काठमाडाैं । बेलायतस्थित पानास गुरखा रेस्टुरेन्ट तथा पानास हेल्पिङ ह्यान्ड्सका संस्थापक सजनु कटुवाल एमबीईले नेपालका बाढीपीडितका लागि बेलायतमा संकलित सहयोग रकम अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका छन्। उक्त रकम १ कराेड ५ लाख ८६ हजार ४११ रहेकाे छ ।
कटुवालले बाढी प्रभावित क्षेत्रमा पुगेर स्थानीयको अवस्था र आवश्यकताबारे प्रत्यक्ष जानकारी लिने तथा दीर्घकालीन सहयोगका सम्भावना पहिचान गर्ने बताएका छन् । कोभिड–१९ महामारीका बेला कटुवाल र पानास टोलीले बेलायतका स्वास्थ्यकर्मी, गोर्खा भूतपूर्व सैनिक, घरबारविहीन तथा आवश्यकतामा रहेका व्यक्तिलाई २ लाख ५० हजारभन्दा बढी निःशुल्क खाना वितरण गरेका थिए। सामुदायिक सेवाका लागि उनलाई एमबीई सम्मान प्रदान गरिएको थियो। नेपालमा बाढी आएपछि पानास टोलीले राहतका लागि सहयोग अभियान सञ्चालन गरेको थियो। बाढीमा ज्यान गुमाएकाको सम्झनामा लन्डनमा दीप प्रज्वलन कार्यक्रमसमेत आयोजना गरिएको थियो।
आगामी नोभेम्बरमा लन्डनमा हुने लर्ड मेयर शोमा पानासले गोर्खा ब्रिगेडको समूहसँग सहकार्य गरी नेपाली संस्कृति र गोर्खाहरूको दुई सय वर्षभन्दा लामो इतिहास तथा योगदान प्रस्तुत गर्ने तयारी गरेको समेत उनले जानकारी दिएका छन्।




