२८ साउन, काठमाडौं ।
पत्रकार किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ। श्रेष्ठलाई पक्राउ गर्न उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंको टोली परिचालन गरिएको थियो। प्रहरीले वैयक्तिक गोपनीयतासम्बन्धी ऐन, २०७५ विपरीतको कसुर गरेको आरोपमा अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको जनाएको छ।
श्रेष्ठ जनआस्था साप्ताहिकका सम्पादक हुन्। जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दिलीप घिमिरेका अनुसार श्रेष्ठविरुद्ध एक जना पीडितले उजुरी दिएका छन्। ‘केही दिनअघि उहाँको सञ्चारमाध्यममा आएको तस्बिरसँग सम्बन्धित विषय हो,’ उनले भने, ‘अहिलेसम्म एउटा मात्र उजुरी आएको हो।’
जिल्ला प्रहरी परिसर काठमाडौंमा श्रेष्ठविरुद्ध वैयक्तिक गोपनीयतासम्बन्धी कसुरमा जाहेरी दर्ता भएपछि त्यसैका आधारमा पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले पुष्टि गरेका छन्।

साउन २५ गते जनआस्था डटकममा सप्तरी क्षेत्र नम्बर- ३ बाट निर्वाचित सांसद अमरकान्त चौधरीसँग सम्बन्धित सामग्री प्रकाशित भएको थियो। उक्त सामग्रीमा एक युवतीको नाम जोडिएको थियो। सोही सामग्रीलाई लिएर नाम जोडिएकी युवतीले प्रहरीमा जाहेरी दिएको जनाइएको छ।
यसैबीच, उपसभामुख रुवीकुमारी ठाकुरले पनि मंगलबार जनआस्था डटकमको सामाजिक सञ्जाल पेजबाट आफ्नो तस्बिरसहित आपत्तिजनक तथा धम्कीपूर्ण सामग्री प्रकाशित भएको भन्दै प्रेस काउन्सिल नेपालमा उजुरी दिएकी थिइन्।
उनले उजुरीमा सामग्रीमा उल्लिखित आरोप तथा दाबीको स्रोत र प्रमाण झिकाई निष्पक्ष छानबिन गर्न माग गरेकी छन्। श्रेष्ठ सम्पादक रहेको जनआस्था पत्रिकामा केही दिनअघि उपसभामुखको तस्बिरसहित ‘सुध्रिनुस् म्याडम, अझै समय छ’ शीर्षकको समाचार प्रकाशित भएको थियो।
उक्त समाचारमा भ्रामक, पद, प्रतिष्ठा तथा सामाजिक चरित्रमा आँच पुग्ने गरी विषयवस्तु सम्प्रेषण गरिएको उपसभामुखको उजुरीमा उल्लेख छ।
श्रेष्ठविरुद्ध काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएर पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनलाई थुनुवा पुर्जी दिएर जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा राखिएको छ। आज उनलाई अदालतमा उपस्थित गराउने प्रहरीको तयारी छ।
वैयक्तिक गोपनीयतासम्बन्धी कसुरमा पक्राउ परेका श्रेष्ठमाथि अनुसन्धानका क्रममा प्रकाशित सामग्रीको प्रकृति, त्यसमा उल्लेखित विवरण तथा सम्बन्धित व्यक्तिको गोपनीयतामा परेको असरलगायत विषयमा छानबिन हुने प्रहरीले जनाएको छ।
श्रेष्ठ लामो समयदेखि पत्रकारिता क्षेत्रमा सक्रिय छन्। उनको पक्राउपछि समाचार प्रकाशन तथा अभिव्यक्ति स्वतन्त्रतासँग सम्बन्धित विषयमा पत्रकारलाई पक्राउ गर्नु उचित नभएको भन्दै बहस सुरु भएको छ। पत्रकारिता क्षेत्रले यस्ता विषय प्रेस काउन्सिल तथा स्थापित कानुनी प्रक्रियामार्फत समाधान गर्नुपर्ने बताएको छ।
श्रेष्ठलाई समाचार प्रकाशनको विषयलाई लिएर प्रहरीले पक्राउ गरेपछि पत्रकारिता क्षेत्र आन्दोलित भएको छ। उनको पक्राउको विरोधमा नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्मा, प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डेलगायत पत्रकार तथा सञ्चारकर्मी काठमाडौं प्रहरी परिसर पुगेका थिए।
उनीहरूले परिसरअगाडि नाराबाजी गर्दै श्रेष्ठको तत्काल रिहाइको माग गरेका थिए। पत्रकारहरूले समाचार प्रकाशनको विषयलाई लिएर सम्पादकलाई पक्राउ गर्नु प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप भएको बताएका छन्।
समाचारमा चित्त नबुझे कानुनी तथा प्रेससम्बन्धी स्थापित प्रक्रियाबाट समाधान खोज्न सकिने भन्दै पत्रकारलाई नै पक्राउ गरी हिरासतमा राख्ने कार्य स्वीकार्य नहुने उनीहरूको भनाइ छ।
प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संवैधानिक अधिकारमाथि कुनै पनि प्रकारको हस्तक्षेप हुन नहुने भन्दै पत्रकार महासंघलगायत संस्थाले सरकार र सुरक्षा निकायको ध्यानाकर्षण गराएका छन्। उनीहरूले पत्रकारलाई निर्भीक रूपमा समाचार लेख्ने र प्रकाशित गर्ने वातावरण बनाउनसमेत माग गरेका छन्।
जनआस्थाका विगतका समाचारका विषयलाई लिएर यसअघि पनि सामाजिक सञ्जालमा बहस हुने गरेका थिए।
विश्व प्रेस काउन्सिलका वरिष्ठ उपाध्यक्षसमेत रहेका श्रेष्ठ प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्ष तथा नेपाल पत्रकार महासंघका पूर्वमहासचिव हुन्।




