काठमाडौं, २ भदौ । भारत र नेपालबीच डिजिटल भुक्तानी कनेक्टिभिटी थप सुदृढ हुने भएको छ। नेशनल पेमेन्ट्स कर्पोरेशन अफ इन्डिया (एनपीसीआई) को अन्तर्राष्ट्रिय शाखा एनपीसीआई इन्टरनेशनल पेमेन्ट्स लिमिटेड (एनआईपीएल) ले दुई देशबीच निर्बाध सीमापार डिजिटल भुक्तानी प्रणाली विस्तार गर्ने प्रतिबद्धता दोहोर्याएको हो।
एनआईपीएलका अनुसार भारतबाट नेपाल र नेपालबाट भारतमा रियल–टाइममा रकम पठाउन सकिने गरी दुईतर्फी ‘पर्सन–टू–पर्सन’ (पीटूपी) भुक्तानी प्रणाली सञ्चालनमा छ। यस्तै, भारतीय यात्रुले यूपीआईमार्फत नेपालका विभिन्न व्यावसायिक प्रतिष्ठानमा क्यूआर कोड स्क्यान गरी तत्काल, सुरक्षित र सहज रूपमा भुक्तानी गर्न सक्नेछन्।
भारतको युनिफाइड पेमेन्ट्स इन्टरफेस (यूपीआई) र नेपालको नेशनल पेमेन्ट्स इन्टरफेस (एनपीआई) बीचको रेमिट्यान्स सम्बन्ध तथा नेपाल आउने भारतीय यात्रुमा क्यूआरमा आधारित यूपीआई भुक्तानीको बढ्दो प्रयोगले दुई देशबीचको डिजिटल भुक्तानी कनेक्टिभिटीलाई थप बलियो बनाएको एनआईपीएलले जनाएको छ।

भारतको रियल–टाइम अकाउन्ट–टू–अकाउन्ट भुक्तानी प्रणाली यूपीआईमार्फत मासिक २३ अर्बभन्दा बढी वित्तीय कारोबार हुने गरेको छ। अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले यूपीआईलाई विश्वकै ठूलो भुक्तानी प्रणालीका रूपमा उल्लेख गर्दै विश्वभर हुने रियल–टाइम भुक्तानीको करिब ५० प्रतिशत हिस्सा यसले समेट्ने जनाएको छ।
नेपाल आउने भारतीय पर्यटकका लागि पनि यूपीआई भुक्तानी सहज माध्यम बन्दै गएको छ। सन् २०२५ मा २ लाख ९० हजारभन्दा बढी भारतीय पर्यटक नेपाल आएका थिए। मनोरञ्जन, धार्मिक यात्रा, व्यापार तथा पारिवारिक सम्बन्धका कारण नेपाल आउने भारतीय पर्यटकका लागि यूपीआईले नगद बोकेर हिँड्नुपर्ने वा मुद्रा साट्नुपर्ने बाध्यता घटाएको छ।
चन्द्रागिरि हिल्स, मनकामना मन्दिर र पशुपतिनाथ मन्दिरलगायत लोकप्रिय पर्यटकीय तथा धार्मिक स्थलमा समेत यूपीआईमार्फत भुक्तानी गर्न सकिने व्यवस्था छ। फोनपे नेटवर्कमा आबद्ध व्यवसायीहरूले यूपीआई भुक्तानी स्वीकार गर्न सक्ने भएकाले खुद्रा व्यापार, आतिथ्य सेवा तथा दैनिक किनमेलमा यसको पहुँच विस्तार हुँदै गएको छ।
यूपीआई भुक्तानीले नेपाली व्यवसायीका लागि पनि नयाँ अवसर सिर्जना गरेको एनआईपीएलले जनाएको छ। डिजिटल भुक्तानीमा अभ्यस्त भारतीय ग्राहकसम्म पहुँच विस्तार हुनुका साथै छिटो कारोबार, नगद प्रवाह व्यवस्थापनमा सहजता र भौतिक मुद्रामाथिको निर्भरता घटाउन यसले सहयोग पुर्याउने अपेक्षा गरिएको छ।
यसैगरी, नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) सँगको यूपीआई–एनपीआई सम्बन्धले भारत र नेपालबीच रियल–टाइम पीटूपी रकम स्थानान्तरणको सुविधा उपलब्ध गराएको छ। भारतीय तथा नेपाली प्रयोगकर्ताले रिसिभरको मोबाइल नम्बर वा भर्चुअल पेमेन्ट एड्रेस (भीपीए) प्रयोग गरी रकम पठाउन सक्छन्। नेपालमा रहेका भारतीय प्रयोगकर्ताले यूपीआई आईडीमार्फत भारतमा रकम पठाउन सक्ने व्यवस्था पनि छ।
यसका लागि संवेदनशील बैंक खाता विवरण आदानप्रदान गर्नुपर्ने आवश्यकता नपर्ने भएकाले दुई देशबीच रेमिट्यान्समा निर्भर व्यक्ति तथा परिवारका लागि रकम स्थानान्तरण प्रक्रिया थप सरल, सुरक्षित र किफायती हुने एनआईपीएलले जनाएको छ।
एनआईपीएलका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत रितेश शुक्लाले उपभोक्ता र व्यवसायका लागि सीमापार भुक्तानीलाई थप सहज बनाउने उद्देश्यले काम भइरहेको बताए। फोनपे र एनसीएचएलसँगको सहकार्यमा सुरक्षित तथा रियल–टाइम भुक्तानी समाधान विस्तार भइरहेको उनको भनाइ छ।
एनआईपीएलले नेपालका नियामक निकाय तथा भुक्तानी प्रणालीसँग सम्बन्धित साझेदारसँग सहकार्यलाई निरन्तरता दिँदै यूपीआईमा आधारित भुक्तानी समाधानको प्रयोग विस्तार गर्ने जनाएको छ। साथै, सीमापार भुक्तानीलाई थप प्रभावकारी बनाउने र पीटूपी रेमिट्यान्स प्रणालीलाई थप बैंकसम्म विस्तार गर्ने योजना रहेको कम्पनीले जनाएको छ।
एनपीसीआई इन्टरनेशनल पेमेन्ट्स लिमिटेड सन् २०२० अप्रिल ३ मा एनपीसीआईको पूर्ण स्वामित्वमा रहेको सहायक कम्पनीका रूपमा स्थापना भएको हो। एनआईपीएलले भारतमा विकसित यूपीआई तथा कार्ड भुक्तानी प्रणाली रुपेलाई भारतबाहिर विस्तार गर्ने काम गर्दै आएको छ।
दुई देशबीच डिजिटल भुक्तानी प्रणालीको विस्तारले भारत–नेपालबीचको आर्थिक सम्बन्धसँगै जनस्तरको सम्बन्धलाई समेत थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।




