७ असोज , काठमाण्डौ ।
बंगालको खाडीमा रहेको न्यूनचापीय क्षेत्र हाल गहिरो न्यूनचापीय क्षेत्र (डिप डिप्रेसन) का रूपमा परिणत भएको र आगामी दिनमा थप शक्तिशाली बन्दै पश्चिम–उत्तरपश्चिम दिशातिर सर्ने देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
जसको प्रभाव आजदेखि नै नेपालमा आंशिक रूपमा परेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् डेभिड ढकालले जानकारी दिए । आज बिहानैदेखि काठमाडौँ उपत्यकामा भइरहेको मौसम बदली र वर्षामा पनि मनसुनसँगै बंगाल प्रणालीको प्रभाव पनि मिसिएको उनको भनाइ छ ।

मौसमविद् ढकालका अनुसार आज काठमाडौँ उपत्यकामा मध्यम वर्षा हुने सम्भावना देखिएको छ। ‘तर एक–दुई स्थानमा भारी वर्षा पनि हुने आकलन छ’, उनले भनेका छन् । मौसमविद् ढकालका अनुसार हाल बंगाल प्रणालीको आंशिक रूपमा नेपालका केही स्थानमा मात्र सुरु भएको हो ।
‘हाल उक्त प्रणालीको आंशिक प्रभाव कोसी, बागमती र गण्डकी प्रदेशको पूर्वी क्षेत्रमा मात्र परेको छ’, उनले भने, ‘यसको प्रभाव भोलि, पर्सि क्रमश बढ्दै जानेछ।’ उनका अनुसार मौसम महाशाखाले मंगलबार जारी गरेको विशेष बुलेटिनबमोजिम नै यस प्रणालीको ठुलो प्रभाव शुक्रबादेखि आइतबारसम्म पर्नेछ र यस अवधिमा देशका अधिकांश स्थानमा मध्यम र केही स्थानमा भारी, धेरै भारी र अति भारीसम्म वर्षा हुने सम्भावना छ ।

यसबीच कोशी, बागमती र गण्डकीमा आजदेखि नै पानी पर्नेक्रम शुरु भएको हो । देशका पूर्वी र मध्य क्षेत्रमा वर्षाको गतिविधि शुरु भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसमविद् ढकालका अनुसार अहिले काठमाण्डौ उपत्यकासहित चितवन, रसुवा, मकवानपुर, गोरखा, सिन्धुपाल्चोकलगायतका जिल्लामा हल्का वर्षा भैरहेको छ ।
मनसुनी वायुको प्रभाव कायमै रहेको तथा बङ्गालको खाडीमा विकसित प्रणालीको प्रभाव पनि देखिन थालेकाले वर्षाको गतिविधि थप बढ्न सक्ने उनको भनाइ छ । तर अहिले वर्षा भैरहेका क्षेत्रमा लगातार पानी पर्ने छैन ।
भोलि बेलुकासम्म पानी पर्ने र रोकिने क्रम हुनेछ । त्यसपछि गतिविधि बिस्तारै बढ्दै जाने र पर्सि शुक्रबारदेखि आइतबार ११ गतेसम्म देशका धेरै ठाउँमा मुसलधारे तथा आरीघोप्टे वर्षा हुनेछ । उत्तर अण्डमान सागर र आसपासको क्षेत्रमा विकसित न्यून चापीय क्षेत्र अहिले बङ्गालको खाडीको मध्य भाग आसपास रहेको छ ।
यो प्रणाली थप शक्तिशाली बन्दै बलियो न्यून चापीय क्षेत्र बनेपछि पश्चिम–उत्तरपश्चिम दिशातर्फ सर्ने देखिन्छ । मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिनमार्फत् देशका धेरै ठाउँमा ठूलो वर्षा हुने भन्दै सचेत रहन आग्रह गरेको छ । विशेषगरी गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा ठूलोदेखि एक÷दुई ठाउँमा धेरै ठूलोसम्म वर्षा हुनेछ ।
त्यस्तै मधेश, कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा पनि मेघगर्जन, चट्याङ र हावाहुरीसहित धेरै ठूलो पानी पर्न सक्छ । हिमाली क्षेत्रमा ठूलो हिमपात हुनसक्ने भएकाले पर्वतारोही तथा सम्बन्धित सबैलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।
