८ भदौ, काठमाण्डौ ।
राष्ट्रिय स्वतन्त्र पार्टी भित्र छिमेकी राष्ट्रको भ्रमणलाई लिएर कुटनैतिक रुपमा हलचल देखिएको छ । भारत भ्रमण गरिसकेका सभापति रवि लामिछानेको चीनको तय भएको भ्रमण फेरि स्थगित भएको छ भने उपसभापति स्वर्णिम वाग्ले भारत जाने तयारी सुरु भएको छ ।
अर्काेतर्फ भ्रमणको निमन्त्रण आइसकेको पार्टीका वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमण पनि अहिलेसम्म अनिश्चित छ । रविको प्रस्तावित चीन भ्रमण हाललाई स्थगित भएको अवस्थामा भारतबाट प्रधानमन्त्री नरेन्द्र मोदीका सल्लाहकारको आजदेखि हुने चीन भ्रमणलाई भने महत्वका साथ हेरिएको छ।

उच्च स्रोतका अनुसार अगस्ट दोस्रो साताका लागि तय गरिएको लामिछानेको चीन भ्रमण यसअघि नै करिब एक महिना पछि सारिएको थियो। तर अब सेप्टेम्बर दोस्रो सातामा समेत उनको चीन भ्रमण नहुने भएको छ। सभापति लामिछानेको चीन भ्रमण पूर्ण रूपमा रद्द भने भएको होइन। भविष्यमा दुवै पक्षलाई अनुकूल हुने उपयुक्त समयमा नयाँ मिति तय गरी भ्रमण हुने सम्भावना अझै कायमै छ ।
उच्च स्रोतका अनुसार अगस्ट दोस्रो साताका लागि तय गरिएको लामिछानेको चीन भ्रमण यसअघि नै करिब एक महिना पछि सारिएको थियो। तर अब सेप्टेम्बर दोस्रो सातामा समेत उनको चीन भ्रमण नहुने भएको छ।लामिछानेको भ्रमण स्थगित भएपछि रास्वपाका सांसदहरूको टोली भने चीन जाने तयारीमा रहेको स्रोतले जनाएको छ।
यद्यपि, सांसदहरूको भ्रमणको विस्तृत कार्यक्रमबारे थप जानकारी सार्वजनिक गरिएको छैन।यसअघि भारत भ्रमणपछि लामिछानेले चीन भ्रमण गर्ने तयारी गरिएको थियो। तर निर्धारित समयअनुसार भ्रमण हुन नसकेपछि अहिलेका लागि उनको चीन भ्रमण अनिश्चित बनेको छ। सरकारी स्रोतका अनुसार लामिछानेले भविष्यमा उपयुक्त समयमा चीन भ्रमण गर्ने सम्भावना भने कायमै छ।
तर त्यसका लागि नयाँ मिति भने तय भइसकेको छैन। यसैबीच, रास्वपा उपसभापति तथा अर्थमन्त्री स्वर्णिम वाग्ले भने छिट्टै भारत भ्रमणमा जाने भएका छन्। भ्रमणका क्रममा उनले भारतीय पक्षका उच्च तहका अधिकारीहरूसँग भेटवार्ता गर्ने तयारी रहेको स्रोतले जनाएको छ।
लामिछानेको चीन भ्रमण स्थगित हुनु र अर्थमन्त्री वाग्लेको भारत भ्रमणको तयारी हुनुलाई रास्वपाको पछिल्लो अन्तर्राष्ट्रिय राजनीतिक तथा कूटनीतिक सक्रियताका रूपमा हेरिएको छ। उता भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल सोमबार बेइजिङ पुग्दैछ।
लामिछानेको असोजमा हुने भनिएको चीन भ्रमण तत्कालका लागि स्थगित भएको अवस्थामा दक्षिणी छिमेकीका सुरक्षा सल्लाहकारको साइत जुरेको हो । लामिछानेको भ्रमण अनिश्चितकाललाई स्थगित भएको अवस्थामा डोभाल भने भारत–चीन सीमा विवादबारे वार्ताका लागि सोमबार बेइजिङ जाँदैछन्।
जबकी नेपालले नेपालको मिचिएको लिपुलेक, लिम्पिया धुरा र कालापानीका विषयमा भारत र चीनलाई नै कुटनैतिक नोटमार्फत दाबेदारी गरिसकेको छ । पछिल्लो समय नेपाली भूमि लिपुलेकबाट सुरु भएको भारत र चीनको यात्रामार्फत र व्यापार बारेपनि नेपालले आपत्ति जनाइसकेको अवस्थामा रवि अघि नै डोभाल पुग्नुलाई पनि जोडेर हेरिएको छ ।
