काठमाडौं– नेपालको प्रमुख अटोमोबाइल तथा मोबिलिटी प्रदर्शनी ‘नाडा अटो शो २०२६’ भदौ ९ देखि १४ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने भएको छ। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आयोजना गर्ने प्रदर्शनीको यो १८औँ संस्करण हो।
नाडाको ५०औँ वार्षिकोत्सवको अवसरमा यस वर्षको प्रदर्शनीलाई ‘स्वर्ण उत्सव संस्करण’का रूपमा आयोजना गर्न लागिएको आयोजकले जनाएको छ। प्रदर्शनीको शीर्ष प्रायोजक एचपी लुब्रिकेन्ट्स रहेको छ।
करिब तीन लाख वर्गफुट क्षेत्रफलमा आयोजना हुने प्रदर्शनीमा २०० भन्दा बढी स्टल रहनेछन्। तीमध्ये २३ वटा पेसेन्जर कार, १७ वटा लाइट कमर्सियल भेहिकल र १३ वटा दुईपांग्रे सवारीसाधनका ब्रान्ड सहभागी हुनेछन्। यस्तै, वित्तीय तथा बीमा सेवा प्रदायकसहित अटो पार्ट्स, एसेसरिज, टायर, लुब्रिकेन्ट्स, ग्यारेज उपकरणलगायतका सामग्रीका स्टल रहनेछन्।

प्रदर्शनीमा विभिन्न ब्रान्डका नयाँ मोडल सार्वजनिक गर्नुका साथै स्मार्ट मोबिलिटी, दिगो यातायात विकास र कनेक्टिभिटीका विषयमा सिम्पोसियम आयोजना गरिनेछ। स्वदेशमै उत्पादन तथा एसेम्बल हुने सवारीसाधन, ब्याट्री, ल्युब्रिकेन्ट्स, हेल्मेट तथा अन्य सामग्रीलाई समेत प्राथमिकता दिइने आयोजकले जनाएको छ।
आगन्तुकको सुविधाका लागि खल्ती एपमार्फत टिकट अग्रिम बुकिङ गर्न सकिने व्यवस्था गरिएको छ। साथै, पार्किङ, ट्राफिक सूचना डेस्क, स्वास्थ्य टोली, सीसीटीभी निगरानी, आगलागी नियन्त्रण तथा ह्वीलचेयरमैत्री सुविधा उपलब्ध गराइने आयोजकले जनाएको छ।




