सल्यान, खलङ्गा । नेपालीको पहिचान, गौरव र शानसँग जोडिएको परम्परागत खुकुरी निर्माण गर्ने सीप तथा व्यवसायको संरक्षणमा वल्र्डलिंक कम्युनिकेसन्स लिमिटेडले सहयोग गरेको छ। सल्यानको खलङ्गास्थित विश्वकर्मा टोलमा परम्परागत रूपमा खुकुरी निर्माण गर्दै आएका राजु विक र पार्वती विकलाई वल्र्डलिंकले संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत सुरक्षित टहरा निर्माण गरी हस्तान्तरण गरेको हो।
परम्परागत सीप र व्यवसायको संरक्षणसँगै स्थानीयस्तरमा रोजगारी तथा आयआर्जनका अवसरलाई निरन्तरता दिने उद्देश्यले निर्माण गरिएको टहराले विक दम्पतीलाई खुकुरीलगायत फलामजन्य सामग्री निर्माणका लागि सुरक्षित र व्यवस्थित कार्यस्थल उपलब्ध गराएको छ। नेपाली खुकुरी केवल हतियार नभई नेपालीको मौलिक पहिचान, साहस, गौरव र शानसँग जोडिएको ऐतिहासिक सम्पदा हो। पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको खुकुरी निर्माणको सीप सुरक्षित कार्यस्थल, आवश्यक पूर्वाधार तथा बजारको अभावका कारण संकटमा पर्दै गएको अवस्थामा वल्र्डलिंकको सहयोगले व्यवसायलाई निरन्तरता दिन थप हौसला मिलेको राजु विकले बताए।
खुकुरी निर्माणमा प्रयोग हुँदै आएको परम्परागत ज्ञान, सीप र प्रविधि नयाँ पुस्तामा हस्तान्तरण गर्दै स्थानीय मौलिकताको संरक्षण गर्न आवश्यक रहेको स्थानीयको भनाइ छ। यस्ता पहलले सीप संरक्षण, परम्पराको निरन्तरता र स्थानीय व्यवसायलाई आत्मनिर्भर बनाउने प्रयासमा सहयोग पुग्ने विश्वास गरिएको छ।

वल्र्डलिंकले समुदायको आवश्यकता पहिचान गरी सामाजिक तथा आर्थिक रूपमा पछाडि परेका समुदायको सीप संरक्षण, व्यवसाय प्रवर्द्धन र दिगो जीविकोपार्जनमा सहयोग पुर्याउने उद्देश्यले विभिन्न CSR कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।
टहरा हस्तान्तरण कार्यक्रममा स्थानीय प्रतिनिधि, समुदायका सदस्य तथा वल्र्डलिंकका प्रतिनिधिको सहभागिता रहेको थियो। कार्यक्रममा परम्परागत सीप तथा व्यवसायको संरक्षणका लागि स्थानीय समुदाय, सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेकोमा जोड दिइएको थियो।
पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको नेपाली खुकुरी निर्माणको सीपलाई संरक्षण गर्दै स्थानीय व्यवसायलाई नयाँ पुस्तासम्म पुर्याउने प्रयासमा वल्र्डलिंकको यो पहल अर्थपूर्ण कदम बनेको छ।#