मौसमविद् विनोद पोखरेलकाअनुसार पूर्वका कोशी र बागमतीमा आज बेलुकादेखि १० गते शनिबारसम्म, मधेश प्रदेशमा भोलि बिहीबार र शुक्रबार, गण्डकी र लुम्बिनीमा पनि पर्सिदेखि ११ गतेसम्म अनि कर्णाली र सुदूरपश्चिममा शुक्रबारदेखि ११ गते आइतबारसम्म पानी पर्ने देखिन्छ ।
बाढी÷पहिरोका सम्भावित जोखिमयुक्त बस्तीमा पूर्वसूचनालाई सक्रिय पार्ने, सम्भावित डुबान क्षेत्र पहिचान गर्ने, उद्धार तथा राहत सामग्री तयारी अवस्थामा राख्ने र नागरिकलाई समयमै सूचना तथा सतर्कता प्रदान गर्ने काम पालिकाले तत्काल थाल्नुपर्ने विज्ञले बताएका छन् ।
सकेसम्म रातको समयमा यात्रा नगर्न, धानबालीमा पानीको निकास व्यवस्था गर्न पनि आग्रह छ । यसबीच बाढी पूर्वानुमान महाशाखाले आगामी पाँच दिन देशका प्रमुख नदीहरूमा पानीको बहाव उल्लेख्य रूपमा बढ्ने पूर्वानुमान गरेको छ ।
हाल प्रमुख नदीहरूको बहाव सतर्कता तहभन्दा तल रहे पनि आगामी दिनमा वर्षाका कारण नदीहरूमा जलसतह बढ्ने र आकस्मिक बाढीको जोखिम रहने महाशाखाले जनाएको हो । महाशाखाले आज बिहान जारी गरेको विशेष बाढी पूर्वानुमान बुलेटिनअनुसार हाल कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरूमा बहाव सतर्कता तहभन्दा उल्लेख्य तल रहेको छ।
कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीको अवस्था पनि सामान्य नै छ । आज यी सबै नदीहरूमा पानीको बहाव सामान्य मात्र बढ्नेछ। तर भोलि असोज ८ गतेदेखि कोशी, कन्काई र कमला नदीमा जलसतह उल्लेख्य रूपमा बढ्नेछ।
यसैगरी असोज ९, १० र ११ गते देशभरका प्रायः सबै प्रमुख नदीहरूमा पानीको बहाव उल्लेख्य रूपमा बढ्ने बुलेटिनमा उल्लेख छ। ठुला नदीमा तत्काल ठुलो जोखिम नरहे पनि आज देशका विभिन्न ३१ जिल्ला भई बग्ने स–साना नदीहरूमा भने आकस्मिक बाढीको मध्यम जोखिम रहेको छ।
कोशी प्रदेशका ताप्लेजुङ, पाँचथर, इलाम, झापा, सुनसरी, मोरङ, तेह्रथुम, सङ्खुवासभा, सोलुखुम्बु, धनकुटा, भोजपुर र खोटाङमा जोखिम रहेको छ। बागमती प्रदेशका दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौँ उपत्यका, मकवानपुर, रसुवा, नुवाकोट, धादिङ र चितवनका स–साना नदीमा जलसतह बढ्नेछ।
त्यस्तै गण्डकी प्रदेशका गोरखा, तनहुँ, कास्की, लमजुङ र नवलपरासी पूर्व तथा कोशी प्रदेशको उदयपुर आसपासका जिल्ला भई बहने स–साना नदीहरूको बहाव उल्लेख्य बढ्नेछ। स–साना नदीहरूमा आउन सक्ने बाढीबारे जानकारी दिँदै महाशाखाले आफ्नो बुलेटिनमा भनेको छ, ‘आज मध्य र पूर्वी नेपालका विभिन्न जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना छ।’
महाशाखाका अनुसार भोलि असोज ८ गते कोशी, बागमती, लुम्बिनी, गण्डकी र कर्णाली प्रदेश भई बग्ने केही स–साना नदीहरूमा बहाव आकस्मिक रूपमा बढ्न सक्नेछ। पर्सि असोज ९ गते भने देशका सातै प्रदेश भई बहने केही स–साना नदीहरूमा बहाव आकस्मिक बढ्न सक्ने पूर्वानुमान गरिएको छ।
नदी तटीय क्षेत्रमा बसोबास गर्नेहरूलाई मौसम र बाढीको अवस्था हेरी सुरक्षित रहन सुझाव दिइएको छ । महाशाखाका अनुसार, बुधबार दिउँसो कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
