३० साउन , काठमाण्डौ ।
जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव तीव्र रूपमा रहेको छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ आफ्नो सरदर स्थानको आसपासमा रहेको छ भने पश्चिमतर्फ सरदर स्थानभन्दा केही उत्तरतर्फ सरेको हुनाले देशका विभिन्न स्थानमा वर्षा भइरहेको महाशाखाले जनाएको छ।
मनसुनी प्रणालीको प्रभावका कारण अहिले कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागहरूमा साधारणतया बदली रहेको छ। त्यसैगरी, मधेस प्रदेशका साथै गण्डकी र लुम्बिनी प्रदेशका तराईका भूभागहरूमा भने आंशिक रूपमा बादल लागेको छ।

हाल कोशी, बागमती र लुम्बिनी प्रदेशका केही स्थानहरू, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरू तथा गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम स्तरको झरी परिरहेको छ। आज दिउँसो देशभरको मौसम साधारणतया बदली नै रहने अनुमान गरिएको छ।
देशका हिमाली र पहाडी भूभागका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। यस्तै, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानहरू, साथै मधेस, कोशी, बागमती र गण्डकी प्रदेशका तराई भूभागका थोरै स्थानहरूमा पनि चट्याङ्गसहित मध्यम वर्षा हुने पूर्वानुमान छ।
विशेषगरी बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागहरू तथा लुम्बिनी प्रदेशका पहाडी र तराई दुवै भूभागका एक–दुई स्थानमा भने भारी वर्षा पर्ने सम्भावना रहेको छ। आज रातिको समयमा देशका हिमाली र पहाडी भूभागहरूमा साधारणतया बादल लाग्नेछ भने तराईका भूभागहरूमा आंशिक बदली रहनेछ।
रातिको समयमा पनि देशका हिमाली र पहाडी भूभागका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुनेछ। गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थानहरू तथा मधेस, कोशी र बागमती प्रदेशका तराई भूभागका एक–दुई स्थानमा मेघगर्जनसहित पानी पर्ने सम्भावना छ।
महाशाखाका अनुसार राति पनि बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको प्रबल सम्भावना रहेको छ। भारी वर्षाको सम्भावना रहेका पहाडी क्षेत्रमा पहिरो तथा तराईका क्षेत्रमा डुबानको जोखिम हुन सक्ने भएकाले यात्रा गर्दा र नदी तटीय क्षेत्रमा बसोबास गर्नेहरूले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
आगामी नयाँ र थप मौसम विवरण तथा अन्य देशविदेशका समाचारका लागि नेपाल टाइम्स अनलाइन टेलिभिजनका हाम्रा अन्य प्रसारणहरू हेर्दै गर्नुहोला, तपाईंहरूको दिन शुभ र सुरक्षित रहोस्, नमस्कार।






