आजैदेखि हुनेछ भारी वर्षा,१५ जिल्लामा रेड अलर्ट

७ असोज ८३, बुधबार
Share this
753shares

८ आसोज , काठमाण्डौ ।

Advertisement

नेपाल मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले हाल बंगालको खाडीमा रहेको न्यूनचापीय क्षेत्र’ (लो प्रेसर एरिया) थप शक्तिशाली बन्दै ‘डिप डिप्रेसन’ (बलियो न्यूनचापीय क्षेत्र) भई पश्चिम–उत्तरपश्चिम दिशातिर सर्ने र यसको प्रभावले आजैदेखि नेपालमा वर्षा बढ्दै जाने देखिएकाले सतर्कता अपनाउन सुझाव दिएको छ।

हाल देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै, बङ्गालको खाडीको पश्चिम–मध्य भू–भाग आसपास न्यून चापीय क्षेत्र रहेको छ । उक्त प्रणाली आगामी दिनमा थप शक्तिशाली बन्दै बलियो न्यून चापीय क्षेत्रका रूपमा पश्चिम–उत्तरपश्चिम दिशातर्फ सर्ने देखिन्छ ।

Advertisement

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल बागमती प्रदेशका साथै देशका हिमाली र पहाडी भू–भागमा साधारणतया बदली (बादल) रहेको छ भने तराई भू–भागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहेको छ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मध्यम वर्षा भइरहेको छ । दिउँसो आज देशभर साधारणतया बदली रहनेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू–भागका केही स्थानमा र कर्णाली तथा सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षा÷हिमपातको सम्भावना छ।

Advertisement

मधेश प्रदेशका साथै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू–भागका केही स्थानमा र सुदूरपश्चिम प्रदेशको तराई भू–भागका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। कोशी र बागमती प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

यस्तै राति देशभर साधारणतया बदली रहनेछ। कोशी प्रदेशका धेरै स्थानमा, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यम वर्षा÷हिमपातको सम्भावना छ ।

मधेश प्रदेशका साथै बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू–भागका केही स्थानमा र सुदूरपश्चिम प्रदेशको तराई भू–भागका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। कोशी प्रदेशका थोरै स्थानमा, बागमती प्रदेशका पहाडी तथा तराई भू–भाग एवं गण्डकी र लुम्बिनी प्रदेशका तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

साथै कोशी प्रदेशका पहाडी तथा तराई भू–भागका एक–दुई स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना रहेको छ । कोशी र बागमती प्रदेशका पहाडी भू–भाग तथा तराई क्षेत्रका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले ती क्षेत्रहरूमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न महाशाखाले आग्रह गरेको छ ।

मौसम महाशाखाले मंगलबारसाँझ दोस्रो विशेष मौसम बुलेटिन जारी गरी त्यस प्रणालीका कारण बुधबारदेखि कोसी, बागमती र गण्डकी प्रदेशमा वर्षा बढ्दै जाने देखिएको जानकारी दिएको हो। त्यस न्यूनचापीय क्षेत्र अझ सशक्त बन्दै जाँदा असोज ९ गते शुक्रबारदेखि असोज ११ गते आइतबारसम्म गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन÷चट्याङ÷हुरीसहित भारीदेखि धेरै भारी वर्षा तथा एक–दुई स्थानमा अति भारी वर्षाको समेत सम्भावना देखिएको मौसम महाशाखाले जनाएको छ।

साथै मधेस प्रदेश तथा कोसी, बागमती र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा पनि मेघगर्जन÷चट्याङ÷हुरीसहित भारीदेखि धेरै भारी वर्षा तथा कर्णाली प्रदेशका थोरै स्थानमा भारी वर्षाको समेत सम्भावना छ।

मौसम महाशाखाले अगाडि भनेको छ, ‘तसर्थ सम्भावित वर्षाका कारण भूक्षय, बाढी, पहिरो तथा गेग्रान बहाबको जोखिम रहेकाले सहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम, ठुला तथा साना नदीनाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने, दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटनलगायत नदी क्षेत्र आसपासका निर्माण, सडक तथा हवाई यातायातसमेत प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता तथा पूर्वतयारी अपनाउन हुन सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा अनुरोध छ। हाल केही स्थानबाट धानबाली भित्र्याउन मौसमसम्बन्धी जानकारी माग भएकाले सम्बन्धित कृषि विज्ञको सल्लाहमा कार्य गर्न हुन अनुरोध गरिन्छ। साथै उक्त मौसम प्रणालीको प्रभाव देशको हिमाली भूभागमा भारीसम्म हिमपात हुन सक्ने भएकाले पर्वतारोही तथा सम्बन्धित सबैले उच्च सतर्कता अपनाउन अनुरोध गरिन्छ।’

