केन्द्रीय कमिटीमा विष्णु रिजालको माग: नेपाली सेनासँग एमालेको सम्बन्ध स्पष्ट पारियोस्

७ असोज ८३, बुधबार
Share this
785shares

काठमाडौं । नेकपा एमालेका केन्द्रीय कमिटी सदस्य विष्णु रिजालले नेपाली सेनासँग पार्टीको सम्बन्धबारे स्पष्ट पार्न माग गरेका छन् । पार्टीको केन्द्रीय कमिटी बैठकमा आज धारणा राख्दै रिजालले नेपाली सेनाप्रति एमालेको दृष्टिकोण स्पष्ट हुनुपर्ने बताएका हुन् ।

Advertisement

रिजालले नेपाली सेनाप्रति एमालेको दृष्टिकोण के हो भन्ने प्रश्न गर्दै पार्टीको मुख्य निशाना सेना नै हो भन्ने आशयमा संसद्मा बारम्बार प्रस्तुत हुँदा थप संशय उत्पन्न भएको बताए । ‘अध्यक्ष कमरेड स्वयंले भन्नुभएको छ– पाँच मिनेट ढिलो भएको भए लागू पदार्थ खुवाएर ल्याएकाहरूले मलाई बालुवाटारमै मार्ने थिए । राधिका शाक्य म्याडमको पनि अस्ति त्यस्तै धारणा सार्वजनिक भएको छ । भदौ २३–२४ मा सेनाको भूमिकाबारे कैयौँ अनुत्तरित प्रश्न छन्,’ रिजालले भने, ‘सेनाले हाम्रो नेतृत्वको सुरक्षा र सहजीकरण गरेको छ । एमालेको आजको मुख्य निशाना नेपाली सेना नै हो जस्तो गरेर संसद्मा बारम्बार प्रस्तुत हुनुले पार्टीको दृष्टिकोण त्यही हो कि भन्ने भ्रम उत्पन्न भएको छ र राज्यको स्थायी संरचनासँग हाम्रो टकराव बढाएको छ । यसबारे पार्टीले स्पष्ट पार्नुपर्छ ।’

रिजालले पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रतिवेदनप्रति समर्थन जनाउँदै उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलको थप व्याख्याबाट पार्टीका मुख्य नेताबीच रहेको अविश्वास हटेको धारणा राखे ।‘अध्यक्ष कमरेडको प्रतिवेदनले आफ्ना कमजोरी केलाएको छ । अध्यक्ष स्वयंले निर्वाचनमा पार्टीको पराजयको नैतिक जिम्मेवारी लिएर अब के गर्नुपर्छ भन्ने मार्गचित्र प्रस्तुत गर्नुभएको छ,’ रिजालले भने, ‘यसमा उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलले गरेको व्याख्याबाट पार्टीका मुख्य नेताबीच खडा भएको अविश्वासको कालो–सेतो सबै खालको बादल बिलाएर गएको छ । म समर्थन गर्दछु ।’

Advertisement

रिजालले वामपन्थी एकताका लागि तत्काल पहल गर्न पनि पार्टीलाई सुझाव दिएका छन् । एमालेको नीति र नेतृत्वमा वामपन्थी एकता भए पुनः कम्युनिस्ट आन्दोलन जागृत हुन सक्ने उनले बताए ।‘समग्र कम्युनिस्ट आन्दोलनको पुनर्गठनका लागि गम्भीरतापूर्वक बहस हुनुपर्छ । आजकै नारा, सिद्धान्त, रणनीति, कार्यनीति, कार्यशैली र सरकारदेखि सरकारसम्मको गोलचक्करप्रति नयाँ पुस्ता कत्ति पनि आकर्षित छैन,’ रिजालले भने, ‘सापेक्षतामा हेरेर हिजो मदन भण्डारीले अनेक आरोप खेपेर चालेजस्तै साहसिक कदम आवश्यक छ । यसले फेरि एक कालखण्डका लागि हामीलाई पुनर्जीवन दिनेछ ।’

पार्टीको प्रचारलाई प्रभावकारी बनाउन भौतिकभन्दा डिजिटल संयन्त्र निर्माण गर्नुपर्नेमा पनि रिजालले जोड दिए । उनले पार्टी केन्द्रमा छुट्टै डिजिटल विभाग बनाएर चौबीसै घण्टा नयाँ माध्यमबाट प्रचार गर्नुपर्ने बताए ।पार्टीमा नयाँ पुस्ताको आकर्षण बढाउनुपर्ने आवश्यकता औँल्याउँदै रिजालले नयाँ पुस्ताको पार्टीप्रतिको घट्दो आकर्षणप्रति चिन्ता व्यक्त गरे । ‘पार्टीको पूर्णकालीन सदस्य हुने कतै मेरो पुस्ता नै अन्तिम हुने त होइन ? यस विषयमा गम्भीर हुन पार्टीका सबै तहलाई आग्रह गर्दछु,’ उनले भने ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top