उपत्यकाका ९ स्थानीय तहको साझा पहलः रातको यात्राका लागि ३० बस, कुन कुन रूटमा चल्छन्?

४ असोज ८३, आइतबार
Share this
776shares

काठमाडौँ । काठमाडौँ उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवा विस्तार गर्न दुई महानगरपालिकासहित ९ स्थानीय तह एकै कार्यक्रममा जोडिएका छन्। काठमाडौँ महानगरपालिकाको नेतृत्वमा साझा यातायातसँग सहकार्य गरी रात्रिकालीन बस सेवा विस्तार गर्न स्थानीय तहहरूले समझदारी गरेका हुन्।

Advertisement

संविधान दिवसको अवसरमा आयोजित कार्यक्रममा काठमाडौँ महानगरपालिका, ललितपुर महानगरपालिका, बुढानीलकण्ठ, गोदावरी, चन्द्रागिरि, कीर्तिपुर, भक्तपुर, सूर्यविनायक र मध्यपुर थिमी नगरपालिकाका प्रमुख तथा प्रतिनिधिले साझा यातायातसँग समझदारीपत्रमा हस्ताक्षर गरेका छन्। साझा यातायातका तर्फबाट अध्यक्ष सुशीलराज प्याकुरेलले हस्ताक्षर गरेका छन्।रातको समयमा आवतजावत गर्ने सर्वसाधारण, व्यवसायी, श्रमिक, अस्पताल जाने बिरामी तथा आन्तरिक र बाह्य पर्यटकलाई सुरक्षित, सहज र भरपर्दो सार्वजनिक यातायात उपलब्ध गराउने उद्देश्यले सेवा विस्तार गरिएको हो।यसअघि लगनखेल–बुढानीलकण्ठ र नागढुंगा–एयरपोर्ट रुटमा राति ८ बजेदेखि ११ बजेसम्म सातवटा बसमार्फत नमुना सेवा सञ्चालन गरिएको थियो। त्यसको प्रभाव, मूल्याङ्कन तथा लाभ–लागत विश्लेषणपछि नाफाभन्दा सार्वजनिक सेवा महत्वपूर्ण रहेको निष्कर्षसहित सेवा विस्तार गरिएको हो।

काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले परीक्षणका क्रममा सञ्चालन भएका दुई रुटमा थप चार रुट जोडेर बस संख्या ३० पुर्‍याइएको बताइन्।उनका अनुसार स्थानीय तहहरूबीच सहकार्य गरेर रात्रिकालीन सेवा दीर्घकालीन रूपमा सञ्चालन गर्ने योजना अघि बढाइएको छ। ‘अब यो सेवा रोकिँदैन, निरन्तर र दिगो रूपमा चल्छ,’ उनले भनिन्। डंगोलले स्थानीय तहबीच प्रशासनिक सीमाभन्दा नागरिकको आवश्यकतालाई प्राथमिकतामा राखेर सार्वजनिक सेवा विकास गर्नुपर्ने बताइन्। संविधान र कानुनले स्थानीय तहलाई दिएको यातायात व्यवस्थापनसम्बन्धी अधिकारलाई व्यवहारमा कार्यान्वयन गर्न पनि सहकार्य आवश्यक रहेको उनको भनाइ थियो।

Advertisement

ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले संघीय सरकारले मेट्रो वा बस र्‍यापिड ट्रान्जिट (बीआरटी) जस्ता ठूला सार्वजनिक यातायातका आयोजना अघि नबढाएको अवस्थामा स्थानीय तहले आफ्नो स्तरबाट सम्भव प्रणाली विकास गर्नुपर्ने बताए।उनले उपत्यकाको यातायात सहज बनाउन रात्रिकालीन बस सेवालाई निरन्तरता दिँदै विस्तार गर्ने प्रतिबद्धता जनाए।साझा यातायातका अध्यक्ष सुशीलराज प्याकुरेलले स्थानीय तहहरू साझा यातायातसँग सहकार्यमा आउनु संस्थाका लागि महत्वपूर्ण भएको बताए। उनले रात्रिकालीन बस सेवा नागरिकसँग प्रत्यक्ष जोडिएको सेवा भएको उल्लेख गरे।

