८ आसोज , काठमाण्डौ ।
परराष्ट्रमन्त्री शिशिर खनाल र भारतका विदेशमन्त्री डा. एस जयशंकरबीच भेटवार्ता भएको छ । संयुक्त राष्ट्रसंघको ८१औं महासभाका अवसरमा न्यूयोर्कमा उनीहरूबीच भेटवार्ता भएको हो । भेटका क्रममा परराष्ट्रमन्त्री खनालले नेपालमा हालै आएको विनाशकारी बाढीपछि भारत सरकार र भारतीय जनताले व्यक्त गरेको ऐक्यबद्धता तथा तत्काल उपलब्ध गराएको महत्त्वपूर्ण सहयोगप्रति धन्यवाद व्यक्त गरे।
नेपाल–भारत सम्बन्धका विविध पक्ष तथा आपसी हितका विषयमा उनीहरूले विचार आदानप्रदान गरेका थिए । उनीहरूले नेपाल र भारतबीच लामो समयदेखि कायम रहेको घनिष्ठ तथा मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ गर्दै द्विपक्षीय सहकार्यलाई अघि बढाउने विषयमा जोड दिएका थिए ।

यस्तै खनालको अमेरिकाको राजनीतिक मामिला हेर्ने उपविदेशमन्त्री (अन्डर सेक्रेटरी अफ स्टेट) एलिसन हुकरसंग पनि भेटवार्ता भएको छ । सो क्रममा भोटेकोसी बाढीपछि जारी उद्धार, पुनः स्थापना र पुनःनिर्माणका लागि संयुक्त राज्य अमेरिकाले नेपाललाई थप ३ करोड १० लाख (३१ मिलियन) डलर सहयोग उपलब्ध गराउने घोषणा पनि गरिएको छ ।
एलिसन हुकरले न्युयोर्कमा नेपालका परराष्ट्रमन्त्रीसँग भेटवार्ता गर्दै उक्त सहयोग घोषणा गरेकी हुन् । उपविदेशमन्त्री हुकरले स्थायी तथा विशेष रूपमा निर्माण गरिएका पुलका लागि १ करोड (१० मिलियन) डलरको सहयोग उपलब्ध गराइने बताइन्। यी पुल अमेरिकी कम्पनीबाट उपलब्ध गराइनेछ ।

यी पुलले प्रभावित क्षेत्रमा महत्त्वपूर्ण यातायात पूर्वाधार पुनस्र्थापना गर्नेछन् र क्षेत्रीय सम्पर्क सञ्जाललाई सुदृढ बनाउनेछन् । अमेरिकी उपविदेशमन्त्रीले बाढी प्रभावित परिवारका लागि पानी, सरसफाइ तथा स्वच्छताका साथै आश्रय, सुरक्षा, जीविकोपार्जन र जाडोयामको तयारीसम्बन्धी सहयोगका लागि थप ८० लाख (८ मिलियन) डलर उपलब्ध गराउने योजना पनि घोषणा गरेकी छन् ।
साथै भविष्यमा हुने विपद्पछिको पुनर्लाभ प्रयासमा अझ राम्रो सहयोग पु¥याउने उद्देश्यले निर्माण गरिएका अमेरिकामा निर्मित ड्रोन पनि उपलब्ध गराउन १ करोड ३० लाख (१३ मिलियन) डलर बराबरको सहयोग गर्ने योजना रहेको नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ ।
यो सहयोग घोषणासँगै नेपालको बाढी प्रतिकार्य तथा पुनर्लाभ प्रयासमा संयुक्त राज्य अमेरिकाबाट कुल सहयोग ३ करोड ६० लाख (३६ मिलियन) डलरभन्दा बढी पुगेको छ । नेपाल सरकारसँग नजिक रहेर काम गर्दै थप सहयोगको आवश्यक परे उपलब्ध गराइने अमेरिकाले जनाएको छ ।
यस्तै खनालले स्लोभाक गणतन्त्रका विदेश तथा युरोपेली मामिलामन्त्री जुराज ब्लानार र माल्दिभ्सका विदेशमन्त्री इरुथिशाम आदमसँग पनि द्विपक्षीय भेटवार्ता गरे । उनीहरूले संयुक्त राष्ट्रसंघमा समेत आपसी चासोका क्षेत्रसहित द्विपक्षीय सम्बन्ध र सहकार्यलाई थप सुदृढ गर्ने विषयमा विचार आदानप्रदान गरे ।
खनालले अमेरिकी चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष अतुल केशपसँग पनि भेटवार्ता गरे । भेटमा लगानीका अवसर विस्तार गर्ने, आर्थिक सम्बन्ध अभिवृद्धि गर्ने र नेपाल तथा अमेरिकाबीच व्यावसायिक साझेदारी सुदृढ गर्ने विषयमा केन्द्रित रहेर छलफल भएको थियो ।
