खड्काले भने– गगन नेतृत्वको कांग्रेसको महाधिवेशनमा मेरो सहभागिता छैन

४ असोज ८३, आइतबार
Share this
706shares

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान उपसभापति पूर्णबहादुर खड्काले सभापति गगन थापा नेतृत्वमा भइरहेको पार्टीको महाधिवेशन प्रक्रियामा आफ्नो सहभागिता नरहेको र नहुने बताएका छन्। सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै खड्काले विशेष महाधिवेशनबाट निर्वाचित सभापति थापा र कार्यसमितिको वैधानिकतासम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेकाले आफू महाधिवेशन प्रक्रियामा सहभागी नहुने बताएका हुन्।

Advertisement

खड्काका अनुसार विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्व र कार्यसमितिको वैधानिकतामाथि प्रश्न उठाउँदै आफूहरू सर्वोच्च अदालत पुगेका थिए। सर्वोच्चको डिभिजन बेन्चबाट आफूहरूको दाबीविपरीत निर्णय आएपछि पुनरावलोकनका लागि निवेदन दिएको र पूर्ण इजलासले पुनरावलोकनका लागि निस्सा दिएको उनले उल्लेख गरेका छन्। ‘यस्तो अवस्थामा सभापति गगन थापाको नेतृत्वमा प्रारम्भ भएको कांग्रेसको महाधिवेशनमा भाग लिनु चरम अनैतिक काम हुने मेरो विश्वासका कारण म महाधिवेशनमा सहभागी नभएको हुँ,’ खड्काले भनेका छन्।

उनले सर्वोच्च अदालतमा पुनरावलोकनको मुद्दा विचाराधीन रहेकै अवस्थामा महाधिवेशन प्रक्रिया अघि नबढाउन रोक्का माग गर्दै निवेदन दिएको पनि बताएका छन्। तर, अदालतले महाधिवेशन रोक्न आवश्यक नदेखिएको भन्दै रिट जारी नगरेपछि कांग्रेसका नाममा दुईवटा महाधिवेशन हुने अवस्था सिर्जना भएको उनको दाबी छ। खड्काले यस्तो अवस्थाले कांग्रेस विभाजनको अन्तिम डिलमा पुगेको बताएका छन्। सम्भावित विभाजन रोक्न आफूहरू अन्तिम प्रयासमा रहेको उनको भनाइ छ।

Advertisement

उनले कांग्रेस विभाजन भए त्यसको असर पार्टीमा मात्र सीमित नरही नेपालको लोकतन्त्रमा समेत बहुआयामिक प्रभाव पर्न सक्ने बताएका छन्।खड्काले सर्वोच्च अदालतका प्रधानन्यायाधीश र न्यायाधीशहरूलाई कांग्रेससम्बन्धी विचाराधीन पुनरावलोकनको मुद्दालाई परिस्थितिको गम्भीरता मूल्यांकन गरी अग्राधिकार दिएर यथाशीघ्र अन्तिम फैसला गर्न आग्रह गरेका छन्। ‘सर्वोच्च अदालतको अन्तिम फैसला हाम्रा लागि स्वीकार्य हुनेछ,’ उनले भनेका छन्।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top