१ भदौ , काठमाण्डौ ।
भारतको बिहारस्थित प्रसिद्ध इन्द्रदमनेश्वर महादेव मन्दिर, अशोकधामनजिक सोमबार बिहान भागदौड मच्चिँदा सात महिला श्रद्धालुको मृत्यु भएको छ। घटनामा अन्य केही व्यक्ति घाइते भएका छन्। भारतीय संचारमाध्यामहरुका अनुशार , सोमबार बिहानैदेखि अशोकधाम मन्दिर र त्यसको वरपरको क्षेत्रमा विशेष सोमबारको व्रतका लागि लाखौँको सङ्ख्यामा भक्तजनहरूको घुइँचो लागेको थियो।
लखिसरायका सब–डिभिजनल प्रहरी अफिसर (एसडीपीओ) शिवम कुमारले सञ्चारमाध्यमलाई दिएको जानकारी अनुसार, मन्दिरको मूल गर्भ गृह तथा प्रवेशद्वार आसपास भक्तजनहरूको अत्यधिक चापका कारण स्थिति अनियन्त्रित बन्न पुगेको थियो।

पूजा तथा दर्शनका लागि घण्टौँदेखि लाइनमा उभिएका श्रद्धालुहरूको धैर्यता टुट्दा र केही मानिसहरूले नियम मिचेर जबर्जस्ती अगाडि बढ्ने प्रयास गर्दा ठुलो मानवीय क्षति हुन पुग्यो। घटनामा हालसम्म सातजनाको ज्यान गएको पुष्टि भइसकेको छ भने अन्य ६ भन्दा बढी गम्भीर घाइते भएका छन्।
घाइतेहरूलाई तत्काल स्थानीय प्रशासन र सुरक्षाकर्मीको सहयोगमा उद्धार गरी नजिकैको सदर अस्पताल तथा विशेष उपचार केन्द्रहरूमा भर्ना गरिएको छ। चिकित्सकहरूको टोली घाइतेहरूको उपचारमा खटिएको छ भने केही गम्भीर घाइतेहरूको अवस्था चिन्ताजनक रहेको बताइएको छ।
घटनास्थलमा उपस्थित एक प्रत्यक्षदर्शी महिलाले सञ्चारमाध्यम पीटीआईसँग कुरा गर्दै उक्त समयको हृदयविदारक दृश्य बयान गरेकी छिन्। उनका अनुसार, महिला भक्तजनहरू लामो समयदेखि लाइनमा आफ्नो पालो कुरेर बसिरहेका थिए । तर, त्यहीबीचमा १० देखि १२ जनाको समूहमा रहेका केही व्यक्तिहरू जबर्जस्ती लाइन मिचेर अगाडि छिर्न खोजे र अरूलाई ठेस पुर्याउन थाले।
स्थिति यति छिटो बिग्रियो कि त्यसको केही सेकेन्डभित्रै करिब २० देखि २५ जना महिलाहरू एक–अर्कामाथि लडे र किचिन पुगे। लाइनमा अनुशासनको अभाव, भीड व्यवस्थापनमा कमजोरी र केही मानिसहरूको अदूरदर्शिता तथा हतारोका कारण यो ठुलो दुर्घटना निम्तिएको स्थानीयहरूको गुनासो छ।
घटनाको खबर पाएसलगत्तै स्थानीय प्रहरी, प्रशासन र राहत टोली तत्काल घटनास्थलमा पुगेर उद्धार तथा राहत कार्यलाई तीव्रता दिएको थियो। भागदौड मच्चिएपछि केही समयका लागि मन्दिर परिसर पूर्ण रूपमा रणभूमि जस्तै बनेको थियो भने मानिसहरूको भागाभाग मच्चिएको थियो।
अशोकधाम हल्टमा एकैपटक दुवै दिशाबाट रेल आएपछि अचानक भागदौड मच्चिएको थियो। त्यस क्रममा केही श्रद्धालु दौडिन थालेपछि बाटोमा लगाइएको बाँसको बार भत्किएको र बिजुलीको पोलसमेत ढलेको थियो। पोल ढलेपछि बिजुलीको करेन्ट फैलिएको हल्ला तीव्र रूपमा फैलिँदा श्रद्धालुहरूमा त्रास उत्पन्न भएको थियो।
सुरक्षित रूपमा बाहिर निस्कने क्रममा मानिसहरू यताउता भाग्न थालेपछि भीडको दबाब बढेर भागदौडको अवस्था सिर्जना भएको प्रशासनले जनाएको छ। जिल्ला प्रशासनका अनुसार घटनाका बेला विद्युत् आपूर्ति बन्द थियो र बिजुलीका तारसमेत कभर गरिएको थियो।
त्यसैले श्रद्धालुको मृत्यु करेन्ट लागेर नभई भागदौडका क्रममा भीडमा च्यापिएर भएको हो। घटनापछि ११ हजार भोल्टको हाइटेन्सन तारको करेन्ट लागेर श्रद्धालुको मृत्यु भएको सूचना फैलिएको थियो। यसले घटनास्थलमा थप त्रास सिर्जना गरेको थियो।
तर जिल्ला अधिकारी शैलेन्द्र कुमार र अतिरिक्त जिल्ला अधिकारी नीरज कुमारले पत्रकार सम्मेलनमार्फत कुनै पनि श्रद्धालुको मृत्यु करेन्ट लागेर नभएको स्पष्ट पारेका छन्। प्रशासनका अनुसार भागदौडका क्रममा मानिसहरू एकअर्कामाथि खस्दा सात महिला श्रद्धालु भीडमा च्यापिएका थिए।
मृत्यु हुने सात महिला श्रद्धालुमध्ये चार जनाको पहिचान भएको छ। उनीहरूमा हलसीकी ५५ वर्षीया हेमलता देवी, ललिता देवी, मुंगेरकी ५० वर्षीया रिंकु देवी र बडहियाकी ४४ वर्षीया मनमाला देवी रहेका छन्। बाँकी मृतकको पहिचान गर्ने प्रक्रिया जारी रहेको प्रशासनले जनाएको छ।
मृतकको पहिचान गरी परिवारसँग सम्पर्क गर्ने काम भइरहेको छ। एसडीपीओ शिवम कुमारले घटनाको गम्भीरतालाई ध्यानमा राख्दै उच्च स्तरीय छानबिन थालिएको बताएका छन्। स्थानीय प्रशासनले भीड नियन्त्रणमा कहाँ र कसरी चुक भयो तथा दोषी पक्षहरूको पहिचान गर्न विस्तृत अनुसन्धान सुरु गरेको जनाएको छ।
अशोकधाम मन्दिर लखीसराय जिल्लाको मात्र नभई सम्पूर्ण बिहारकै एक अति महत्त्वपूर्ण र प्रतिष्ठित धार्मिक तथा सांस्कृतिक धरोहर हो। यहाँ विशेष गरी साउन महिनाको प्रत्येक सोमबार लाखौँको सङ्ख्यामा बोलबम तथा स्थानीय श्रद्धालुहरू जल अर्पण गर्न आउने गर्दछन्।
यति ठुलो भीडभाड हुने मन्दिर परिसरमा पर्याप्त सुरक्षा प्रबन्ध र व्यवस्थित क्यु (लाइन) व्यवस्थापनको अभाव खड्किएको भन्दै स्थानीय बुद्धिजीवी तथा भक्तजनहरूले चर्को असन्तुष्टि व्यक्त गरेका छन्।




