काठमाडौं । प्रतिनिधिसभा सदस्य प्रकाश पाठकले नेपालमा विद्युतीय सवारीसाधन (ईभी) भित्र्याउँदा अपनाइने सुरक्षा मापदण्ड र परीक्षण प्रणालीबारे सरकारसँग जवाफ मागेका छन्।मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै पाठकले प्राविधिक कारणले ईभीमा आगलागी हुने, सिस्टम बन्द हुने, सेन्सरले काम नगर्ने तथा दुर्घटनामा एयरब्याग नखुल्ने जस्ता समस्या देखिएको भन्दै नागरिकको सुरक्षामाथि प्रश्न उठाए।
उनले नेपालमा भित्रिने ईभीको मेकानिकल तथा अन्तर्राष्ट्रिय सुरक्षा मापदण्ड परीक्षण गर्ने बलियो सरकारी संयन्त्र कुन हो भन्ने प्रश्न गरे। साथै लिथियम–आयन ब्याट्रीमा आगलागी हुँदा नियन्त्रण गर्न आवश्यक विशेष प्रविधि नेपालमा उपलब्ध छ कि छैन भन्नेबारे पनि सरकारसँग जवाफ मागे। पाठकले ईभी सुरक्षित बनाउन आवश्यक पूर्वाधार, परीक्षण प्रणाली, चार्जिङ संरचना, उद्धार प्रविधि र नियमन प्रभावकारी रूपमा लागू नगरी नागरिकको जीवनलाई जोखिममा पारिएको हो कि होइन भन्ने प्रश्नसमेत उठाए।
‘ईभीका नाममा हामीले आफ्नै मृत्यु खरिद गरिरहेका त छैनौँ?’ भन्दै उनले सरकारलाई यस विषयमा स्पष्ट जवाफ दिन आग्रह गरे।




