काठमाडौं । नेपालमा युवालाई स्वदेशमै अवसर सिर्जना गरी विदेशिने बाध्यतालाई रोजाइमा बदल्न शिक्षा, सीप, उद्यमशीलता र उद्योगबीचको खाडल पुर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले आयोजना गरेको नाइमा मोबिलिटी एक्स्पो २०२६ का अवसरमा ‘प्रतिभा भित्र्याउने र कामदार बाहिर पठाउने : प्रक्रियामार्फत नेपालमा शिक्षा, सीप र उद्यमशीलताको खाडल पुर्ने’ विषयमा आयोजित संवादमा सहभागी वक्ताले यस्तो धारणा राखेका हुन् ।
उद्यमी तथा सांसद विदुषी राणाले नेपालबाट युवाको विदेशिने क्रम बाध्यताको नभई रोजाइको विषय बन्नुपर्ने बताइन् । नेपालमा उद्योग, सूचना प्रविधि, होटल तथा अटोमोबाइललगायत क्षेत्रमा पर्याप्त सम्भावना भए पनि नीतिगत जटिलता र अवसरको कमीका कारण युवा विदेशिन बाध्य भएको उनको भनाइ थियो ।
युवालाई स्वदेशमै रोक्न सरकार र निजी क्षेत्र मिलेर रोजगारी तथा उद्यमशीलतामैत्री वातावरण बनाउनुपर्नेमा उनले जोड दिइन् । व्यवसाय सुरु गर्दा दर्ता, कर, अनुमति र वित्तीय स्रोतका लागि विभिन्न कार्यालय धाउनुपर्ने अवस्थाको अन्त्य गर्दै ‘वान विन्डो सिस्टम’ लागू गर्नुपर्ने उनको सुझाव छ ।

नाइमा संस्थापक तथा उद्यमी सौरभ ज्योतीले आगामी ५ देखि १० वर्षमा नेपालको अटोमोबाइल क्षेत्रलाई ‘मेक इन नेपाल’बाट ‘मेड इन नेपाल’तर्फ लैजान सकिने बताए । त्यसका लागि एसेम्ब्ली उद्योगसँगै पार्टपुर्जा तथा कम्पोनेन्टको स्थानीय उत्पादन र आपूर्ति शृंखला विकास गर्नुपर्ने उनले बताए ।
शिक्षा क्षेत्र र निजी क्षेत्रबीच ठूलो खाडल रहेको उल्लेख गर्दै ज्योतीले उद्योगको आवश्यकताअनुसार पाठ्यक्रम विकास गर्नुपर्नेमा जोड दिए । निजी क्षेत्रले ठूलो हिस्सा रोजगारी सिर्जना गरिरहेको भन्दै उद्यमी र लगानीप्रति विश्वास तथा सुरक्षाको वातावरण बनाउन सके अर्थतन्त्रले गति लिने उनको भनाइ थियो ।
थापाथली क्याम्पसका एसोसिएट प्रोफेसर लोचन केन्द्र देवकोटाले विश्वविद्यालयबाट अध्ययन पूरा गर्दैमा विद्यार्थीले भोलिपल्टदेखि नै उद्योगमा आवश्यक सबै काम गर्न सक्ने अवस्था नहुने बताए । विश्वविद्यालयले सैद्धान्तिक आधार बलियो बनाउने भएकाले उद्योगमा आवश्यक व्यावहारिक सीप विकासका लागि विश्वविद्यालय, उद्योग र सरकारबीच सहकार्य आवश्यक रहेको उनले बताए ।
उनले पाठ्यक्रम निर्माणदेखि इन्टर्नसिप, अनुसन्धान, विद्यार्थी परियोजना र रोजगारीसम्मको प्रणालीलाई उद्योगसँग जोड्नुपर्ने बताए । विश्वविद्यालयको अनुसन्धान तथा विद्यार्थी परियोजनामा लगानी बढाउनुपर्ने उनको सुझाव छ ।
त्रिभुवन विश्वविद्यालयअन्तर्गत पद्मकन्या क्याम्पसकी प्राध्यापक भगवती सेढाईले नेपालमा अवसर छैन भन्ने भाष्य निर्माण गरेर युवालाई निराश बनाउन नहुने बताइन् । नेपालमै शिक्षा, सीप र रोजगारीका अवसर सिर्जना गर्न सकिने भन्दै उनले सरकार, निजी क्षेत्र, शैक्षिक संस्था र युवाबीच सहकार्य आवश्यक रहेको बताइन् ।
उद्योगलाई आवश्यक पर्ने जनशक्तिबारे उद्योगी–व्यवसायीसँग छलफल गरी पाठ्यक्रम निर्माण गर्नुपर्नेमा जोड दिँदै सेढाईले उद्यमशीलता तथा स्वरोजगारसम्बन्धी नीति बने पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन नसकेको बताइन् । निजी क्षेत्रलाई सीप विकासमा लगानी गर्न प्रोत्साहन गर्नुपर्ने उनको सुझाव छ ।
संवादमा सहभागी चारै जना वक्ताले शिक्षा र रोजगारीबीचको दूरी घटाउन उद्योगसँग प्रत्यक्ष सहकार्य, व्यावहारिक सीप, इन्टर्नसिप तथा अप्रेन्टिससिपलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए । नेपालमा पर्याप्त अवसर सिर्जना गर्न सके दक्ष युवा विदेशिने क्रम घटाउनुका साथै विदेशिएका युवालाई समेत स्वदेश फर्कने वातावरण बनाउन सकिने उनीहरूको निष्कर्ष थियो ।