चीन भ्रमणमा जाँदा लामिछानेले राष्ट्रपति सी जिनपिङसँग भेट गर्ने प्रयासका लागि पहल गरिरहेका थिए । यसअघि भारत भ्रमणपछि लामिछाने चीन जाने कार्यक्रम थियो। गत जेठ २० गते उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका थिए। जेठ १८ गते भारत पुगेका लामिछानेले भ्रमणको तेस्रो दिन मोदीसँग भेट गरेका थिए।
भारत भ्रमणका क्रममा उनले भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष नीतिन नवीनसँग पनि भेटवार्ता गरेका थिए। भाजपाको कार्यालयमा भएको भेटमा राजनीतिमा ‘जेन–जी’को बढ्दो भूमिका र सम्भावना, लोकतान्त्रिक सहभागिता, सार्वजनिक बहस तथा भविष्यको नेतृत्व निर्माणका विषयमा छलफल भएको बताइएको थियो।
लामिछानेको चीन भ्रमण रोकिएका बेला भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार डोभाल भने भारत–चीन सीमा विवाद समाधानका लागि हुने विशेष प्रतिनिधिस्तरीय वार्तामा सहभागी हुन सोमबार बेइजिङ जाँदैछन्। भारतीय समाचार एजेन्सी पीटीआईका अनुसार डोभालले आफ्ना चिनियाँ समकक्ष वाङ यीसँग २५औँ चरणको विशेष प्रतिनिधिस्तरीय वार्ता गर्नेछन्।
वार्ता मंगलबार हुने बताइएको छ। यो वार्ता चिनियाँ राष्ट्रपति सी जिनपिङको भारत भ्रमणको सम्भावनाबीच हुन लागेको हो। सी आगामी सेप्टेम्बर १२ र १३ मा नयाँ दिल्लीमा हुने ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन भारत आउने अपेक्षा गरिएको छ। चीनले सीको भारत भ्रमणबारे अहिलेसम्म औपचारिक पुष्टि गरेको छैन।
यद्यपि दुवै देशका अधिकारीहरू उनी ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुने अपेक्षामा छन्। सी भारत आएमा मोदीसँग द्विपक्षीय भेटवार्ताको बाटो खुल्न सक्ने र त्यस क्रममा भारत–चीन सम्बन्धलाई थप अघि बढाउने उपायबारे छलफल हुन सक्ने अपेक्षा गरिएको छ।
डोभाल र वाङ भारत–चीन सीमा वार्ताका लागि नियुक्त विशेष प्रतिनिधि हुन्। सन् २००३ मा भारत–चीनबीचको ३ हजार ४८८ किलोमिटर लामो सीमा विवादको दीर्घकालीन समाधान खोज्ने उद्देश्यले यो प्रक्रिया सुरु गरिएको थियो।
सीमा विवाद पूर्ण रूपमा समाधान हुन नसके पनि विशेष प्रतिनिधिस्तरीय वार्तालाई दुवै पक्षले सीमामा उत्पन्न हुने तनाव व्यवस्थापन तथा द्विपक्षीय मतभेद समाधानका लागि महत्वपूर्ण संयन्त्रका रूपमा लिँदै आएका छन्। डोभाल र वाङबीच पछिल्लो भेट सन् २०२५ को अगस्टमा चीनको तियानजिनमा भएको सांघाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनका क्रममा भएको थियो।
यसपटकको वार्ताअघि भारतीय विदेशमन्त्री एस जयशंकरले शनिबार भारत र चीनबीच राम्रो सम्बन्ध कायम राख्न सीमामा शान्ति र स्थिरता आवश्यक रहेको दोहो¥याएका छन्। भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जायसवालले पनि सीमासँग सम्बन्धित विषयलाई भारतले अत्यन्त गम्भीर रूपमा लिएको बताएका छन्।
उनले वास्तविक नियन्त्रण रेखा (एलएसी)मा शान्ति र स्थिरता कायम राख्नु सबैभन्दा महत्वपूर्ण रहेको उल्लेख गर्दै सीमाको अवस्थाले भारत–चीन सम्बन्धको आगामी दिशा निर्धारण गर्ने बताएका छन्। यसैबीच, अरुणाचल प्रदेशका २७ स्थान तथा भौगोलिक क्षेत्रका आधिकारिक नाम राख्ने भारतको निर्णयप्रति चीनले गरेको आलोचनालाई नयाँ दिल्लीले अस्वीकार गरिसकेको छ।




