काठमाडौं– अटो फाइनान्सिङमा कर्जा प्रवाह बढ्दै गएसँगै जोखिम व्यवस्थापन, बीमा दाबीलाई सहज बनाउने र ग्राहकलाई छिटो कर्जा उपलब्ध गराउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन्। ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’का अवसरमा नेपाल अटोमोबाइल इम्पोटर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले आयोजना गरेको ‘मोबिलाइजिङ मोबिलिटी थ्रु फाइनान्स एन्ड इन्स्योरेन्स’ विषयक नाइमा मोबिलिटी संवादमा उनीहरूले यस्तो धारणा राखेका हुन्।
नेपाल राष्ट्र बैंकका निर्देशक सत्येन्द्र सुवेदीले कर्जामा जोखिम घटाउन लोन–टु–भ्यालु (एलटीभी) अनुपात महत्वपूर्ण रहेको बताए। उनका अनुसार हायर पर्चेज कर्जामा ईभीका लागि ८० प्रतिशत र आन्तरिक दहन इन्जिन (आईसी) गाडीका लागि ६० प्रतिशत एलटीभी कायम गरिएको छ।
उनले ब्याजदर बढ्दा ऋणीमा पर्ने जोखिम न्यूनीकरण गर्न पनि एलटीभी अनुपात आवश्यक रहेको बताए। हाल कुल ६० खर्ब रुपैयाँ कर्जामध्ये हायर पर्चेज कर्जाको हिस्सा १ खर्ब ४२ अर्ब रुपैयाँ रहेको र यो अघिल्लो वर्षको तुलनामा करिब १० प्रतिशतले बढेको उनले जानकारी दिए।

एनएलजी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सुनिल बल्लभ पन्तले बीमा दाबी प्रक्रियाबारे रहेको भ्रमका कारण समस्या देखिएको बताए। क्षतिको सही विवरण र आवश्यक प्रमाण तथा कागजात पेस गरे दाबी फर्छ्योट सहज हुने उनको भनाइ छ। बीमा दाबीको प्रक्रिया पारदर्शी बनाउन ड्यासबोर्डमार्फत प्रगति देखाउने व्यवस्था आवश्यक रहेको उनले बताए।
हुलास फिनसर्भ हायरपर्चेजका प्रमुख कार्यकारी अधिकृत समिर ठाकुरले बैंकसम्म पुग्न नसक्ने साना कर्जाका ग्राहकलाई हायर पर्चेज कम्पनीले सेवा दिइरहेको बताए। उनका अनुसार कम्पनीहरूले हालसम्म करिब ४० अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन्, जसमा ८० प्रतिशत सवारीसाधन र २० प्रतिशत मोबाइल कर्जामा गएको छ। हायर पर्चेजबाट केही घण्टामै कर्जा उपलब्ध गराउन सकिने उनले बताए।
ग्लोबल आईएमई बैंकका चिफ मार्केटिङ अफिसर राजा अर्यालले स्थिर आम्दानी भएका युवा ग्राहकमा अटो कर्जाको आकर्षण बढेको बताए। उनका अनुसार ६० प्रतिशत कर्जा लिने ग्राहक ४० वर्षभन्दा कम उमेरका छन्। काठमाडौंमा केन्द्रित रहेको अटो कर्जा विस्तारै मोफसलका सहरतर्फ पनि विस्तार भइरहेको उनले बताए।







