जलवायु संकटले नवपुस्ताकाे भविष्य खाइरहेको गुटेरेसको चेतावनी, नेपाल बारे के भने ?

७ असोज ८३, बुधबार
Share this
740shares

काठमाडाैं ।  संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले जलवायु संकटलाई वर्तमान विश्वसामु रहेको प्रमुख शक्ति–परीक्षणका रूपमा व्याख्या गर्दै एक पुस्ताले अर्को पुस्ताको भविष्य उपभोग गरिरहेको बताएका छन्। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको आमबहसमा मंगलबार सम्बोधन गर्दै गुटेरेसले जलवायु संकटको असर सबैभन्दा कम जिम्मेवार समुदायले नै पहिले र सबैभन्दा बढी भोगिरहेको बताए। उनका अनुसार एक समूहले जलवायु संकटबाट लाभ लिइरहँदा त्यसको मूल्य भने कमजोर र जोखिममा रहेका समुदायले चुकाइरहेका छन्।

Advertisement

गुटेरेसले तीन वर्षअघि नेपालको हिमाली क्षेत्रमा पुगेर हिमनदी तीव्र गतिमा पग्लिरहेको विषयमा विश्वलाई सचेत गराएको स्मरण गरे। त्यसबेला उनले विश्वको छानोका रूपमा रहेका हिमाली क्षेत्रहरू संकटमा परेको भन्दै ‘विश्वका छानाहरू भत्किँदैछन्’ भन्ने चेतावनी दिएका थिए।

उनले त्यतिबेला व्यक्त गरिएका चिन्तालाई कतिपयले खतराको अतिरञ्जित चित्रणका रूपमा लिएको भए पनि पछिल्ला घटनाले जलवायु परिवर्तनका असर अनुमान गरिएभन्दा छिटो, तीव्र र व्यापक रूपमा देखिन थालेको बताए। अहिले विश्व १.५ डिग्री सेल्सियस तापक्रम वृद्धिको सीमासमेत लगभग निश्चित रूपमा पार गर्ने अवस्थामा पुगेको उनको भनाइ छ। साथै, ठूलो आकारको एल निनो मानवतामाथि थप जोखिम लिएर अघि बढिरहेको उनले उल्लेख गरे।

Advertisement

नेपालको हिमनदीप्रति गुटेरेसको चिन्ता

गुटेरेसले नेपालमा हिमनदी पग्लिने गति तीव्र बन्दै गएको विषयलाई विशेष रूपमा उठाउँदै आएका छन्। सन् २०२३ मा नेपाल भ्रमणका क्रममा उनले पछिल्ला तीन दशकमा नेपालले करिब एकतिहाइ हिमबरफ गुमाइसकेको र अघिल्लो दशकको तुलनामा पछिल्लो दशकमा हिमनदी पग्लिने गति ६५ प्रतिशतले बढेको बताएका थिए। उनका अनुसार हिमनदीहरू हिमाली क्षेत्रका प्राकृतिक जलभण्डार हुन्। हिमनदी खुम्चिँदै जाँदा सिन्धु, गंगा र ब्रह्मपुत्रजस्ता प्रमुख नदीको बहावमा भविष्यमा ठूलो कमी आउन सक्ने जोखिम छ। यसले पानीको अभाव, बाढी, खडेरी, पहिरो तथा समुद्री सतह वृद्धिसँग सम्बन्धित जोखिम थप बढाउन सक्ने उनको चेतावनी छ।  गुटेरेसले जलवायु संकटबाट नेपालजस्ता संवेदनशील मुलुकले ठूलो असर भोगिरहेको तर यस्तो संकट सिर्जना गर्न उनीहरूको योगदान तुलनात्मक रूपमा न्यून रहेको पनि बताएका छन्। सन् २०२५ मा आयोजित सगरमाथा संवादका लागि पठाएको सन्देशमा उनले नेपाललाई जलवायु नेतृत्वबाट विश्वले सिक्नुपर्ने बताएका थिए।

Advertisement

जोखिमसँगै आशाको सम्भावना

गुटेरेसले जलवायु संकटका जोखिम गम्भीर भए पनि आशाको आधार रहेको बताए। उनले पछिल्लो दशकमा स्वच्छ ऊर्जाको विस्तारलाई विश्वमा शक्ति सम्बन्ध परिवर्तन गर्ने महत्वपूर्ण घटनाका रूपमा व्याख्या गरे। उनका अनुसार सूर्य र हावाबाट प्राप्त हुने ऊर्जा कुनै एक मुलुक वा समूहको नियन्त्रणमा नरहने भएकाले नवीकरणीय ऊर्जाको विस्तारले ऊर्जा सुरक्षा, आत्मनिर्भरता र दिगो आर्थिक विकासका नयाँ अवसर सिर्जना गर्न सक्छ।  उनले जलवायु संकट सामना गर्न वन विनाश रोक्ने, ऊर्जा प्रसारण संरचना र भण्डारणमा लगानी बढाउने तथा मिथेन उत्सर्जन घटाउने कामलाई तीव्रता दिनुपर्ने बताए। साथै, जलवायु अनुकूलन र क्षति तथा नोक्सानीका लागि पर्याप्त वित्तीय सहयोग आवश्यक रहेकोमा जोड दिए। गुटेरेसले सबैभन्दा बढी प्रदूषण गर्ने र त्यसबाट सबैभन्दा बढी लाभ लिने पक्षले जलवायु संकटबाट भएको क्षति सम्बोधन गर्न अझ ठूलो जिम्मेवारी लिनुपर्ने धारणा राखे। उनका अनुसार जलवायु संकटसँग जुध्न विश्वले अहिले नै निर्णायक कदम चाल्न आवश्यक छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top