सुनसरीको देवानगञ्जमा फेरि गोली चल्यो, दुईजना पक्राउ

४ असोज ८३, आइतबार
Share this
760shares

४ असोज , काठमाण्डौ ।

Advertisement

सुनसरीको देवानगन्जबाट फैलिएको हिँसाले समग्र मधेस नै हिंसातर्फ उन्मुख भएको घटनाको एक महिना नबित्दै फेरि देवानगन्जमा गोली चलेको छ । देवानगन्ज गाउँपालिका–१ मा भएको गोली प्रहारबाट एक युवक घाइते भएका छन् । गोली लागेर देवानगन्ज गाउपालिका वडा नम्बर १ का निरज यादव घाइते भएका हुन् ।

उनको तिघ्रामा गोली लागेको छ । घाइते यादवको विराटनगरस्थित नोबेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी चन्द्र खड्काले गोली प्रहार भएको पुष्टि गरे । उनले घटनाको विस्तृत विवरण आउन बाँकी रहेको बताए ।

Advertisement

उनले त्यहाँ प्रहरी परिचालन गरी सकेको र स्थिततिलाई नियन्त्रणमा लिइएको बताएका छन् । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । तर पक्राउ परेकाको पहिचानसहितका विवरण प्रहरीले सार्वजनिक गरेको छैन । घाइतेको तिघ्रामा चोट रहेको प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अर्यालले बताए ।

घाइतेको तिघ्रामा चोट छ । गोली चलाएको आशंका गरिएको छ । त्यसबारे अनुसन्धान भइरहेको छ । घाइतेलाई अस्पताल पु¥याइएको छ,उनले भनेका छन् । घटनामा संलग्न भएको आरोपमा दुई जनालाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन्।

Advertisement

उनीहरूलाई नियन्त्रणमा लिएर घटनाको कारण, आक्रमणमा प्रयोग भएको भनिएको हतियार तथा घटनाको वास्तविक अवस्थाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रमुख जिल्ला अधिकारी अर्यालका अनुसार घाइतेको तिघ्रामा चोट देखिए पनि गोली नै लागेको हो वा अन्य कारणले चोट लागेको हो भन्ने विषय अनुसन्धानपछि स्पष्ट हुनेछ।

प्रहरीले घटनालाई आपसी दुश्मनीसँग जोडेर अनुसन्धान अघि बढाएको छ। घटनाको विस्तृत विवरण र संलग्न व्यक्तिमाथिको कानुनी कारबाहीबारे अनुसन्धानपछि थप जानकारी सार्वजनिक गरिने प्रहरीले जनाएको छ।

प्रहरीले नाम सार्वजनि नगरेपनि घटनामा संलग्न रहेको आरोपमा देवानगञ्ज–२ का १८ वर्षीय विष्णुकुमार यादव र सोही वडाका २६ वर्षीय ‘लाली’ भन्ने जयकृष्ण यादवलाई प्रहरीले नियन्त्रणमा लिएको स्थानीयले बताएका छन् । उनीहरुलाई स्थानीयले नै प्रहरीलाई बुझाएका थिए ।

यसैबीच, घटनालाई लिएर सामाजिक सञ्जाल तथा केही सञ्चार माध्यममा गोली प्रहारबाट मानिसको मृत्यु तथा घाइते भएको भन्दै समाचार तथा सूचना सम्प्रेषण भएकोप्रति प्रहरीले ध्यानाकर्षण गराएको छ। प्रहरीले हालसम्मको प्रारम्भिक विवरणअनुसार गोली प्रहारबाट मृत्यु भएको पुष्टि नभएको जनाएको छ।

प्रहरीले घटनाबारे यथार्थ विवरण बुझेर मात्र समाचार तथा सूचना सम्प्रेषण गर्न सञ्चारमाध्यम र सर्वसाधारणलाई आग्रह गरेको छ। कतिपय स्थानीयले तस्करीमा सम्लग्नहरुसँगको विवादका बीच गोली चलेको आशंका गरेका छन् । गाउँघरमा नै गोली चलेपछि यसअघि साउनको घटनापछि त्रसित स्थानीय थप चिन्तित बनेका छन् ।

यस अघि साउनमा देवानगन्जमा दूई समुदायका विचमा भएको झडप नियन्त्रणमा प्रहरीले गोली चलाउदा ४ जनाको मृत्यु भएको थियो भने आधा दर्जन बढी घाइते भएका थिए । देवानगन्ज घटना पछि मधेस प्रदेशमा समेत हिंसा फैलिएको थियो । सोक्रममा सिरहामा १ जनाको प्रहरीकै गोली प्रहारबाट ज्यान गएको थियो ।

देवानगञ्जमा साउन दोस्रो साता भएको घटना सुरुमा बोलबम यात्राका क्रममा बजाइएको डिजेको आवाज र झण्डा राखिएको विषयलाई लिएर भएको विवादबाट चर्किएको थियो । बोलबम यात्रामा सहभागी समूह कप्तानगञ्ज बजार क्षेत्रमा पुगेपछि डिजेको ठूलो आवाजलाई लिएर अर्को समूहले आपत्ति जनाएपछि भनाभन सुरु भएको थियो।

प्रहरी घटनास्थलमा पुगेर स्थिति नियन्त्रणमा लिन खोज्दा थप मानिस जम्मा भएका थिए। त्यसपछि भएको झडपमा प्रहरी र प्रदर्शनकारी दुवैतर्फ घाइते भएका थिए। स्थिति नियन्त्रणमा लिन नेपाल प्रहरी र सशस्त्र प्रहरीले गोली चलाएका थिए।

सुरक्षा निकायले अश्रुग्यास, लाठीचार्ज र चेतावनीस्वरूप फायर गर्दा पनि भीड नियन्त्रणमा नआएपछि गोली चलाउनुपरेको दाबी गरेको छ। तर प्रत्यक्षदर्शी तथा स्थानीय केही व्यक्तिले सुरक्षाकर्मीको गोली प्रहारको तरिकामाथि प्रश्न उठाएका थिए।

घटनामा गोली लागेर देवानगञ्जका ओमप्रकाश मेहतासहितको मृत्यु भएका थिए । घटनापछि देवानगञ्ज तथा आसपासका क्षेत्रमा तनाव बढ्यो। प्रशासनले कफ्र्यु तथा निषेधाज्ञा लगाउँदै ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन ग¥यो। घटनाको असर सुनसरीबाहेक मोरङ, सप्तरी, सिरहा, धनुषालगायतका क्षेत्रमा पनि प्रदर्शन र तनावका रूपमा फैलिएको थियो।

घटनाको छानबिन गर्न सरकारले गृह मन्त्रालयका सहसचिव भूपेन्द्र थापाको नेतृत्वमा समिति गठन गरेको थियो। समितिले देवानगञ्ज घटनाबारे अध्ययन गरी प्रतिवेदन गृह मन्त्रालयमा बुझाइसकेको छ। प्रतिवेदनका निष्कर्ष र सिफारिसबारे सरकारले अध्ययन गरिरहेको गृह मन्त्रालयले जनाएको छ।

प्रतिवेदनमा प्रहरी माथि कारबाहीको सिफारिस गरिएको छानविन समिति स्रोतले जनाएको छ । यद्यपि प्रतिवेदन भने अहिलेपनि सार्वजनिक भएको छैन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top