देशभर वर्षाको सम्भावना, ५ प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षा

३ भदौ ८३, बुधबार

३ भदौ , काठमाण्डौ ।

Advertisement

हाल देशमा मनसुनी वायुको प्रभाव कायम रहेको छ भने मनसुनको न्यून चापीय रेखा आफ्नो सरदर स्थानको आसपास अवस्थित छ।हाल देशका अधिकांश भूभागमा साधारणतया बादल लागेको छ भने कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

हाल नेपालभर मनसुनी वायुको प्रभाव व्यापक रूपमा रहेको छ भने मनसुनको न्यून चापीय रेखा आफ्नो सरदर स्थानको आसपास अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसै मौसमी प्रणालीका कारण हाल देशका अधिकांश भूभागमा साधारणतया बदली भई आकाशमा बादल लागेको छ।

Advertisement

प्राप्त विवरण अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा अहिले हल्कादेखि मध्यम वर्षा भइरहेको छ जुन देशको समग्र जनजीवन र कृषिक्षेत्रका लागि समेत अर्थपूर्ण मानिएको छ। आज दिउँसोको मौसम विश्लेषण गर्दा देशभर साधारणतया बदली रहने देखिन्छ भने देशका हिमाली भूभागका केही स्थानहरूमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।

यसैगरी, देशका पहाडी भूभागका धेरै स्थानहरूमा, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानहरूमा तथा मधेश प्रदेश र कोशी प्रदेशको तराई भूभागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको पूर्वानुमान गरिएको छ।

Advertisement

वर्षाले विशेष गरी शहरी क्षेत्रमा गर्मीबाट राहत दिए पनि ग्रामीण तथा पहाडी भेगमा यातायात आवागमनलाई केही मात्रामा प्रभावित पार्न सक्नेछ। महाशाखाले विशेष चेतावनी जारी गर्दै कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको बताएको हुदाँ उक्त क्षेत्रका बासिन्दाहरूलाई बढी सतर्क रहन आग्रह गरिएको छ।

भारी वर्षा हुने स्थानहरूमा पहिरो जाने, लेदो खस्ने तथा साना नदीनालामा आकस्मिक बाढी आउन सक्ने जोखिम कायमै रहनेछ। यसका साथै आज दिउँसो कोशी प्रदेशको तराई र मधेश प्रदेशका केही स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको हुनाले बाहिरी गतिविधि गर्दा विशेष सावधानी अपनाउनु पर्ने देखिएको छ।

आज रात्रिकालीन मौसमको अवस्थालाई हेर्दा देशका हिमाली र पहाडी भूभागमा साधारणतया बदली कायम रहनेछ भने कोशी र सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमा साधारणतया बदली तथा बाँकी तराई भूभागमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ।

राति पनि देशका हिमाली भूभागका थोरै स्थानहरूमा र पहाडी भूभागका केही स्थानहरूमा चट्याङसहित मध्यम वर्षाको क्रम जारी रहने सम्भावना छ। यसैगरी, कोशी र लुम्बिनी प्रदेशको तराई भूभागका केही स्थानहरूमा तथा मधेश, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले थप स्पष्ट पारेको छ।

समग्रमा आगामी २४ घण्टासम्म देशका विभिन्न भूभागमा मनसुनी वर्षाको यो क्रम जारी रहने हुनाले पहाडी तथा हिमाली भेगमा यात्रा गर्ने यात्रुहरू, किसान तथा नदी किनारका बस्तीमा बसोबास गर्ने सर्वसाधारणहरूले मौसम पूर्वानुमान महाशाखाका ताजा सूचनाहरूप्रति अद्यावधिक रहँदै सम्भावित विपदबाट बच्न आवश्यक पूर्वतयारी तथा सतर्कता अपनाउन आग्रह गरिएको छ ।

यस्तै वर्षाका कारण सडकमा पहिरो र गेग्रान खस्ने क्रम बढेपछि नुवाकोट जिल्ला प्रशासनले टोखा–छहरे सडकखण्डमा रातिको समयमा सवारी आवागमन बन्द गरेको छ । नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीका अनुसार नुवाकोट हुँदै धादिङ र चीनसँगको नाका रसुवागढीसम्म जोड्ने मुख्य सडकमा पहिरोको जोखिम बढेपछि हरेक दिन राति १० देखि बिहान ५ बजेसम्म यातायात बन्द गरिएको हो ।

शिवपुरी गाउँपालिका–८ घट्टेखोलास्थित टोखा–छहरे सडकखण्डमा वर्षाका कारण लेदो, पहिरो तथा गेग्रान खस्ने जोखिम बढेपछि यात्रुको सुरक्षालाई ध्यानमा राखी रातिको समयमा अत्यावश्यकबाहेकका सवारीसाधन सञ्चालनमा रोक लगाइएको हो ।

भदौ १ गते रातिदेखि लागु भएको यो व्यवस्था अर्को सूचना जारी नभएसम्म कायम रहनेछ । उता अन्नपूर्ण गाउँपालिका–११ झिनुस्थित मोदीखोला किनारमा रहेको तातोपानी कुण्ड बाढीले बगाएको छ । अविरल वर्षापछि खोलामा बाढी आउँदा तातोपानी कुण्ड तथा अन्य संरचनामा क्षति पु¥याएको सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालले जानकारी दिए ।

उनका अनुसार गत साउन २८ गते गएको बाढीले खोलाको किनारमा सिमेन्ट, ढुंगा बालुवाबाट निर्माण गरिएको तीन वटा तातोपानी कुण्ड पूर्णरूपमा बगाएर पूर्ण क्षति पु¥याएको हो । बाढीले तातोपानी क्षेत्रमा रहेको एउटा शौचालय र एउटा चेन्जिङ रुमसमेत पूर्णरूपमा क्षति भएको छ । सिमेन्ट, ढुंगा तथा टिनले छाएको चेन्जिङ रुम पनि बाढीले बगाएको प्रशासनको भनाइ छ ।

तातोपानी कुण्ड आसपास मानव बस्ती नरहेकाले घटनाको सूचना ढिलो गरी मंगलबार बिहान मात्र प्राप्त भएको प्रहरीले जनाएको छ । सूचना लगत्तै दिउँसो १२ बजे प्रहरी चौकी घान्द्रुकबाट प्रहरी हवल्दार राजेश भैया थारूको नेतृत्वमा दुई प्रहरी घटनास्थल पुगेर निरीक्षण गरेको थियो । ’भौगोलिक रूपमा विकट रहेकाले ढिला गरी मात्र सूचना प्राप्त भएको हो ।

तातोपानी कुण्डमा पदयात्रामा जाने पर्यटकले नुहाउने गर्दथे । बाढीका कारण बीरेठाँटी–घान्द्रुक सडक बगाएकाले यातायात सम्पर्क हाल विच्छेद हुँदा पदयात्रामा जाने पर्यटक समेत छैनन् । मोदी खोलाको कटानका कारण बीरेठाँटीमा करिब १०० मिटर कालोपत्रे सडक बगाएपछि नेपाली सेनाको सहयोगमा पुनर्निर्माण पनि सुरु गरिएको गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले बताएका छन् । 

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top