एमाले नेता शाही भन्छन्– जनतासँगको सम्बन्ध टुट्नु नै हारको मुख्य कारण

७ असोज ८३, बुधबार
Share this
727shares

काठमाडौं । नेकपा एमालेका नेता मीनबहादुर शाहीले पार्टीको जनतासँगको सम्बन्ध कमजोर हुनु नै पछिल्लो निर्वाचनमा अपेक्षाअनुसारको परिणाम आउन नसक्नुको मुख्य कारण भएको बताएका छन्। एमाले केन्द्रीय कमिटी बैठकमा धारणा राख्दै शाहीले पार्टीभित्रको छलफल र अन्तरसंवाद जनसरोकारका विषयमा कति केन्द्रित छ भन्ने विषय महत्वपूर्ण हुने बताए। जनमत निर्माण नेताहरूबीचको प्रशंसा वा आलोचनाले मात्र नहुने भन्दै उनले सबै नेताको बोली, व्यवहार र कार्यशैलीमा सुधार आवश्यक रहेको बताए।

Advertisement

‘जनमतको निर्माण तपाईं–हाम्राबीच हुने एकआपसको प्रशंसा वा तिखो आलोचनाले मात्र गर्न सकिँदैन,’ शाहीले भने, ‘हामी सबैबाट आम रूपमा प्रस्तुत हुने बोलीवचन, व्यवहार र कार्यशैलीमा सुधार गर्न जरुरी छ।’ उनले गत निर्वाचनमा एमालेले ९० देखि १०० को हाराहारीमा सिट जित्ने अनुमान गरे पनि त्यो वास्तविकताको नजिक पुग्न नसकेको बताए। उक्त अनुमानको स्रोत पार्टी स्वयं रहेको उल्लेख गर्दै शाहीले अध्यक्ष केपी शर्मा ओलीले यस विषयमा मसिनो ढंगले ध्यान दिनुपर्ने बताए।‘हाम्रा अनुमानहरू सत्यताको नजिक पुग्न सकेनन्। त्यसका स्रोत हामी नै थियौँ। यहाँ भनिएजस्तो ग्राउन्डमा छैन,’ उनले भने।

शाहीले जनतासँग सम्बन्ध टुटेको विषय बैठकमा सबैबाट उठेको भन्दै यही नै पार्टीको समस्याको मुख्य चुरो भएको बताए। जनता सार्वभौम भएको उल्लेख गर्दै उनले जनताको इच्छा, आकांक्षा र गतिलाई ध्यान दिनुपर्ने धारणा राखे।उनले अध्यक्ष ओलीले प्रस्तुत गरेको प्रतिवेदन राम्रो रहेको भन्दै त्यसलाई अझ उन्नत बनाउन सकिने बताए। प्रतिवेदनमा उल्लेख गरिएको ‘रियालाइजेसन’ आफूलाई मन परेको भन्दै उनले त्यसलाई प्रयोग र अभ्यासको उच्चतम क्षणका रूपमा व्याख्या गरे।

Advertisement

त्यस्तै, प्रतिवेदनमा उल्लेखित पुनर्गठन, रूपान्तरण, हस्तान्तरण र पुस्तान्तरणका विषयलाई अझ फराकिलो दायरामा राखेर योजनासहित अघि बढाउनुपर्ने उनको सुझाव छ। पार्टीको भावी योजनालाई अझ ‘फरवार्ड लुकिङ’ बनाउनुपर्ने उनले बताए।शाहीले आम निर्वाचनपछि गठन गरिएको कार्यदलको औचित्य, कामको प्रक्रिया र परिणामबारे पनि स्पष्ट जानकारी दिनुपर्ने बताए। कार्यदलले गरेका कामको औपचारिक प्रतिवेदन पढ्न र त्यसबारे छलफल गर्न पाउनुपर्ने उनको भनाइ छ।भूराजनीतिक क्षेत्रमा व्यापक परिवर्तन भइरहेको उल्लेख गर्दै उनले त्यसले एमालेको आन्तरिक जनमत निर्माणमा पार्न सक्ने प्रभावबारे पनि पार्टीले ध्यान दिनुपर्ने बताए। बैठक उद्घाटनका क्रममा पार्टीभित्र नमिलेको मन मिलेको देख्न पाउँदा खुसी लागेको भन्दै शाहीले आगामी दिनमा अझ राम्रोसँग एकता कायम हुने विश्वास व्यक्त गरे।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top