महासभाको उच्चस्तरीय छलफलका क्रममा मन्त्री खनालले विभिन्न उच्चस्तरीय बैठक, मन्त्रीस्तरीय छलफल तथा साइड इभेन्टमा सहभागिता जनाउनेछन्। साथै, उनले विभिन्न मुलुकका समकक्षी तथा संयुक्त राष्ट्रसंघका उच्च अधिकारीहरूसँग द्विपक्षीय भेटवार्तासमेत गर्ने कार्यक्रम रहेको छ। मन्त्री खनालले सोमबारदेखि नै विभिन्न भेटवार्ता सुरु गरेका छन् ।
महासभाका क्रममा नेपालले ‘सगरमाथा टु सी’ नामक साइड इभेन्ट आयोजना गर्दैछ। उक्त कार्यक्रममा जलवायु परिवर्तन, हिमाली क्षेत्रमा परेको प्रभाव तथा जलवायुजन्य विपद्का कारण सिर्जित चुनौतीबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउने नेपालको तयारी छ। त्यसैगरी, मन्त्री खनालले अति कम विकसित मुलुक, भूपरिवेष्टित विकासोन्मुख मुलुक, असंलग्न आन्दोलन तथा जी–७७ र चीनलगायतका समूहका मन्त्रीस्तरीय बैठकमा सहभागिता जनाउनेछन् ।
यसपटकको संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय छलफल सेप्टेम्बर २८ सम्म सञ्चालन हुनेछ। प्रधानमन्त्री वालेन्द्र शाहले सेप्टेम्बर २४ मा महासभाको उच्चस्तरीय छलफललाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। प्रधानमन्त्री शाहको नेतृत्वमा रहेको उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डल मंगलबार साँझ न्यूयोर्कतर्फ प्रस्थान गरेको छ। प्रतिनिधिमण्डलमा प्रधानमन्त्री शाहसँगै परराष्ट्रमन्त्री खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार, परराष्ट्र सचिव राईलगायत सदस्यहरू सहभागी छन् ।






