८ आसोज , काठमाण्डौ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग शान्ति सम्झौता गर्ने वा पुनः सैन्य आक्रमण गर्ने भन्ने विषयमा आफू ‘ठूलो निर्णयाक’ मोडमा पुगेको बताएका छन् । न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै उनले द्वन्द्वको समाधान नभए इरानलाई ‘सखाप’ गर्न सक्ने चेतावनी दिए ।
महासभामा इरानी प्रतिनिधिमण्डलका एक सदस्य सहभागी भइरहेका बेला ट्रम्पले आफ्नो सम्बोधनका क्रममा शक्ति प्रदर्शनको भाषा प्रयोग गरेका थिए । खचाखच भरिएको सभाहलमा उनले वैश्विक सरकारको अवधारणालाई अस्वीकार गर्दै रुस–युक्रेन युद्धको अन्त्य गराउने र एआईको दौडमा अमेरिकालाई जिताउने प्रतिबद्धता व्यक्त गरे ।

सम्बोधनको सुरुवातमा ट्रम्पले अमेरिकी अर्थतन्त्र, सीमा सुरक्षा र अपराध नियन्त्रणमा आफ्ना उपलब्धिहरूको प्रशंसा गरेका थिए, जुन कूटनीतिज्ञभन्दा पनि आउँदो नोभेम्बरमा हुने अमेरिकी मध्यवधि चुनावका मतदाताहरूप्रति बढी लक्षित देखिन्थ्यो ।
आफ्नो मन्तव्यको ठूलो हिस्सा उनले इरानविरुद्धको युद्धको औचित्य पुष्टि गर्नमा खर्चिए । फेब्रुअरीमा अमेरिका र इजरायलले सैन्य कारबाही सुरु गरेयता विश्वबजारमा कच्चा तेलको मूल्य बढेको छ भने ट्रम्पको लोकप्रियतामा गिरावट आएको छ ।

“के इरानसँग यस्तो सम्झौता होला जसले उसलाई फेरि पहिलेभन्दा ठूलो देश बन्न देओस् ? वा म इरानलाई चाँडै सखाप पारिदिऊँ ताकि उसले अरू देशलाई कहिल्यै ध्वस्त पार्ने मौका नपाओस ?” ट्रम्पले प्रश्न गरे, “के म उनीहरूलाई नर्कमा पु¥याइदिऊँ?”
यस्तै ट्रम्पले नोभेम्बरको चुनावलगत्तै इरानसँग सम्झौता हुन सक्ने विश्वास पनि व्यक्त गरे । कूटनीतिक भाषामा यसलाई अत्यधिक बल प्रयोगको धम्की दिएर वार्तातर्फ ल्याउने रणनीति मानिन्छ । यसै क्रममा राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले भने विश्वव्यापी विभक्तिको दायरा गहिरिँदै गएकोमा चिन्ता व्यक्त गर्दै राष्ट्रसंघको भूमिका र अन्तरनिर्भरताको महत्त्वमा जोड दिएका थिए ।
ट्रम्पले भने राष्ट्रसंघको आलोचना गर्दै ‘जनताबाट निर्वाचित नभएका कर्मचारीहरूको एजेन्डा’ भन्दै आलोचना गरे । यता राष्ट्रसंघको महासभाका क्रममा इरानी विदेशमन्त्री अब्बास अराघ्ची र अमेरिकी विशेष दूत स्टिभ विटकफबिच भेटवार्ता भएको इरानी सरकारी सञ्चारमाध्यमले पुष्टि गरेका छन् ।
मंगलबार अमेरिकी वार्ता टोलीमा रहेका विशेष दूत विटकफ र इरानी विदेशमन्त्रीबिच साइडलाइन वार्ता भएको हो । इरानी सरकारी प्रसारक ‘इस्लामिक रिपब्लिक अफ इरान ब्रोडकास्टिङ’ (आईआरआईबी) का अनुसार उक्त बैठक विशेष दूत विटकफको अनुरोधमा आयोजना गरिएको थियो ।
आईआरआईबीका अनुसार स्ट्रेट अफ हर्मुज पुनः खुला गर्नका लागि इरानका सर्तहरू पुनः स्पष्ट पार्न विदेशमन्त्री अराघचीले विटकफको भेटवार्ताको अनुरोध स्वीकार गरेका थिए । इरानले अघि सारेका सर्तहरूमा नौसैनिक नाकाबन्दीको तत्काल अन्त्य, रोक्का गरिएका सम्पूर्ण इरानी सम्पत्ति तत्काल फुकुवा तथा लेबनानसहित सबै मोर्चामा भइरहेको युद्धको अन्त्य हुनुपर्ने विषयहरू समेटिएका छन् ।
यसबीच महासभामा सहभागी हुन इरानी राष्ट्रपति मसुद पेजेस्कियान पनि न्युयोर्क प्रस्थान गरिरहँदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग उनको सम्भावित भेटवार्ताबारे चासो र चर्चा सुरु भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका अनुसार इरानी र अमेरिकी नेताहरूबिच करिब तीन घण्टा लामो छलफल भएको छ ।
