काठमाडौं– शिवम् सिमेन्टमा अनुबन्धित नेपाली धावक आयुष कुँवरले २०० मिटर दौडमा ३० वर्ष पुरानो राष्ट्रिय कीर्तिमान तोडेका छन्। अमेरिकाको लस एन्जलसमा आयोजित प्रतियोगितामा २१.८७ सेकेन्डमा दौड पूरा गर्दै उनले सन् १९९५ देखि कायम २१.९२ सेकेन्डको राष्ट्रिय कीर्तिमान भंग गरेका हुन्।
यसअघि आयुषले २००१ मा रामकृष्ण चौधरीले ७.०९ सेकेन्डमा कायम गरेको ६० मिटरको कीर्तिमानसमेत तोड्दै ७.०२ सेकेन्डको नयाँ राष्ट्रिय कीर्तिमान बनाएका थिए।आयुषले अगस्ट ९, २०२६ मा लन्डनमा भएको २०० मिटर दौडमा आफ्नै २१.८७ सेकेन्डको रेकर्डसमेत सुधार गर्दै २१.६६ सेकेन्डमा दौड पूरा गरेका छन्। यससँगै उनले आफ्नै राष्ट्रिय कीर्तिमान दुईपटक सुधार गरेका हुन्।
सन् २०२३ देखि शिवम् सिमेन्टको सहयोगमा रहेका आयुषले सीमित अवसर, स्रोतसाधन र चोटपटकका बाबजुद निरन्तर प्रशिक्षण गर्दै आएका छन्। सन् २०२५ मा दक्षिण कोरियाको गुमीमा भएको एसियाली एथलेटिक्स प्रतियोगिताका क्रममा ह्यामस्ट्रिङ चोटका कारण प्रतियोगिताबाट बाहिरिए पनि उनले पुनरागमन गर्दै कीर्तिमान बनाउन सफल भएका हुन्।

आयुषले तीन दशक पुरानो कीर्तिमान तोड्न पाउँदा गर्व लागेको बताउँदै नेपाली स्प्रिन्टरले पर्याप्त अवसर नपाएकै कारण कीर्तिमान लामो समय कायम रहेको बताए। उनले आगामी दिनमा नयाँ पुस्ताका खेलाडीले आफ्नो कीर्तिमान छिट्टै तोड्ने विश्वास व्यक्त गरेका छन्।
शिवम् सिमेन्टले आयुषको उपलब्धिप्रति बधाई दिँदै नेपाली खेलकुद र प्रतिभावान खेलाडीको प्रोत्साहनमा सहयोगलाई निरन्तरता दिने जनाएको छ।




