विराटनगर , असोज २६
संघीय समाजवादी फोरम मोरङ क्षेत्र नम्बर ३ का अध्यक्ष र सहसचिवको सडक दुर्घटनामा परी मृत्यु भएको छ ।
विहीबार साँझ पूर्वपश्चिम राजमार्ग अन्तरगत बेलवारी ४ बेतना सिमसार नजिकै भएको दुर्घटनामा फोरम मोरङ क्षेत्र नम्बर ३ का अध्यक्ष वर्णबहादुर राई र सहसचिव मनकुमार राईको मृत्यु भएको हो ।
बेलबारीबाट लक्ष्मीमार्ग फर्कदै गरेका राईद्वय सवार को १२ प ९६८२ नम्बरको मोटरसाइकललाई पूर्वबाट पश्चिम आउँदै गरेको ना ५ ख १९२० नम्बरको ट्रकले ठक्कर दिएको थियो ।
दुर्घटनामा घाइते भएका दुवैजनाको धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।