यद्यपि, उक्त छलफलमा कुन–कुन इरानी अधिकारीहरू सहभागी थिए भन्ने विषय अझै स्पष्ट हुन सकेको छैन । राष्ट्रपति ट्रम्पले आफू पेजेस्कियानसँग भेटवार्ता गर्न ‘सम्भवतः तयार (खुला)’ रहेको प्रतिक्रिया दिएका छन् । तर, दुवै पक्षबाट हालसम्म यस भेटको औपचारिक पुष्टि भने गरिएको छै ।
यदि यस्तो भेटवार्ता भएमा इरानभित्र केही पक्षबाट यसको कडा विरोध हुन सक्ने ठानिएको छ । न्युयोर्क प्रस्थान गर्नुअघि तेहरानस्थित मेहराबाद विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै राष्ट्रपति पेजेस्कियानले संयुक्त राष्ट्रसंघको महासभा इरानको अडानलाई ‘दृढतापूर्वक प्रस्तुत तथा रक्षा’ गर्ने उपयुक्त अवसर भएको बताएका छन् ।
इरानी सञ्चारमाध्यमहरूका अनुसार उनले राष्ट्रसंघीय महासभालाई सम्बोधन गर्ने छन । यसअघि उनले जुन महिनामा भएको १२ दिने इरान–इजरायल युद्धपछि संयुक्त राष्ट्रसंघलाई सम्बोधन गरेका थिए । राष्ट्रपति पेजेस्कियानको यो अमेरिका भ्रमणलाई इरानभित्र कतिपयले स्वागत गरेका छन् भने अमेरिका र इरानबिच हुने कुनै पनि सम्झौताको विपक्षमा रहँदै आएका इरानका कट्टरपन्थीहरूले भने यसप्रति असन्तुष्टि र विरोध जनाइसकेका छन् ।
यसबीच इरानी उड्डयन क्षेत्रमा अमेरिकी प्रतिबन्ध कडा पारिनुअघि इरानको राष्ट्रिय वायुसेवा कम्पनी ‘इरान एयर’ले छिमेकी मुलुकतर्फका आफ्ना उडानमा कुनै प्रतिबन्धबारे आधिकारिक जानकारी नपाएको जनाएको छ ।
सरकारी समाचार संस्था ‘इर्ना’ मार्फत जारी विज्ञप्तिमा ‘इरान एयर’ले टर्की, अजरबैजान र इराकका नागरिक उड्डयन अधिकारीबाट इस्तानबुल, बाकु र नजफतर्फका उडान रोक्न वा स्थगन गर्न कुनै सूचना वा निर्देशन प्राप्त नभएको जनाएको हो ।
अमेरिकाले यसै महिनाको सुरुमा इरानी उड्डयन क्षेत्रलाई कालोसूचीमा राख्दै इरानी वायुसेवा कम्पनीसँग कारोबार गर्ने संस्थामाथि पनि प्रतिबन्ध लगाउने चेतावनी दिएको थियो । अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले सोमबार अमेरिकी प्रतिबन्धका कारण बुधबारदेखि इरानी वायुसेवा कम्पनीलाई सञ्चालनमा कठिनाइ हुने बताएका थिए ।
उनले सीएनबीसीसँगको अन्तर्वार्तामा विश्वभरका इरानी वायुसेवा कम्पनी प्रभावित हुने दाबी गरेका थिए । इरानी उड्डयन क्षेत्र यसअघि नै विभिन्न अमेरिकी प्रतिबन्धको सामना गर्दै आएकाले नयाँ प्रतिबन्धपछि तत्काल व्यवहारमा कस्तो प्रभाव पर्नेछ भन्ने स्पष्ट छैन ।
इरानमा २७ वटा वायुसेवा कम्पनी सञ्चालनमा रहेकामा अधिकांशले आन्तरिक उडान गर्दै आएका छन्। ‘इरान एयर’ र निजी वायुसेवा कम्पनी ‘महान एयर’ अन्तरराष्ट्रिय उडान गर्ने प्रमुख दुई कम्पनी हुन् । उनीहरूले मुख्यतः छिमेकी मुलुकका साथै रुस र चीनतर्फ पनि उडान सञ्चालन गर्छन् ।
सोमबार जर्जियाले इरानी वायुसेवा कम्पनीलाई आफ्नो क्षेत्रमा उडान गर्न रोक लगाएको थियो। यसैगरी ‘महान एयर’ले टर्की सरकारको अनुरोधमा टर्कीतर्फका उडान स्थगन गरेको जनाएको छ । इराकका दुई स्रोतले एएफपीलाई बताएअनुसार अमेरिकी अर्थ मन्त्रालयको घोषणापछि बगदादले पनि इरानी वायुसेवा कम्पनीका उडान स्थगन गर्ने तयारी गरेको छ ।
नयाँ प्रतिबन्धले इरानी नागरिकका लागि विदेश यात्रा तथा स्वदेश फर्कने प्रक्रिया थप जटिल हुने देखिएको छ । फेब्रुअरीको अन्त्यमा इरानमाथि इजरायल र अमेरिकाले गरेको आक्रमणपछि इरानको हवाई क्षेत्र पूर्ण रूपमा बन्द गरिएको थियो।
त्यसयता हवाई सेवा आंशिक रूपमा पुनः सञ्चालन भए पनि इरानबाट यात्रुलाई विदेश लैजाने मुख्य जिम्मेवारी इरानी वायुसेवा कम्पनीले नै सम्हाल्दै आएका छन् ।





