ओमानलाई बमले उडाइदिने धम्की,सकियो इस्लामाबाद सम्झौताको म्याद

२ भदौ , काठमाण्डौ ।
अमेरिका र इरानबिच गत जुनमा भएको ६० दिने शान्ति सम्झौताको म्याद सोमबार समाप्त भएको छ। यसको उद्देश्य दुई देशबिच जारी युद्ध स्थायी रूपमा अन्त्य गर्नु थियो। तर यसबिच न अन्तिम सम्झौता भयो न अमेरिकाले इरानमा ठुलो आक्रमण नै ग¥यो।

Advertisement

६० दिनको अवधिमा अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बारम्बार धम्की दिएका थिए– वार्ता असफल भयो भने अमेरिका इरानविरुद्ध सैन्य कारबाहीका लागि पूर्ण रूपमा तयार छ। अनि यो विश्वास गरिएको थियो कि समयसीमा समाप्त हुनेबित्तिकै अमेरिकाले इरानमा भीषण हमला गर्न सक्छ।

तर समयसीमा सकिनुभन्दा ठिकअगाडि ट्रम्पको अडान परिवर्तन भएको देखियो। एक्सियोससँगको अन्तर्वार्तामा उनले भनेका छन्, ‘हामी पहिलेभन्दा नरम दृष्टिकोण अपनाइरहेका छौँ।’ अर्काेतर्फ ट्रम्पले ओमान बमबारी गर्ने धम्की दिएका छन् ।

Advertisement

इरानसँगको वार्तामा अवरोध पु¥याए ओमानमा बमबारी गर्ने धम्की ट्रम्पले दिएको फक्स न्यूजलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । स्ट्रेट अफ होर्मुजमा इरानी अवरोध हटाउनका लागि अमेरिका र ओमानले इरानसँग छुट्टाछुट्टै वार्ता गरिरहेका छन् ।

वार्ता भइरहेका बेला ट्रम्पले यस्तो चेतावनी दिएका हुन् । इरानले ओमानसँग चलिरहेको वार्ता परिणाम उन्मुख भइरहेको बताएपछि ट्रम्पबाट यस्तो प्रतिक्रिया आएको हो। गत फेब्रुअरीमा अमेरिका र इजरायलले संयुक्त रूपमा इरानमाथि आक्रमण गरेसँगै स्ट्रेट अफ होर्मुजमा इरानी अवरोध कायम हुँदै आएको छ ।

Advertisement

विश्वलाई नै प्रभावित पार्ने इरानी अवरोध हटाउनका लागि विभिन्न पहल भइरहेको छ। स्ट्रेट अफ होर्मुजको दक्षिणी क्षेत्रमा पर्ने ओमानले यस मामिलामा आफू तटस्थ रहेको बताउँदै आएको छ । ओमानले पटक–पटक इरानी हमलासमेत व्यहोरिसकेको छ ।

यद्यपि, होर्मुजको निर्बाध सञ्चालनका लागि उसले तेहरासँग संवादमा महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेको बीबीसीले जनाएको छ ।यता अमेरिकाले पनि वार्ता जारी राखेको छ । उक्त वार्ताबारे फक्स न्युजसँगको संवादमा ट्रम्पले भनेका छन्,’’यदि ओमानले वार्तामा अमेरिकालाई अवरोध पु¥याइएमा उसले बमबारीको सामाना गर्नुपर्नेछ ।’’

स्ट्रेट अफ होर्मुजमा इरानी अवरोध हटाउन अमेरिकाले त्यहाँको सैन्य नेतृत्वसँग संवाद गरिरहेको ट्रम्पले बताएका छन् । ट्रम्पको यो दाबीमा इरानी सेनाका प्रवक्ताले खण्डन गरेको बीबीसीले उल्लेख गरेको छ । ’’इरानसँग युद्ध जित्न नसकेपछि पराजित मानसिकताका कारण ट्रम्पले भ्रामक सन्देश फैलाइरहेका छन्,’’ इरानी सेनाका प्रवक्ताको भनाइ उद्धृत गर्दै बीबीसीले भनेको छ ।

इरानको विदेश मन्त्रालयले ओमानसँगको वार्तामा ढुवानीको नयाँ रुटको विषयमा केही समझदारी बनेको बताएको छ । समझदारी अन्तिम चरणमा पुगेसँगै दुवै पक्षले संयुक्त वक्तव्य जारी गर्ने इरानी विदेश मन्त्रालयको भनाइ छ ।

अघिल्लो महिना इरानी विदेशमन्त्री अब्बास अघर्चीले अमेरिकाले इरानमा गरेको विध्वंसको क्षतिपूर्ति तिरेपछि मात्रै होर्मुजको निर्बाध सञ्चालन गर्ने बताएका थिए। इरानले कार्गोको ५ देखि सात प्रतिशत रकम असुलेर होर्मुजबाट जहाज पठाउने तयारी गरिरहेको रोयटर्सले उल्लेख गरेको थियो ।

इरान र अमेरिकाबीच गत जुन १८ मा होर्मुज सञ्चालनका लागि युद्धविराम गर्ने समझदारी भएको थियो । दुवै पक्षले हमला सुरु गरेका थिए । ट्रम्पले सामाजिक सञ्जाल ट्रुथमा लेखेका छन्,’’इरानलाई परमाणु हतियार राख्न नदिनु नै अमेरिकी लक्ष्य हुनेछ ।’’

