स्ट्रेट अफ होर्मुज’ जलमार्ग पुनः खुल्ने बलियो अमेरिकी अपेक्षा बाहिर आएको छ।

नाम नछाप्ने सर्तमा एक वरिष्ठ अमेरिकी अधिकारीले रोयटर्सलाई जानकारी गराएअनुसार, जलमार्गको सिमाना जोडिएका इरान र ओमानबीचको सम्भावित सम्झौताले यस क्षेत्रमा व्यावसायिक तेल ढुवानी पुनः सुचारु गर्न मार्ग प्रशस्त गर्नेछ।

व्यावसायिक ढुवानी पुनस्र्थापना गर्ने सम्झौता आधिकारिक रूपमा घोषणा हुनासाथ संयुक्त राज्य अमेरिकाले इरानी बन्दरगाहहरूमाथिको नाकाबन्दी हटाउने तयारीसमेत गरेको बताइएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि अमेरिका र इरानबीचको कूटनीतिक वार्ता सम्भावित सम्झौताको निकै नजिक पुगेको उल्लेख गरेका छन्।

यसबाट विश्व बजारमा इन्धनको मूल्यमा समेत कमी आउने उनले विश्वास व्यक्त गरेका छन्। ओभल अफिसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले इरानले आणविक हतियार भण्डारण गर्न नहुने अमेरिकी अडानलाई कडा रूपमा दोहोर्याए, साथै दुई देशबीचको वर्तमान द्वन्द्व चाँडै सकारात्मक निष्कर्षमा पुग्ने आशा व्यक्त गरे।

अर्कोतर्फ, इरानका कार्यवाहक रक्षामन्त्री ब्रिगेडियर जनरल मजिद एबन–ए–रेजाले इरानी सशस्त्र बलहरू कुनै पनि किसिमको बाह्य खतरा वा उक्साहटको सामना गर्न पूर्ण रूपमा सक्षम र तयार रहेको बताएका छन्। इरानको सैन्य शक्ति र आत्मनिर्भरता यसको स्वदेशी रक्षा उद्योगमा निहित रहेको कुरामा उनले विशेष जोड दिएका छन्।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top