काठमाडाैं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले विश्वमा बढ्दो युद्ध, असमानता, जलवायु संकट र कृत्रिम बुद्धिमत्ताको जोखिमलाई मानवतासामुका प्रमुख चुनौतीका रूपमा औँल्याएका छन्। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय बहस उद्घाटन गर्दै गुटेरेसले विश्वका विभिन्न मुलुकबीचको विभाजन गहिरिँदै गएको बताएका हुन्। उनले वर्तमान विश्वका समस्या अलग–अलग संकट नभई शक्ति कसरी प्रयोग भइरहेको छ भन्ने विषयसँग जोडिएको उल्लेख गरे।
उनले युद्ध र शान्ति, असमानता, जलवायु परिवर्तन तथा कृत्रिम बुद्धिमत्ता मानवताका लागि चार प्रमुख ‘शक्ति परीक्षण’ भएको बताए। मध्यपूर्व, युक्रेन, सुडान र म्यानमारलगायत क्षेत्रमा जारी द्वन्द्वले नागरिकलाई ठूलो मानवीय क्षति पुर्याइरहेको भन्दै उनले अन्तर्राष्ट्रिय कानुन र कूटनीतिक प्रयासलाई बलियो बनाउन आह्वान गरे। गुटेरेसले कृत्रिम बुद्धिमत्ताको तीव्र विकासप्रति पनि गम्भीर चिन्ता व्यक्त गरे। जीवन–मरणसँग सम्बन्धित निर्णय मेसिनलाई सुम्पिन नहुने बताउँदै उनले एआईको जोखिम व्यवस्थापनका लागि अन्तर्राष्ट्रिय संयन्त्र र स्वतन्त्र निगरानी आवश्यक रहेको बताए। घातक स्वचालित हतियारलाई नियन्त्रण गर्नुपर्ने उनको जोड थियो।
जलवायु परिवर्तनलाई उनले पुस्ताबीचको गम्भीर असमानताको विषयका रूपमा व्याख्या गरे। प्रदूषण गर्ने पक्षले यसको लागत बेहोर्नुपर्ने र विकासशील मुलुकलाई जलवायु अनुकूलनका लागि थप आर्थिक सहयोग उपलब्ध गराउनुपर्ने उनको भनाइ थियो। महासचिव गुटेरेसले संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को संरचना सुधार गर्नुपर्ने आवश्यकता पनि दोहोर्याए। विशेषगरी अफ्रिकालाई स्थायी प्रतिनिधित्व नहुनु वर्तमान विश्व व्यवस्थाको असमानताको उदाहरण भएको उनले बताएका छन्।

गुटेरेसको दोस्रो तथा अन्तिम कार्यकाल आगामी डिसेम्बर ३१ मा सकिँदैछ। त्यसअघि महासभामा दिएको यो सम्बोधनलाई उनको कार्यकालको अन्तिम उच्चस्तरीय महासभा सम्बोधनका रूपमा लिइएको छ।