६ रुटमा ३० बस

Advertisement

विस्तारित रात्रिकालीन बस सेवा ६ वटा रुटमा सञ्चालन गरिनेछ।

  • जगाती–सूर्यविनायक–ठमेल : ६ बस
  • लगनखेल–बुढानीलकण्ठ विस्तार गरी गोदावरीसम्म : ६ बस
  • रिङरोड घडीको दिशामा र विपरीत दिशामा : ८ बस
  • कीर्तिपुर–जमल : ४ बस
  • टाखेल–ठमेल : २ बस
  • नागढुंगा–एयरपोर्ट : ४ बस

चक्रपथमा सेवा सञ्चालन भएपछि एक ठाउँमा बस परिवर्तन गरेर विभिन्न रुटमा यात्रा गर्न सकिनेछ। यसरी यात्रा गर्दा अधिकतम ८० रुपैयाँसम्म भाडा लाग्ने बताइएको छ।

घाटा भए स्थानीय तहले व्यहोर्ने

सम्झौताअनुसार रात्रिकालीन बस सञ्चालनको खर्च यात्रुबाट प्राप्त टिकट आम्दानीले नपुगेमा त्यसको ५० प्रतिशत रकम सम्बन्धित सात नगरपालिकाले समान रूपमा व्यहोर्नेछन्।बाँकी ५० प्रतिशत रकम जनसंख्याका आधारमा काठमाडौँ महानगरपालिकाले १८.५५ प्रतिशत, ललितपुर महानगरपालिकाले १८.५५ प्रतिशत र अन्य सात नगरपालिकाले ९ प्रतिशतका दरले व्यहोर्ने सहमति भएको छ।

सेवा सञ्चालनका लागि खर्च अपुग भए साझा यातायातले त्रैमासिक रूपमा रकम माग गर्न सक्ने व्यवस्था गरिएको छ।यात्रु चढ्ने तथा ओर्लने स्थान सम्बन्धित स्थानीय तहले निर्धारण गर्नेछन्। आर्थिक वर्ष २०८३/८४ भित्र ती स्थानमा डिजिटल साइनेजसहितको बस स्टप निर्माण तथा सञ्चालन गर्ने जिम्मेवारी साझा यातायातलाई दिइएको छ।त्यस्तै, रुटको अन्तिम बिन्दुमा बस चार्जिङ स्टेसन निर्माणका लागि सम्बन्धित स्थानीय तहले आवश्यक जग्गा उपलब्ध गराउने र साझा यातायातले चार्जिङ स्टेसन जडान गर्ने सहमति भएको छ। चार्जिङ स्टेसनको सुरक्षा सम्बन्धित स्थानीय तहले गर्नेछन्।

सेवाको नियमित अनुगमन स्थानीय तहले गर्ने तथा सम्झौताको कार्यान्वयनबारे कम्तीमा त्रैमासिक रूपमा प्रगति समीक्षा बैठक बस्ने व्यवस्था गरिएको छ। साझा यातायातले सो अवसरमा वित्तीय प्रतिवेदनसमेत प्रस्तुत गर्नुपर्नेछ।यात्रुको चाप र आवश्यकता बढ्दै गएमा भविष्यमा उपत्यकाका अन्य क्षेत्रमा समेत रात्रिकालीन बस सेवा विस्तार गर्ने बाटो समझदारीले खुला गरेको छ।यसैबीच, टिकटबाट हुने आर्थिक चुहावट नियन्त्रण गर्न साझा यातायातले असोज १ गतेदेखि डिजिटल टिकटिङ प्रणालीसमेत लागू गरेको छ। क्यूआरमार्फत वा नगद भुक्तानी गरेर टिकट लिन सकिने व्यवस्था गरिएको छ।साझा यातायातमा नेपाल सरकारको ३ अर्ब रुपैयाँ र काठमाडौँ महानगरपालिकाको १५ करोड रुपैयाँ शेयर लगानी रहेको छ। हाल साझा यातायातसँग १११ वटा बस सञ्चालनमा छन्।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top