उता ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले असोज ९ देखि ११ गते पूर्वानुमान गरिएको अति भारी वर्षाबाट उत्पन्न हुनसक्ने विपद्को पूर्वतयारी र पूर्वसूचनामा जुट्न निर्देशन दिएका छन् । पछिल्लो मौसम प्रणाली र सम्भावित जोखिमको अवस्थाबारे जानकारी लिन मंगलबार गृहमन्त्री सुधन गुरुङसहित जल तथा मौसम विज्ञान विभाग पुगेका मन्त्री श्रेष्ठले पूर्वतयारी र पूर्वसूचनामा एकीकृत रुपमा परिचालित हुन निर्देशन दिएका हुन् ।

‘पूर्वतयारी र पूर्वसूचनामा एकीकृत भएर उच्च समन्वयमा काम गर्नुस्’, उनले मौसम विभागका अधिकारीलाई निर्देशन दिए । मन्त्री श्रेष्ठले गृहमन्त्री मातहतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको नेतृत्वमा एकीकृत समन्वय भई पूर्वतयारी र पूर्वसूचनामा विशेष ध्यान दिनुपर्ने बताए ।

‘प्रभावित क्षेत्रमा अहिले नै सूचना सर्कुलेट गर्नुस् । तपाईहरु एकदम अलर्ट भएर वेल कोर्डिनेट भएर लाग्नुस्,’ उनले भने । कुन क्षेत्र कसरी प्रभावित हुन्छ भन्ने समन्वय गरेर विपद् प्राधिकरणमार्फत पूर्वतयारी जुट्नुपर्ने उनको भनाइ थियो । मन्त्री श्रेष्ठले यसपटक सरकारले पूर्वतयारी र पूर्वसूचना प्रणालीलाई विशेष जोड दिएको बताए ।

मन्त्री श्रेष्ठले कृषि, पर्यटन, यातायातलगायत सबै क्षेत्रलाई सतर्कता अपनाउन सरकारको तर्फबाट आह्वान गरे । ‘सरकारको तर्फबाट अनुरोध गर्छु कि यात्रा गर्दा सुसूचित भएर गर्नुस् । चाँडबाँडको बेला छ । कही पनि यात्रा गर्नुअघि जानकारी लिएर गर्नुस्,’ उनले भने ।

मन्त्री श्रेष्ठ सम्भावित क्षेत्रमा पूर्वतयारीका लागि उद्धारकर्मी र सुरक्षाकर्मी तयारी अवस्थामा रहेको बताए । रसुवाको भोटेकोशी बाढीबाट सिकेर यसपालि पूर्वतयारीलाई विशेष ख्याल गरिएको बताए ।

‘मलाई अलिकति चिन्ता के छ भने जुन अस्ति ऊर्जाको हाइड्रोमा जुन खालको क्षति त्यहाँ व्यहोर्यौ, यो पालि त्यस्तो खालको हुन्छ कि ? तर राम्रो के भएको छ भन्दा यही जल तथा मौसम विज्ञान विभागमा निजी क्षेत्रका र विद्युत प्राधिकरणका मान्छेलाई पनि सूचना प्रवाह गर्ने प्रणाली छ,’ उनले भने ।

विपद प्राधिकरणसँग तीनै तहको सरकारको बलियो समन्वय हुनुपर्ने उनको भनाइ थियो । ‘विपद् प्राधिकरणले जिल्ला विपद् र स्थानीय तहसँग कोर्डिनेट गर्यो भने अझै राम्रो हुन्छ । कोर्डिनेसनहरु बेटर हुन्छ । प्रदेश सरकारसँग पनि गर्नुपर्छ,’ उनले भने, ‘सूचनाहरुलाई राम्रोसँग फ्लो गरिदिनुस् ।’

