काठमाडौं । सांसद गणेश कार्कीले संसद् र सांसदको मूल्यांकन बाहिरी आवरण, पोसाक वा सामाजिक सञ्जालमा हुने चर्चाका आधारमा नभई उनीहरूको अध्ययन, बहस र कानून निर्माणमा गरेको योगदानका आधारमा हुनुपर्ने बताएका छन्।मंगलबार संसद्को विशेष समयमा बोल्दै कार्कीले संसद्को गरिमा सांसदले लगाउने कपडा, चस्मा वा जुत्ताको रंगले नभई उनीहरूको गुणस्तरीय कामले कायम हुने बताए। उनले सांसदको गुणस्तर र विधायिकी भूमिका बलियो बनाउन संसद् आफैंमा परिवर्तन आवश्यक रहेको धारणा राखे।
कार्कीले विधेयकमाथि संशोधन प्रस्ताव राख्न सांसदलाई पर्याप्त स्रोत र सहज पहुँच नदिइएको विषय पनि उठाए। उनका अनुसार संशोधनका लागि मूल ऐन आवश्यक पर्ने भए पनि सांसदले त्यो कहाँबाट प्राप्त गर्ने भन्ने विषयमा पर्याप्त ध्यान दिइएको छैन। अनलाइनमा उपलब्ध सामग्रीसमेत सहज रूपमा प्रयोग गर्न मिल्ने व्यवस्था हुनुपर्ने उनले बताए। उनले देशको नीति, दिशा र भविष्य परिवर्तन गर्ने संसद् आफैं कति परिवर्तनका लागि तयार छ भन्ने प्रश्नसमेत गरे। संसद् परिवर्तनका लागि तयार नभई अरूलाई मात्रै परिवर्तन गर्न खोजिरहेको उनको भनाइ थियो।
सांसद कार्कीले शक्ति पृथकीकरणको सिद्धान्त व्यवहारमा कमजोर बनेको दाबी गरे। न्यायपालिका, सरकार र संसद् छुट्टाछुट्टै अंग भए पनि व्यवहारमा सरकार कुशल र संसद् कठपुतलीजस्तो बनेको अवस्था देखिएको उनको भनाइ थियो। “संसद्ले सरकारको बिजनेस पर्खिएरै समय बिताउने हो?” भन्दै उनले संसद्को आफ्नै काम र एजेन्डा हुनुपर्नेमा जोड दिए। सरकारमा रहेको दलका सांसदले सरकारको समर्थन र विपक्षी दलका सांसदले विरोध वा आलोचना मात्रै गर्नुपर्ने परम्परागत सोच परिवर्तन गर्नुपर्ने उनले बताए।

कार्कीले सांसदको मूल्यांकन गर्ने आधारसमेत परिवर्तन गर्नुपर्ने बताए। कति अध्ययन गरियो, कति गम्भीर बहस गरियो, कति प्रभावकारी संशोधन प्रस्ताव राखियो र कानून निर्माणमा कति योगदान पुग्यो भन्ने आधारमा सांसदको मूल्यांकन हुनुपर्ने उनको भनाइ थियो। तर अहिले कति चर्चामा आयो, कति विवादमा देखियो वा सामाजिक सञ्जालमा कति चर्चा भयो भन्ने आधारमा सांसदको मूल्यांकन हुन थालेको भन्दै उनले असन्तुष्टि जनाए। यसलाई उनले ‘सम्पन्न बन्नेभन्दा सम्पन्न देखिने प्रवृत्ति’सँग तुलना गरे।
संसद् सरकारको मुख ताकेर बस्ने प्रवृत्ति अन्त्य गर्नुपर्नेमा कार्कीले जोड दिए। संसद्को काम र एजेन्डा संसद्बाटै उत्पादन हुन सक्ने व्यवस्था र अभ्यास विकास गर्नुपर्ने उनले बताए। सरकारको सामान्य आलोचना गर्दा सत्तापक्षका सांसदलाई सरकारविरोधी र विपक्षी दलका सांसदले सरकारको समर्थन गर्दा पार्टीप्रतिको वफादारीमाथि प्रश्न उठाउने प्रवृत्तिले सांसदको विधायिकी अधिकार र कर्तव्यमा समेत असर पारेको उनको भनाइ थियो।
कार्कीले अहिलेको सोच, प्रवृत्ति र साधन परिवर्तन नगरिए आगामी अधिवेशनहरू पनि उस्तै ढाँचामा अघि बढ्ने चेतावनी दिए। सांसदको मुख्य जिम्मेवारी सरकारको समर्थन वा विरोधमा मात्रै सीमित नभई आफ्नो विवेक, ऊर्जा र समय देश तथा नागरिकका लागि प्रयोग गर्नु रहेको उनले बताए। “हामी आवरणमा अल्मलिएका छौं, गुणस्तरतर्फ छलफल गरौं,” भन्दै उनले संसद्को ध्यान सांसदको बाहिरी प्रदर्शनभन्दा कामको गुणस्तर सुधारतर्फ केन्द्रित गर्न आग्रह गरे।