अर्को महत्त्वपूर्ण विकासका रूपमा खनाल र ग्रेनाडाका अर्थमन्त्री डेनिस कर्नवालले नेपाल र ग्रेनाडाबीच औपचारिक रूपमा कूटनीतिक सम्बन्ध स्थापना गर्ने संयुक्त विज्ञप्तिमा हस्ताक्षर गरे । नेपाल नियोगमा आयोजित संक्षिप्त हस्ताक्षर समारोहअघि दुवै मन्त्रीले आपसी हितका विभिन्न विषयमा विचार आदानप्रदान गरेका थिए ।
उनीहरूले दिगो विकास लक्ष्यतर्फको प्रगति तीव्र बनाउने, जलवायु परिवर्तनका प्रभाव सम्बोधन गर्ने तथा पर्यटन, शिक्षा र पारस्परिक लाभका अन्य क्षेत्रमा उत्कृष्ट अभ्यासहरू आदानप्रदान गर्ने महत्त्वमा जोड दिए। ग्रेनाडासँग कूटनीतिक सम्बन्ध स्थापना भएसँगै नेपालको कूटनीतिक पहुँच १८६ मुलुकमा विस्तार भएको संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगले जनाएको छ ।
साँझ खनालले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी सदस्य राष्ट्रका प्रतिनिधिमण्डलका प्रमुखहरूको सम्मानमा अमेरिकी राष्ट्रपति डोनाल्ड जे. ट्रम्पले आयोजना गरेको स्वागत समारोहमा सहभागिता जनाए ।
साधारण बहस ’रि–स्टोरिङ ट्रस्ट, म्यानेजिङ ट्रान्सफर्मेसन ः अ युनाइटेड नेसन्स द्याट डेलिभर्स फर अल’ (विश्वास पुनस्र्थापना, रूपान्तरणको व्यवस्थापन ः सबैका लागि परिणाम दिने संयुक्त राष्ट्रसंघ) भन्ने मूल विषयमा आयोजना गरिएको थियो ।
साधारण बहसको उद्घाटन महासभाका अध्यक्ष डा. खलिलुर रहमानले गरेका थिए । त्यसपछि संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले सम्बोधन गरेका थिए भने संयुक्त राष्ट्रसंघका सदस्य राष्ट्रका प्रतिनिधिमण्डलका प्रमुखहरूले पनि सम्बोधन गरेका थिए ।
नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरिरहेका प्रधानमन्त्री बालेन्द्र शाहले सेप्टेम्बर २४ मा महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ । यसअघि मंगलबार दिउँसो खनालले भारत सरकारद्वारा आयोजित ’उज्ज्वल भविष्यतर्फ सँगसँगै अघि बढ्दै ः सशक्त ग्लोबल साउथका लागि बलियो आधार’ विषयक ’समान विचारधारा भएका ग्लोबल साउथका देशहरू र मित्रराष्ट्रहरू’ को उच्चस्तरीय मन्त्रीस्तरीय बैठकलाई सम्बोधन गरेका थिए ।
खनालले साझा विश्वव्यापी चुनौती सम्बोधन गर्न तथा साझा प्राथमिकतालाई अघि बढाउन ग्लोबल साउथका मुलुकबीच ऐक्यबद्धता, सहकार्य र सामूहिक कार्यको महत्त्वमा जोड दिए । उनले ग्लोबल साउथको रूपान्तरणकारी सम्भावनालाई पनि रेखांकित गर्दै सामूहिक संकल्प, बलियो दक्षिण–दक्षिण सहकार्य तथा अझ न्यायपूर्ण र प्रतिनिधिमूलक विश्वव्यापी शासन संरचनाका लागि आह्वान गरे ।
यसैबीच, परराष्ट्र सचिव अमृतबहादुर राईले ’सन् २०३० भन्दा पछिसम्म ः गरिबीका सबै आयाम अन्त्य गर्ने विश्वव्यापी प्रतिबद्धताको नवीकरण’ विषयक उच्चस्तरीय छलफललाई सम्बोधन गरे । राईले जलवायु–उत्थानशील विकास, जलवायु न्याय, वित्तीय तथा प्रविधिगत अन्तर कम गर्ने र सन् २०३० एजेन्डा तथा प्याक्ट फर फ्युचरलगायत विश्वव्यापी विकास प्रतिबद्धतामा ठोस परिणाम हासिल गर्न आह्वान गरे ।
उनले भूपरिवेष्टित विकासशील देशहरूका लागि अन्तर्राष्ट्रिय थिंक ट्यांकका कार्यकारी निर्देशक दुल्गुन डाम्डिन–ओडसँग पनि भेटवार्ता गरे । उनीहरूले भूपरिवेष्ठित विकासशील मुलुकका साझा हित अघि बढाउन उक्त संस्थाले गरिरहेको कामबारे छलफल गरे ।
छलफलमा कनेक्टिभिटी तथा उड्डयन, जलवायु परिवर्तन, महत्त्वपूर्ण खनिज, युवा सहभागिता तथा ’आज्वा प्रोग्राम अफ एक्सन’को प्रभावकारी कार्यान्वयनलगायत विषय समेटिएका थिए ।





