काठमाडाैं- काठमाडौंमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ मा प्रोटोनका दुई इलेक्ट्रिक एसयूभीले दर्शक तथा ग्राहकको ध्यान खिचिरहेका छन्। एक्स्पोको हल ‘बी’स्थित स्टल नम्बर ए–६ मा प्रदर्शनमा राखिएका नयाँ प्रोटोन ईमास ५ र ईमास ७ अवलोकन गर्न ग्राहकको उल्लेख्य उपस्थिति देखिएको छ।
प्रोटोन ईमास ५ कम्प्याक्ट तथा सहरी प्रयोगलाई लक्षित गरी ल्याइएको इलेक्ट्रिक एसयूभी हो। रियर–ह्विल–ड्राइभ प्लेटफर्म, स्मार्ट स्टोरेज, १४.६ इन्चको फुल एचडी डिस्प्ले, ३७५ लिटरको बुट स्पेस तथा बाह्य विद्युतीय उपकरण सञ्चालन गर्न मिल्ने भेहिकल–टु–लोड (भीटूएल) प्रविधि यसका प्रमुख विशेषता हुन्।
ईमास ५ ‘प्राइम’ र ‘प्रिमियम’ गरी दुई भेरियन्टमा उपलब्ध छ। कम्पनीका अनुसार यसको मूल्य क्रमशः ३२ लाख ९९ हजार र ३६ लाख ९९ हजार रुपैयाँ तोकिएको छ।

त्यस्तै, प्रोटोन ईमास ७ ठूलो आकारको इलेक्ट्रिक एसयूभी हो। फराकिलो स्पेस, उच्च प्रदर्शन र लामो दूरीको यात्रालाई लक्षित गरिएको यो गाडीमा १६० किलोवाटको इलेक्ट्रिक मोटर र ५९.५२ किलोवाट–आवरको एलएफपी ब्याट्री प्रयोग गरिएको छ। कम्पनीका अनुसार यसले एकपटकको चार्जमा करिब ३४५ किलोमिटरको डब्लुएलटीपी रेन्ज दिन्छ।
ईमास ७ मा एडीएएस प्रविधि र १५.४ इन्चको डिस्प्ले रहेको छ। यो पनि ‘प्राइम’ र ‘प्रिमियम’ गरी दुई भेरियन्टमा उपलब्ध छ। कम्पनीको वेबसाइटमा यसको मूल्य क्रमशः ४९ लाख ९९ हजार र ५९ लाख ९९ हजार रुपैयाँ उल्लेख गरिएको छ।
नेपालमा विद्युतीय सवारीसाधनप्रतिको आकर्षण बढिरहेका बेला प्रोटोनका यी दुई मोडलले फरक–फरक ग्राहक समूहलाई लक्षित गरेका छन्। ईमास ५ सहरी तथा दैनिक प्रयोगका लागि उपयुक्त विकल्पका रूपमा प्रस्तुत गरिएको छ भने ईमास ७ पारिवारिक प्रयोग र लामो दूरीको यात्राका लागि लक्षित ठूलो इलेक्ट्रिक एसयूभीका रूपमा बजारमा आएको छ।
जगदम्बा मोटर्सका अनुसार साउन २६ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजित एक्स्पोमा प्रोटोनका दुवै मोडल प्रत्यक्ष अवलोकन तथा टेस्ट ड्राइभका लागि उपलब्ध गराइएको थियो। कम्पनीले ग्राहकलाई गाडीका विशेषता, मूल्य, स्वामित्व तथा बुकिङ विकल्पबारे जानकारीसमेत उपलब्ध गराएको जनाएको छ।
नाइमा एक्स्पोमा प्रोटोनको स्टलमा उपस्थित भई गाडी अवलोकन तथा चासो व्यक्त गर्ने ग्राहकलाई कम्पनीले धन्यवाद दिँदै आगामी दिनमा पनि ग्राहकलाई थप उत्कृष्ट अनुभव प्रदान गर्ने प्रतिबद्धता जनाएको छ।