इरानले वर्तमान द्वन्द्वको अन्त्य ‘इस्लामाबाद सम्झौता’ को पूर्ण कार्यान्वयनमा निर्भर रहने स्पष्ट पार्दै, अमेरिकाले आफ्ना उत्तरदायित्वहरू पूरा नगरेसम्म सामरिक रूपमा अति संवेदनशील मानिने होर्मुज स्ट्रेट बन्द रहने चेतावनी दिएको छ। इरानको रिभोल्युसनरी गाड्र्सका उप–राजनीतिक कमान्डर यदुल्लाह जवानीले यो चेतावनी दिएपछि विश्वभरका अर्थतन्त्र र इन्धन आपूर्ति चक्रमा थप चासो र चिन्ता बढेको छ।

बीबीसी फारसीबाट प्राप्त विवरण अनुसार, इस्लामिक रिपब्लिक रेडियो र टेलिभिजनसँग सम्बद्ध ‘यंग जर्नलिस्ट्स क्लब’ लाई एक विशेष अन्तर्वार्ता दिँदै कमान्डर जवानीले युद्धको भविष्य र रणनीतिक जलमार्गको नियन्त्रणबारे कडा धारणा सार्वजनिक गरेका छन्।

उनले भनेका छन्, “अमेरिकाले ‘इस्लामाबाद सम्झौता’ अन्तर्गतका आफ्ना सम्पूर्ण उत्तरदायित्व र सर्तहरू पूरा गरेपछि मात्र होर्मुज स्ट्रेट खुला गरिनेछ।“ कमान्डर जवानीले हालैको द्वन्द्वअघिको अवस्था अब कहिल्यै फर्केर नआउने दाबी गरेका छन्।

उनका अनुसार अमेरिका, इजरायल र उनीहरूका सहयोगी शक्तिहरूले विगत केही महिनादेखि यस सामरिक जलमार्गमा एकलौटी नियन्त्रण कायम गर्ने हरसम्भव प्रयास गरे पनि इरान र उसका सहयोगीहरूको प्रतिरोधका कारण उनीहरू पूर्ण रूपमा असफल भएका छन्।

जवानीले इरान र ओमानबिचको जलमार्ग सम्बन्धमा भइरहेका कूटनीतिक चर्चा तथा बहसहरू युद्धपछिको भूराजनीतिक अवस्थाका लागि मात्र लक्षित रहेको बताएका छन्। उनले युद्धको अन्त्य कुनै न कुनै रूपमा निश्चित रहेको उल्लेख गर्दै भविष्यको सुरक्षा व्यवस्थापन नयाँ सर्त र सम्झौताका आधारमा मात्र तय हुने दोहोर्याएका छन्।

ऊर्जा बजार र ढुवानी विश्लेषण गर्ने प्रतिष्ठित संस्था ‘केप्लर’ ले हालै सार्वजनिक गरेको तथ्याङ्क अनुशार शनिबार जम्मा ५ वटा मात्र मालवाहक तथा तेल ट्याङ्करहरू होर्मुज स्ट्रेट पार गरेर गुज्रिएका थिए। त्यसको भोलिपल्ट आइतबार यस सामरिक मार्गबाट एउटा पनि जहाज वारपार नगरेको औपचारिक तथ्याङ्कमा रेकर्ड गरिएको छ।

ठीक अघिल्लो साताको सोही दिनहरूमा (शनिबार र आइतबार) मात्रै यस मार्गबाट ३१ वटा भन्दा बढी ठूला जहाजहरूले सुरक्षित रूपमा ओहोरदोहोर गरेका थिए। यसले जलमार्ग पूर्ण रूपमा अवरुद्ध जस्तै भएको देखाएको छ ।

विश्वको कुल इन्धन खपतको एक चौथाइ हिस्सा ओगट्ने कच्चा तेल यही होर्मुज स्ट्रेट भएर अन्तर्राष्ट्रिय बजारमा पुग्ने गर्दछ। हाल यो मार्ग अवरुद्ध हुँदा वा यातायात ठप्प प्रायः हुँदा मध्यपूर्वको खाडीबाट हुने तेल तथा ग्यास आपूर्तिमा गम्भीर संकट उत्पन्न भएको छ।

अर्काेतर्फ यमनका हुथी विद्रोहीले सोमबार लाल सागरमा साउदी अरबको सैन्य जहाज र त्यससँगै आएका अन्य चार जहाजमा क्षेप्यास्त्र प्रहार गरिएको बताएको छ। बीबीसी फारसीका अनुसार, इरान समर्थित हुथी समूहका सैन्य प्रवक्ता याह्या सारीले टेलिग्राममा उक्त दाबी गरेका हुन्।

यद्यपि साउदी अरबले हुथी सशस्त्र समूहको दाबीको जवाफ दिएको छैन। इरान समर्थित हुथी सशस्त्र समूहले उत्तरपश्चिम यमनको ठुलो क्षेत्र कब्जा गरेको छ। अमेरिका र इजरायलले इरानमा आक्रमण गरेपछि सरकारी सेना र हुथीबिच झडप बढेको छ।

यमनको गृहयुद्धमा साउदी नेतृत्वको गठबन्धनले सरकारी सेनालाई समर्थन गरेको छ। यस क्षेत्रमा लाल सागरमा जहाजमा आक्रमण हुँदा समुद्री व्यापारमा चिन्ता बढेको छ। यस वर्ष फेब्रुअरीदेखि इरानले हर्मुज जलमार्ग बन्द गरेदेखि केही ट्यांकरले यो वैकल्पिक समुद्री मार्ग प्रयोग गरिरहेका छन्।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top