मन्त्री श्रेष्ठले भोटेकोशी बाढीबाट पाठ सिकेर ९ देखि ११ सम्मको अवधिमा सुसूचित भइदिन र आफ्ना प्रियजनलाई सतर्क गरिदिन तथा विपद् प्राधिकरणबाट जारी हुने सर्कुलेसन पालना गर्न अपिलसमेत गरे ।
यस्तै गृहमन्त्री गुरुङले सरकार आवश्यक पूर्वतयारीमा जुटिसकेको पनि बताए ।

‘नदी तटीय क्षेत्रमा टिम मोबिलाइजेसनदेखि नागरिकलाई अलर्ट गराउने हिसाबले हामी प्लानिङमा छौँ,’ उनले भने, ‘अवस्था के छ र के तयारी गर्नुपर्छ भन्ने सिलसिलामा हामीले ब्रिफिङ लिएका छौँ ।’ तयारीका लागि दुई दिन बाँकी रहेको र सबै अलर्ट हुनुपर्ने उनको भनाइ थियो ।

मन्त्री गुरुङले सुरक्षा निकायलाई अलर्ट गरिएको, उद्धार सामग्री तयारी अवस्थामा राखिएको, स्थानीय सरकारमार्फत पूर्वसूचना प्रणालीलाई प्रवाह गरिएको बताए । उनले अब ट्रेकिङमा नजान र गएकाहरुलाई सुरक्षित ठाउँमा जान अनुरोध पनि गरे ।

मन्त्री गुरुङले विपद् कमाण्ड पोस्टमा सबै निकायको प्रतिनिधि रहेको भन्दै त्यहीबाट समन्वय गर्न निर्देशन दिए । विभागका महानिर्देशक डा. अर्चना श्रेष्ठलगायतले मन्त्रीद्वय श्रेष्ठ र गुरुङलाई सम्भावित विपद्को जोखिमबारे ब्रिफिङ गरेका थिए ।

पश्चिमी न्यून चापीय प्रणालीले पश्चिमी नेपालको गण्डकी, लुम्बिनी प्रदेश र सुदूरपश्चिमको तराई भूभागमा भारीदेखि धेरै भारी वर्षा हुने प्रक्षेपण उनीहरुले सुनाएका थिए । जोखिमयुक्त स्थानमा उच्च सतर्कता अपनाउनुपर्ने अवस्था रहेको उनीहरुले उल्लेख गरेका थिए ।

मौसम विभागले असोज ९ देखि ११ गतेसम्मलाई १५ जिल्लामा रेड अलर्ट जारी गरेको छ। जसमा १४ हिमाली जिल्ला; दार्चुला, बझाङ, हुम्ला, मुगु, डोल्पा, मुस्ताङ, मनाङ, गोरखा, रसुवा, सिन्धुपाल्चोक, दोलखा, सोलुखुम्बु, संखुवासभा, ताप्लेजुङ छन्।

त्यस्तै बाजुरामा पनि रेड अलर्ट जारी गरिएको छ। सोमबार विशेष बुलेटिन निकाल्दै ४० भन्दा बढी जिल्लामा सतर्कता अपनाउनुपर्ने स्थिति दर्शाएको थियो। आज मौसम पूर्वानुमानले थप स्थिति विश्लेषण गरी विशेष सतर्कता अपनाउनुपर्ने भन्दै रेड अलर्ट जारी गरेको हो।

आगामी असोज ९ गते शुक्रबारदेखि असोज ११ गते आइतबारसम्म गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन÷चट्याङ÷ हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षा तथा एक–दुई स्थानमा अति भारी वर्षाको समेत सम्भावना छ।

साथै मधेश प्रदेश तथा कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा पनि मेघगर्जन÷ चट्याङ÷ हावाहुरी सहित भारी देखि धेरै भारी वर्षाको तथा कर्णाली प्रदेशको पनि थोरै स्थानमा भारी वर्षाको समेत सम्भावना छ,’ मौसम पूर्वानुमान महाशाखाले भनेको छ। महाशाखाका अनुसार देशका अधिकांश स्थानमा मेघगर्जन÷ चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ।

उत्तर अन्डमान सागर र आसपासको क्षेत्रमा विकसित न्यूनचापीय क्षेत्र हाल बंगाल खाडीको मध्य भू–भाग आसपासमा रहेको महाशाखाले बताएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top