ओली–प्रचण्डबीच थप सहमति, प्रदेश सरकार सञ्चालनको मापदण्ड तय

२६ साउन ८३, मंगलबार

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच प्रदेशमा भएको सहकार्यलाई दीगो बनाउने सहमति भएको छ । गत ९ साउनमा दुई दलका नेताबीच प्रदेशमा सहकार्य गर्ने तीनबुँदे सहमति भएको थियो । त्यसैको निरन्तरतास्वरूप आज दुई नेताले थप पाँचबुँदे सहमति गरेका हुन् ।

Advertisement

सहमति पत्रमा प्रदेश सरकार सञ्चालनका लागि मापदण्ड तय गरिएको छ । मुख्यमन्त्रीको दाबी गर्ने दलले पहिलो प्राथमिकताको मन्त्रालय छनोट नगर्ने र त्यसपछि पालैपालो मन्त्रालय छनोट गर्ने सहमति भएको छ ।दुई दल मिलेर सरकार गठनका लागि आवश्यक संख्या नपुगे तेस्रो दललाई समेत सरकारमा सहभागी गराउने र सहमतिका आधारमा मन्त्रालय बाँडफाँट गर्ने व्यवस्था गरिएको छ ।

यसअघिको सहमतिअनुसार कोशी, बागमती र लुम्बिनी प्रदेशमा एमालेले सरकारको नेतृत्व गर्नेछ भने कर्णाली र सुदूरपश्चिम प्रदेशमा नेकपाले सरकारको नेतृत्व गर्नेछ । मधेश र गण्डकी प्रदेशमा भने अन्य दलसँग सहकार्य र छलफलका माध्यमबाट प्रदेश सरकार सञ्चालन गर्ने सहमति भएको थियो ।

Advertisement

सहमति पत्रमा प्रदेशमा राजनीतिक स्थिरता, सुशासन, समृद्धि र विकासको गति तीव्र बनाउन प्रदेश सरकारले न्यूनतम साझा प्रतिबद्धता निर्माण गरी सार्वजनिक गर्ने उल्लेख छ । सोही प्रतिबद्धताका आधारमा प्रदेश सरकारले कार्यसम्पादन गर्ने सहमति भएको छ ।

सहमति पत्रमा ओली र प्रचण्डले हस्ताक्षर गरेका छन् ।

Advertisement

 

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top