आज राति कोसी प्रदेशको हिमाली, पहाडी र तराई भू–भाग, वाग्मती प्रदेशको पहाडी र तराई भू–भाग तथा गण्डकी र लुम्बिनी प्रदेशको तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । बिहीबार दिउँसो कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशका थोरै तथा लुम्बिनी प्रदेशको एक–दुई स्थानमा भारी वर्षा हुन सक्नेछ ।
कोसी र वाग्मती प्रदेशका पहाडी भू–भाग एक–दुई स्थानमा धेरै भारी वर्षासमेत हुन सक्ने महाशाखाले जनाएको छ । बिहीबार राति कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने महाशाखाको पूर्वानुमान छ ।
महाशाखाका अनुसार, शुक्रबार दिउँसो कोसी, मधेस, वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ । लुम्बिनी र गण्डकी प्रदेशको एक÷दुई स्थानमा अति भारी वर्षाको सम्भावना छ । शुक्रबार राति देशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ ।
लुम्बिनी र गण्डकी प्रदेशको एक–दुई स्थानमा अति भारी वर्षा हुन सक्ने महाशाखाको पूर्वानुमान छ । यसबीच नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)को राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रले ठूलो वर्षा हुन सक्ने अवस्थालाई ख्याल गरी किसानलाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ ।
केन्द्रले कृषि मौसम सल्लाह बुलेटिनमार्फत् पर्सि शुक्रबारदेखि शुरु हुने ठूलो वर्षा र बाढीका बेला आफ्नो सुरक्षालाई पहिलो प्राथमिकतामा राख्न अनि कृषिबालीलाई जोगाउन आवश्यक पूर्वतयारी गर्न सल्लाह दिएको हो । विशेषगरी नदी तथा खोलाछेउका कृषि संरचना र धानबाली जोगाउन भनिएको छ ।
साथै खेतबारीमा जाने बाटो, गल्ली, कुलो तथा अन्य माध्यमबाट भेल पस्न नदिन, धान पाक्न लागेको खेत, तरकारीबारी र फलफूल बगैँचामा पानी निकासको व्यवस्था गर्न सुझाव छ । त्यस्तै, बालीमा अहिले रासायनिक मल, विषादी वा अन्य पोषक तत्व नहाल्न, कम्पोस्ट तथा गोठेमललाई पानीबाट जोगाएर राख्न र हावाहुरीबाट उखु ढल्न नदिन चार–पाँच वटा उखुलाई मुठा बनाएर डोरीले बाँध्न सल्लाह छ
यता नेपाल पर्यटन बोर्डले पदयात्रा, हिमाल आरोहण तथा अन्य पर्यटकीय गतिविधि तत्कालका लागि स्थगित गर्न आग्रह गरेको छ । मौसम पूर्वानुमान महाशाखाको मौसमी चेतावनीपछि बोर्डले विशेषगरी पर्सि शुक्रबारदेखि ११ गते आइतबारसम्म गण्डकी र लुम्बिनी प्रदेशलगायतका क्षेत्रमा पदयात्रा र हिमाल आरोहणसहितका गतिविधि स्थगित गर्न आग्रह गरेको हो ।
नेपाल पर्यटन बोर्डका प्रवक्ता सुनिल शर्माले अहिले पर्यटकीय मौसम भएकाले धेरै क्षेत्रमा भ्रमण तथा आरोहणका कार्यक्रम भइरहेका तर मौसमी सूचनाअनुसार सावधानी अपनाउन आवश्यक रहेको बताएका छन ।
ठूलो वर्षा र हिमपातसँगै बाढीपहिरो तथा उच्च हिमाली क्षेत्रमा जोखिम रहने भएकाले बोर्डले पर्यटक तथा पर्यटन व्यवसायीलाई आधिकारिक सूचना निरन्तर पछ्याउन आग्रह गरेको छ । जोखिमयुक्त मौसमलाई ख्याल गरी सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर मात्र पर्यटकीय गतिविधि गर्नुपर्ने उनको भनाइ छ ।





